अमृत गिरी
बुटवल, । प्रदेशसभाको पहिलो बैठकसँगै अब सरकार गठनतर्फ दलहरु केन्द्रित हुन थालेका छन् । भने दलका सांसदहरुले मन्त्री बन्न लविङ सुरु गरेका छन् । मन्त्रालयको संख्या थोरै भएकाले यसपालि धेरै आकांक्षीहरु नपर्ने निश्चित छ । यहीँ कारण पहुँचको उपयोग गर्नेदेखि सबैतिर लविङ गर्ने काममा केही नेताहरु केन्द्रित भएका छन् ।
यहीँ बीचमा राष्ट्रिय सभा चुनाव परेकाले त्यो सकेपछि सरकार गठनको प्रक्रियाले तीव्रता पाउने छ । राष्ट्रिय सभाको चुनाव आज माघ २४ मा हुँदैछ । पाँच नम्बर प्रदेशबाट छानिने राष्ट्रिय सभाका सदस्यहरुका लागि आज दाङमा चुनाव हुँदैछ ।
यो चुनाव सकिएपछि अब सरकार गठनका प्रक्रियाहरु अगाडि बढाउने गरी तयारी भइरहेको दलहरुले जनाएका छन् । पाँच नम्बर प्रदेशको अस्थायी मुकाम बुटवलमा प्रदेश सरकारका लागि प्रदेश सभा (संसद्मा) एमाले–माओवादी केन्द्रले संयुक्त रुपमा पत्र पठाउने छन् । फागुन २ गतेका लागि प्रदेश सभाको दोस्रो बैठक आह्वान भएको छ । सोही दिन सभामुखको मनोनयन हुने गरी कार्यतालिका बनेको छ । सभामुखसँगै मुख्यमन्त्री चयनका प्रक्रिया अगाडि बढ्ने छन् ।
पहिलो बैठकपछि दलहरु प्रदेश सरकार गठन, सभामुख र उप–सभामुख चयनलगायतका विषयमा केन्द्रित हुन थालेका हुन् । प्रदेश सभाको निर्वाचनको नतिजा सार्वजनिक भएपछि माघ ३ गते निर्वाचित जनप्रतिनिधिहरुले सपथ लिएका थिए । सोही दिन नै एमालेले पहिलो बैठक बसेर नेता छानेको थियो । एमालेले दाङबाट निर्वाचित सांसद शंकर पोखरेललाई संसदीय दलको नेता सर्वसम्मत रुपमा चयन गरेको थियो ।
यहाँ नेकपा एमालेका ४१ जना, माओवादी केन्द्र २० जना, नेपाली कांग्रेस १९, संघीय समाजवादी फोरम पाँच, राष्ट्रिय जनमोर्चा एक र राष्ट्रिय जनता पार्टी एक गरी ८७ जना सांसद छन् । यो प्रदेशमा वाम गठबन्धनको सरकार गठन हुने निश्चित छ र त्यसको मूख्यमन्त्री पनि चुनाव अगावे गठबन्धनले तय गरिसकेकाले कुनै समस्या देखिएको छैन । मन्त्रालय बाँडफाँडलगायतका विषयमा भने गठबन्धनका नेताहरु छलफलमै रहेको बताएका छन् ।
माओवादी केन्द्रले संसदीय दलको नेता र प्रमुख सचेतक चयन गरिसकेपछि त्यस मन्त्रीहरुका विषयमा छलफल केन्द्रित हुने नेताहरुले बताएका छन् । माओवादी केन्द्रका नेता दधिराम न्यौपानेका अनुसार दलको नेता टुंगो लागिसकेपनि अरु मन्त्रीलगायतका विषयमा आन्तरिक छलफल जारी छ । स्रोतका अनुसार माओवादी केन्द्रले दलको नेतामा कुलप्रसाद केसीलाई छानेको छ । राष्ट्रिय सभाको निर्वाचनमा केन्द्रित हुनुपरेकाले पनि यसतर्फ अझै ध्यान पुग्न नसकेको नेताहरुले बताएका छन् ।
यता कांग्रेसले पनि दलको नेता अझै छानेको छैन । कांग्रेसका नेता तथा प्रदेशमा जेष्ठ सदस्य बलदेव शर्मा पोाखरेलले राष्ट्रिय सभाको चुनावपछि लगत्तै नेता छानिने बताएका छन् । संसद्को पहिलो बैठकमा कांग्रेसका तर्फबाट बीरबहादुर रानाले संसद््मा सम्बोधन गरेका थिए ।
