होराइजनमा प्रदेशस्तरीय हाजिरीजवाफ हुने

मेचीकाली संवाददाता

७ पुष २०७९, बिहीबार
268 shares

बुटवल । बुटवलस्थित न्यू होराइजन इङ्लिस बोर्डिङ स्कूलले लुम्बिनी प्रदेशस्तरीय हाजिरीजवाफ प्रतियोगिता गर्ने भएको छ । प्रदेशका १२ वटै जिल्लाका विद्यार्थीलाई पायक पर्ने गरी पहिलो चरणमा यही पुस ९ गते बुटवल, पाल्पा र दाङको लमहीमा विद्यार्थीहरूले प्रतिस्पर्धा गर्नेछन् । तीनवटै केन्द्रबाट उत्कृष्ट हुने दुई समूह पुस १५ गते बुटवलस्थित विद्यालयमा फाइलन प्रतिस्पर्धामा सहभागी हुनेछन् ।

विद्यालयका प्राचार्य लोकनाथ उपाध्यायलेले स्कूलले आफ्नो २९ औं संस्करणअन्तर्गत प्रतियोगिता गर्न लागेको बताए । प्रतियोगितामा लुम्बिनी प्रदेशका सम्भवतः १२ वटै जिल्लाका १०० भन्दा बढी स्कूलहरूको सहभागिता हुने कार्यक्रम संयोजक गणेश भण्डारीले जानकारी दिए । प्रतियोगितामा प्रथम हुनेले ३० हजार, द्वितीयले २० हजार, तृतीयले १५ हजार रूपैयाँ नगद, शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगितामा कक्षा १० सम्मका मात्र विद्यार्थी सहभागी हुन पाउने विद्यालयका उपप्राचार्य बाशुदेव अर्यालले जानकारी दिए । प्रतिस्पर्धामा आयोजक न्यू होराइज सहभागी हुने छैन । होराइजन यस क्षेत्रकै ठूलो संस्थागत विद्यालय हो । प्रतियोगितामा इतिहास, भूगोल, खेलकूद, साहित्यलगायतका पाठ्यपुस्तकभित्रका प्रश्नहरु सोधिने छ ।
यसअघि संस्कार बोर्डिङ स्कूल छपिया रूपन्देही प्रथम भएको थियो । नेपाल पत्रकार महासंघका अध्यक्ष रामराज पोखरेलले शिक्षाको विकासमा संस्थागत विद्यालयको योगदानलाई राज्यले नजरअन्दाज गरेको बताए ।
विद्यालयका अध्यक्ष ज्ञानेन्द्र कसजूले रूपन्देहीको शिक्षाको विकासमा होराइजनको ठूलो योगदान रहेको बताए । होराइजन २०४६ सालमा स्थापना भएको विद्यालय हो । विद्यालयबाट हरेक वर्षको एसईई परीक्षामा फोर जीपीए ल्याउने गर्छन् ।