बुटवल, २१ माघ – प्रदेश नम्बर ५ को पहिलो बैठक प्रदेशको अस्थायी राजधानी बुटवलमा सम्पन्न भएको छ । आइतबार सम्पन्न बैठकले सभामुख÷उपसभामुखको निर्वाचन आउदो फागुन २ गते बुधबार १ बजे गर्ने निर्णय गरेको छ ।
यस अगाडिको कार्यसूचीमा सभामुखको निर्वाचन फागुन २८ गर्ते थियो । बुटवल खयरघारीस्थित बुटवल उद्योग वाणिज्य संघको सभाहलमा बैठक बसको थियो । बैठक १ घण्टा चलेको थियो ।
बैठकले सभामुख नहुँदा संसद सञ्चालनका लागि ५ सदस्यीय समिति समेत गठन गरेको छ । समितिमा एमालेका कमलराज श्रेष्ठ, माओवादी केन्द्रका दधिराम न्यौपाने, कांग्रेसका अष्टभूजा पाठक, संघीय समाजवादी फोरमका सन्तोष पाण्डे र राजमोका तारा जिसी छन् ।
बैठकमा राष्ट्रिय जनता पार्टीबाट प्रतिनिधित्व गर्ने एक जना सांसद विना पन्त उपस्थित भइनन् । उनी विरामी भएको कारण शपथ ग्रहणमा पनि सहभागी भएकी थिइनन् ।
बैठकमा पहिलो एमालेका सांसद शंकर पोखरेल, माओवादी केन्द्रकका कुलप्रसाद केसी, नेपाली कांग्रेसका वीरबहादुर राना, संघीय समाजवादी फोरम नेपालका सहराम यादव र राष्ट्रिय जनमोर्चाकी तारा जिसीले बोलेका थिए ।
उनीहरुले प्रदेश नम्बर पाँचलाई नमूना प्रदेश बनाउने संकल्प गरेका थिए । पर्यटन, कषि, जलस्रोत भरिपूर्ण सिस्नेहिमालदेखि शान्तिका अग्रदुत गौतमबुद्धको जन्मभूमि प्रदेश नम्बर पाँचलाई विकास र समृद्धिमा सबैभन्दा अगाडि बढाउने प्रण गरेका थिए ।