नेपाली कांग्रेस प्रदेशमा प्रमुख प्रतिपक्षी रहने हुनाले संसदीय दलको नेता विपक्षी दलको नेता हुने व्यवस्था अनुसार नेपाली कांग्रेसमा पनि आकांक्षी धेरै जना रहेको बताइएको छ । दलको नेताका रुपमा दाङका डिल्ली चौधरी, कपिलवस्तुका विरेन्द्रकुमार कनौडिया र रुपन्देहीका अष्टभुजा पाठकलगायतको दाबी पार्टीभित्र रहेको एक नेताले बताएका छन् ।
प्रदेश नम्बर ५ का ८७ मध्ये प्रत्यक्ष र समानुपातिक गरी एमालेले ४१ सिट जितेको छ । माओवादी केन्द्रले २० सिट जितेको छ । यो संख्या सरकार बनाउन स्पष्ट बहुमत पुग्छ । नेकपा एमालेलाई मुख्य मन्त्री दिएपछि एमाले–माओवादी केन्द्रले बीच माओवादी केन्द्रले सभामुख पाउने सहमति यसअघि केन्द्रीय स्तरमै भइसकेको छ । सभामुखका लागि रुकुमका पूर्ण घर्तीमगर, गुल्मीका सुदर्शन बराल, प्यूठानका कृष्णध्वज खड्का र रोल्पाका कुलप्रसाद के.सी.ले कसरत गरेको माओवादी केन्द्रका एक जना नेताले बताए ।
माओवादीले सभामुख लिएपछि एमालेबाट उपसभामुख हुनेछन् । त्यसमा भने अहिलेसम्म कसैले चर्चा चलाएका छैनन् । मन्त्रीका बन्नका लागि भने एमालेका सांसदहरुले ब्यापक लविङ गरेका छन् । एमालेबाट नवलपरासीका वैजनाथ चौधरी र रुपन्देहीबाट लिला गिरीको चर्चा धेरै छ ।
निर्वाचित सांसदहरुमध्ये पार्टीको वरियतामा शंकर पोखरेलपछि नवलपरासीका वैजनाथ चौधरी र तेस्रोमा रुपन्देहीका लिला गिरी पर्दछन् । यस्तै पार्टीको प्रदेश संगठन कमिटीका संगठन विभाग प्रमुख रहेका रुपन्देही २(२) का सांसद भोजप्रसाद श्रेष्ठले मन्त्री बन्ने इच्छा देखाएका छन् । उनीहरु दुवै जनाले मन्त्रीका लागि आ–आफ्नो दाबी सम्बन्धित ठाउँमा गरिसकेको बताएका छन् ।
यस्तै प्रमुख सचेतकमा चयन भइसकेका रुपन्देहीकै ५ (१) का सांसद तथा प्रदेश संगठन कमिटीका सचिव भूमिश्वर ढकालले पनि सरकारमा जाने इच्छा पार्टी मातहतमा प्रस्तुत गरेका छन् । मन्त्रालयको संख्या थोरै भएको, संरचनाको अभाव रहेको र प्रदेश तह सरकारको कुनै अनुभवसमेत नभएकाले यसपालि धेरै आकांक्षीहरु नपर्ने निश्चित छ ।
यस्तै प्रदेशको दोस्रो ठूलो दल बनेको वाम गठबन्धनको अर्को दल माओवादी केन्द्रबाट भने मन्त्रीका रुपमा रुपन्देहीका दधिराम न्यौपानेको चर्चा धेरै छ । उनलाई सुरुमा सभामुखको चर्चा गरिएपनि पछि मन्त्रीमा समेत चर्चा सुर भएको छ । पार्टी पोलीटव्यूरो सदस्य न्यौपाने सभामुख नपाए राम्रो मन्त्रालयका लागि पहल गरिरहेको उनी निकटका नेताहरुले बताएका छन् ।
मन्त्री हुने लाइनमा महिलामा माओवादी नेता दामा शर्मा र बाँकेबाट प्रत्यक्षमा चुनाव जितेकी कृष्ण केसीले पनि पार्टी तहमा लविङ गरिरहेका छन् । यस्तै सभामुख नपाएको अवस्थामा गुल्मीका सुर्दशन बराल, प्यूठानका कृष्णध्वज खड्का र रोल्पाबाट निर्वाचित कुलप्रसाद केसीले पनि मन्त्री हुने चर्चा चलाइरहेका छन् । ‘सबैले आफू निकटबाट यो वा त्यो भन्दै चर्चा चलाइरहेको पाइएको छ तर पार्टी नेतृत्वले सुझबुझपूर्ण निर्णय गर्नेछ’ पार्टीका एक जना नेताले बताए ।
कानुनतः सांसद सख्याको २० प्रतिशत नबढ्ने गरी मन्त्रालय गठन गर्नुपर्ने छ । तर, वाम गठबन्धनले यो आधारमा भन्दा पनि अझ थोरैको संख्यामा मन्त्रीहरु बनाउने पूर्व सहमति गरिसकेका छन् । प्रदेश नम्बर ५ ले ९ भन्दा नबढ्ने गरी मन्त्रीमण्डल बनाउने तयारीमा एमाले–माओवादी गठबन्धनमा माथिल्लो तहदेखि नै छलफल भइरहेको छ ।
