बुटवल, प्रदेश नम्बर ५ मा एमाले माओवादी गठबन्धनले सरकार गठनको प्रक्रिया शुरू गरेका छन् । एमाले माओवादी गठबन्धनका नेताहरूले आइतबार प्रदेश प्रमुख उमाकान्त झालाई सरकार नेतृत्वको दावी गर्दै पत्र बुझाएका छन् ।
एमाले प्रदेश नम्बर पाँचका संसदीय दलका नेता शंकर पोखरेल र माओवादी संसदीय दलका नेता कूलप्रसाद केसीसहित एमाले उपमहासचिव विष्णु पौडेल, माओवादी केन्द्रका नेता वर्षमान पुन लगायतका नेताहरू आइतबार दिउँसो प्रदेश प्रमुखको कार्यकक्ष रुपन्देही व्यापार संघको भवनमा पुगेर पत्र बुझाएका हुन् ।
पत्र बुझेपछि प्रदेश प्रमुख उमाकान्त झाले संवैधानिक प्रक्रिया अनुसार आफू अगाडि बढने बताए । उनले भने, ‘दुई दलले दाबी प्रस्तुत गर्दै पत्र बुझाउनु भएको छ । संविधानले व्यवस्था अनुसार अगाडि बढछु ।’ संविधानको धारा १६८ को उपधार २ बमोजिम मुख्यमन्त्री नियुक्त गर्ने प्रक्रिया छ ।
पत्र बुझाएपछि प्रक्रिया दिँदै एमाले नेता एवं मुख्यमन्त्रीका दाबेदार नेता पोखरेलले सभामुखको निर्वाचन अगाडि नैं मुख्यमन्त्रीको शपथ ग्रहण गरी सानो मन्त्रिमण्डल पनि गठन हुने बताए ।
सभामुखको निर्वाचन अगाडि नैं ३ सदस्यीय मन्त्रीमण्डल गठन गर्ने वाम गठबन्धनले तयारी गरेका छन् । जसमा मुख्यमन्त्री शंकर पोखरेल र एक÷एक जना एमाले र माओवादीका मन्त्री बन्ने माओवादी प्रदेश नम्बर ५ का संसदीय दलका नेता कूलप्रसाद केसीले जानकारी दिए ।
माओवादी केन्द्रका नेता वर्षमान पुनले प्रदेश नम्बर २ बाहेक सबै प्रदेशमा एमाले माओवादी मिलेर सरकार गठन गर्ने बताए । फरक प्रसंगमा छिट्टै दुई पार्टी एकता हुने बताए ।
सोमबार प्रदेश प्रमुखलाई शपथ ग्रहण गराउने तयारीमा प्रदेश प्रमुख रहेको बताइएको छ । त्यस्तै फागुन २ गते सभामुखको निर्वाचन हुँदैछ । प्रदेश नम्बर ५ मा ८७ सांसद छन् । जसमध्ये एमालेका ४१ र माओवादी केन्द्रका २० जना रहेका छन् ।