प्रयोगविहीन बने लुम्बिनीका बिजुली बस

मेचीकाली संवाददाता

२७ मंसिर २०७९, मंगलवार
303 shares


बुटवल । लुम्बिनीलाई प्रदूषणरहित बनाउन साढे तीन वर्ष अगाडि ल्याइएका पर्यटकलक्षित विद्युतीय सवारीसाधन प्रयोगविहीन भएका छन् । ९ मंसिर २०७६ मा भित्र्याइएका ५ वटा बस र १४ वटा भ्यान अझै सञ्चालनमा आउन सकेका छैनन् । कार्यविधि र कानुनी जटिलतालाई देखाउँदै करोडौं मूल्यका ‘इलेक्ट्रिक भेइकल’ सञ्चालनबाट लुम्बिनी विकास कोष पन्छिन खोजेको छ । पर्यटन मन्त्रालयले हस्तान्तरण गरेका गाडी विकास कोषले चलाउन नसक्दा जनस्तरमा आक्रोश बढेको छ । विकास कोषले आफैं गाडी चलाउँदा कमिसन नपाइने देखेपछि कर्मचारीहरूले गाडी सञ्चालनमा रुचि देखाएका छैनन् ।

खुला आकाशमुनि राखिएका बस दशैंको मुखमा गृहमन्त्री बालकृष्ण खाँणको ठाडो निर्देशनमा परीक्षणको रूपमा एक महिना चले पनि अहिले थन्किएपछि सञ्चालनमै नआई कबाडमा जाने हुन् कि भन्ने चिन्ता थपिएको हो ।
एसियाली विकास बैंक (एडीबी) को अनुदान सहयोगमा ‘क्लीन इनर्जी प्रोजेक्ट’ अन्तर्गत १३ करोड रूपैयाँको लागतमा गाडी तथा भ्यान भित्रिएका थिए । ३५ करोड अनुदानमा लुम्बिनी ल्याइएका सवारी साधनमा राज्यले साढे ३ करोड रूपैयाँ भन्सार शुल्क व्यहोरेको छ । १४ मध्ये ९ वटा भ्यानमा ब्याट्री र टायरमा समस्या देखिएर सञ्चालनमा आउन नसक्ने अवस्थामा पुगिसकेको छ ।

विकास कोषका कोषाध्यक्ष ढुण्डीराज (सिद्धिचरण) भट्टराईले सेतो नम्बर प्लेटका गाडी हरियो नम्बर प्लेटमा परिवर्तन गर्न कानुनी अल्झनले ती गाडी सञ्चालनमा समस्यामा देखिएको बताए । ‘भाडासहित सञ्चालनमा ल्याउनका लागि हरियो प्लेट चाहिने भयो । विकास कोषको नाममा गाडी सेतो प्लेटमा आए । सेतोलाई सधैं हरियो प्लेट बनाउने कानुन भएन । मन्त्रिपरिषद्बाट निर्णय गरेर सञ्चालनमा ल्याउने तयारी छ,’ भट्टराईले भने ।

परीक्षण सञ्चालन सफल भएकाले नियमित सञ्चालनमा आएपछि मर्मत र व्यवस्थापनका लागि सम्झौता गर्ने कोषाध्यक्ष भट्टराईको भनाइ छ । बस सञ्चालनका लागि नागरिक उड्डयन मन्त्रालयले गएको जेठमा कार्यविधि बनाउनेमा कोषाध्यक्ष भट्टराईको संयोजकत्वमा ३ सदस्यीय समिति बनाएको थियो । समितिले दुई महिना लगाएर कार्यविधिको खाका र अवस्थाबारे नागरिक उड्डयन तथा पर्यटनमन्त्री जीवनराम श्रेष्ठलाई प्रतिवेदन बुझाएको थियो । रिपोर्टमा कार्यदलले धेरै समयदेखि थन्किएका ९ वटा भ्यानमा समस्या देखिएको र बाँकी गाडी सञ्चालनयोग्य रहेको प्रतिवेदन मन्त्रालयमा पठाएको थियो । एडीबीले सन् २०१८ जनवरी ९ मा गाडी चार्जिङ गर्ने स्टेसन र सोलार उपलब्ध गराउने सम्झौता गरी चार्जिङ स्टेसनसमेत बनेका छन् । यातायात व्यवस्था कार्यालय, लुम्बिनी (सवारी) का प्रमुख मोहन अर्यालले सेतो प्लेटका गाडीले पर्यटक बोक्न नमिल्ने बताए ।