प्रदेश तहमा १० प्रतिशतको संख्यामा नबढ्ने गरी मन्त्रीहरु बनाउने गरी सुरुमै गठबन्धनमा मोटामोटी सहमति भइसकेकाले त्यो भन्दा धेरै नहुने एमालेका उपमहासचिव तथा रुपन्देही–२ का सांसद विष्णुप्रसाद पौडलको भनाइ छ ।
‘प्रदेश तह सरकारको विल्कुलै नौलो र पहिलो अभ्यास भएको र मुलुकको आर्थिक अवस्थालाईसमेतलाई ख्याल गर्दै वाम गठबन्धनले छरितो मन्त्रिपरिषद् बनाउने छ’ पूर्वअर्थमन्त्रीसमेत रहेका एमाले उपमहासचिव पौडेलले भने–‘आकांक्षा राख्नेहरुको पनि न्यायसंगत व्यवस्थापन हुने छ ।’
एमाले प्रदेश संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालका अनुसार वाम गठबन्धनले संयुक्त रुपमै छलफल जारी राखेका छन् । पार्टी एकतको घोषणा भइसकेकाले पनि दुवै पार्टीका नेताहरुका बीचमा खास कुनै गोप्य र लुकाउने गरी कुराकानी नभएको नेता ढकालले बताए । यद्यपि दलको नेता पार्टीका आफ्नै सदस्यले छान्ने भएकाले माओवादी केन्द्रले त्यो छानिसकेपछि सरकार गठनका कामहरुमा गठबन्धन केन्द्रित हुने ढकालको भनाइ छ । नेताहरु अहिले राष्ट्रियसभा चुनावका लागि दाङमा छन् । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि गत माघ १० गते बुधबार सबै प्रदेशमा उम्मेदवारी दर्ता भएको थियो । रुपन्देहीबाट खिमलाल भट्टराई खुलातर्फ उम्मेदवार छन् ।
(((((((((((((((((((((((((
आज राष्ट्रिय सभा निर्वाचन
काठमाडौँ, माघ २३ । निर्वाचन आयोगले आज हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारी पूरा भएको जनाएको छ । राष्ट्रिय सभा निर्वाचनका लागि आयोगले सबै प्रदेशमा तयारी पूरा भएको र आज बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान हुने जनाएको छ ।
नेपालको संविधानमा संघीय व्यवस्थापिका प्रतिनिधिसभा र राष्ट्रिय सभा गरी दुई सदनात्मक हुने व्यवस्थाबमोजिम प्रतिनिधिसभाको निर्वाचन गत मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न भइसकेको छ । संविधानको धारा ८६ अनुसार राष्ट्रिय सभामा निर्वाचक मण्डलको मतको भार फरक हुने गरी प्रत्येक प्रदेशबाट कम्तीमा तीन महिला, एक दलित र एक अपांगता÷अल्पसंख्यकसहित आठ गरीे निर्वाचित ५६ सदस्य रहन्छन् भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत कम्तीमा एक महिलासहित तीनजना गरी जम्मा ५९ सदस्यीय राष्ट्रिय सभा गठन हुने संवैधानिक व्यवस्था छ ।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष गरी जम्मा एक हजार ५०६ र सातै प्रदेशबाट निर्वाचित प्रदेशसभा सदस्य ५५० गरी कल दुुई हजार ५६ जना मतदाता (निर्वाचक मण्डल) छन् ।
प्रदेश नं.२ मा भने सबै उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् । आयोगले सो निर्वाचनका लागि छवटै प्रदेशमा उच्च अदालत रहेका स्थानमा स्थापना गरेका मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट मतदानको तयारी भइरहेको जनाइएको छ ।
प्रदेश नं.१ को विराटनगर, प्रदेश नं.३ को ललितपुरको पाटन, प्रदेश नं.४ को पोखरा, प्रदेश नं.५ को दाङ, प्रदेश नं.६ को सुर्खेत र प्रदेश नं.७ को डोटीमा रहेको आयोगका निर्वाचन अधिकृतको कार्यालय नजिकका सार्वजनिक स्थानमा मतदानस्थल तोकिएको छ । निर्वाचनका लागि प्रत्येक मतदानस्थलमा दुई मतदान केन्द्रको व्यवस्था गरिएको आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले जानकारी दिए । उनले भने,‘प्रत्येक मतदानस्थलमा प्रदेशसभा सदस्यका लागि छुट्टै र स्थानीय तहका पदाधिकारीका लागि छुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ ।’
हरियो र रातो रङका चार÷चार प्रकारका मतपत्र रहने छन् । यस निर्वाचनमा प्रदेशसभाका सदस्यको मतभार ४८ हुनेछ भने स्थानीय तहका पदाधिकारीको मतभार १८ हुनेछ ।
मतगणनाका लागि विज्ञ
निर्वाचन हुने प्रदेशमा एकल संक्रमणीय निर्वाचन प्रणालीको गणनाका लागि तथ्यांक विभागबाट तीनजनाका दरले विज्ञ खटाइएको छ । ६ वटै प्रदेशमा तीनजना विज्ञ र दुईजना प्रशासनिक गरी पाँचजनाको गणना टोली पठाइसकेको आयोगका सूचना अधिकारी अर्यालले बताए । आयोगले सोमबार मतगणनामा खटिने राजनीतिक दलका प्रतिनिधिलाई समेत प्रशिक्षण दिइसकेको छ । आयोगले सकेसम्म भोलि माघ २४ गते नभए पर्सि २५ गतेसम्म सबै पदको मतपरिणाम सार्वजनिक गरिसक्ने तयारी गरेको उनले जानकारी दिए । निर्वाचनको अनुगमनका लागि सबै प्रदेशमा सहसचिव खटाइएको छ ।
राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशअनुसार बहुपदीय पदमा एकल संक्रमणीय निर्वाचन प्रणालीका आधारमा निर्वाचन हुनेछ । नेपालको संविधानको धारा ८६ अनुसार राष्ट्रिय सभा स्थायी सदन हुनेछ । राष्ट्रिय सभाको पदावधि छ वर्षको हुनेछ तर यो संविधान प्रारम्भ भएपछि पहिलो पटक सदस्यको पदावधि कायम गर्दा गोलाप्रथाको माध्यमबाट एक तिहाइको दुई वर्ष, अर्को एक तिहाइको चार वर्ष र बाँकी एक तिहाइको छ वर्ष पदावधि कायम रहनेछ ।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेश नं २ मा सबै उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् । निर्वाचन आयोगका अनुसार यस निर्वाचनमा निर्वाचित हुने कुल ५६ पदमध्ये २४ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् । प्रदेश नं.१ मा महिला तीन र अन्य तीन गरी छ उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । यस प्रदेशमा अब दलित एक र अपांगता÷अल्पसंख्यक एक गरी दुई पदका लागिमात्र निर्वाचन हुनेछ । प्रदेश नं.३ मा आठै पदमा मतदान हुनेछ भने प्रदेश न.ं ४ मा अपांगता÷अल्पसंख्यक एक पदमा उम्मेदवार निर्विरोध निर्वाचित भएकाले बाँकी सात पदका लागि निर्वाचन हुने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
प्रदेश नं.५ मा महिला तीन पदमा निर्विरोध निर्वाचित भएकाले बाँकी पाँच पदमा निर्वाचन हुनेछ । प्रदेश नं.६ मा सबै पदमा निर्वाचन हुँदैछ । त्यस्तै प्रदेश नं. ७ मा महिला तीन र अन्य तीन गरी छ पदमा उम्मेदवार निर्विरोध भएकाले अब दलित एक र अपांगता÷अल्पसंख्यक एक गरी दुई पदमा मात्र निर्वाचन हुने आयोगले जनाएको छ । आयोगका अनुसार अब निर्वाचित हुन बाँकी ३२ पदका लागि ५२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।