‘लुम्बिनी विकास कोषका गाडी सेतो प्लेटमा दर्ता भएको भए पनि पर्यटक बोक्न हरियो प्लेटमा लैजानुपर्छ,’ अर्यालले भने, ‘सेतो प्लेट नितान्त सरकारी सवारी साधन हो । अहिलेको विद्यमान कानुनमा सेतोलाई हरियो बनाउन मिल्दैन । यसमा पर्यटक बोक्न मिल्दैन हरियो प्लेटमा लैजाने कानुनी प्रावधान अहिलेसम्म बनेको छैन ।’ प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट निर्णय गराएर कानुनी रूप प्रदान गरेर मात्र हरियो प्लेटमा लैजाने पहल गर्न सकिने प्रमुख अर्यालको भनाइ छ । अहिले लुम्बिनीमा दैनिक २ हजार ५०० भन्दा बढी आन्तरिक र बाह्य पयर्टनहरू आउने गर्छन् । स्तरीय गाडी नहुँदा पुराना र थोत्रा गाडीमा भैरहवाबाट लुम्बिनीसम्म यात्रा गर्न बाध्य छन् ।

विकास कोषका योजना प्रमुख तथा इञ्जिनियर सरोज भट्टराईले सरकारी नम्बर प्लेटका गाडीले व्यावसायिक रूपमा प्रयोग गर्न नपाउने भएपछि परीक्षणकालीन सञ्चालन गरिए पनि अहिले आएर गाडी थन्किन पुगेको बताए । ‘विकास कोषले हरियो नम्बरमा लैजान सरकार र सवारी विभागमा पत्र पठाएको छ, हेरौं के आउँछ निर्णय,’ योजना प्रमुख भट्टराईले भने ।
चार्जिङ स्टेसनमा जडान गरिएको पावर हाउसबाट १५४ किलोवाट विद्युत् प्रवाह हुन्छ । जहाँ एकैपटकमा १३ सवारी साधन चार्ज गर्न सकिन्छ । बसहरू पूर्ण वातानुकूलित बस अपांगमैत्री र स्वचालित ढोका छन् । बसमा १९ र ट्याक्सीमा ५ सीट छन् । बस कार्डले स्टार्ट हुन्छ भने बस र ट्याक्सी आवाजरहित छन् । एकपटक फूल चार्ज गरेपछि ४०० किलोमिटर गुड्न सक्छन् । ठूलाठूला आपत्कालीन ढोका छन् । लुम्बिनीमा बढ्दो वातावरणीय प्रदूषणलाई मध्यनजर गरेर विद्युतीय सवारी ल्याइएको हो ।

सुरुमा लुम्बिनीमा आएका बिजुली बस भैरहवा भन्सार कार्यालयबाट जबर्जस्ती सिधै काठमाडौं लगिएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ६ कात्तिक २०७५ मा ललितपुरको पुल्चोकबाट बस चढेर सिंहदरबार पुगी सञ्चालनको शुभारम्भ गरे । ती बसमा त्यसबेला पर्यटन मन्त्रालयले १७ वटा कैफियत देखाएपछि ठेक्का बदर भएको थियो । त्यसपछि पछि अर्को वर्ष फेरि बीवाईडी कम्पनीले चीनबाट आयात गरेर नयाँ बस र ट्याक्सी लुम्बिनी ल्याएको थियो । पाँचवटा बसमध्ये एउटा बस बुटवल–भैरहवा–बेलहिया–एयरपोर्ट हुँदै लुम्बिनी, दोस्रो बस बेलहिया–भैरहवा–एयरपोर्ट हँदै लुम्बिनी, तेस्रो बस नवलपरासी–रामग्राम–भैरहवा–बेलहिया एयरपोर्ट हुँदै लुम्बिनी, चौथो बस कपिलवस्तु–तिलौराकोटबाट लुम्बिनी र पाँचौँ बस लुम्बिनी वरिपरि सञ्चालनको लक्ष्य रहेको विकास कोषले जानकारी दिएको छ ।

विश्व शान्तिको मुहानका रूपमा चिनिने लुम्बिनीमा प्रदूषण बढ्दो छ । भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि ती विद्युतीय बसमा पर्यटकहरूलाई बुद्ध सर्किटमार्फत विभिन्न क्षेत्रमा घुमाउने लक्ष्य थियो ।
जुन कुरा असफलतातिर जाने देखिन्छ । सम्पदाबारे राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरमा चिन्ता र चासो छ । तर, लुम्बिनीको प्रदूषणबारे बाहिर आएका प्रतिवेदन र अनुसन्धान कार्यान्वयन छैनन् । अशोक स्तम्भ खिइँदै गएको छ । स्तम्भ क्षेत्रमा फोहोर फाल्दा सम्पदा नै नष्ट हुने खतरा छ । लुम्बिनी गुरुयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।