भैरहवा, । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले कांग्रेस र कम्युनिष्ट दुवै धारबाट देशले निकास पाउन नसक्ने बताएका छन् । लुम्बिनीमा बुधबारबाट सुरु पार्टीको संघीय परिषद् विस्तारित बैठकलाई संवोधन गर्दै भर्खरै सम्पन्न चुनावमा पूराना राजनीतिक शक्तिहरुले जीत हासिल गरेपनि उनीहरुले देशलाई निकाश दिन नसक्ने उनले दाबी गरे । केही वर्ष सत्तामा हालीमुहाली गरे पनि उनीहरुले मुलुकलाई दुर्घटनामा पार्ने खतरा रहेको छ उनले भने । नेपालको राजनितीमा सत्ताको लालच लिप्त भएको भन्दै उनले जनयुद्ध लत्याउदै सत्तामोहमा तानिनु गलत भएको तर्क गरे ।
‘डाक्टरले मात्र क्यान्सर देखेको हुन्छ, सामान्य आंखाले देख्न सक्दैन । मैले देखिरहेको छु यी दलले मुलुकलाई पार लगाउंदैनन्,’ भट्टराईले एमाले र माओवादी केन्द्रको एकताप्रति संकेत गर्दै कम्युनिष्टको पुरानो खोल ओढेकाहरु चक्रपथमा घुमे पनि कही नपुग्ने दाबी गरे । ‘देशमा कांग्रेस र कम्युनिष्ट कोकाकोला र पेप्सीजस्ता ब्राण्ड बनेर बसेका छन् । कोकाकोला या पेस्पी कुनैले पनि मानव शरीरलाई हित गर्दैन’ भट्टराईले भने, ‘हामीले जनतालाई हित हुने नयां पेश पदार्थ दिनुपर्छ ।’ भट्टराईले कांग्रेस र कम्युनिष्टको सट्टा नयां बिचार सहितको तेस्रो धुर्व खडा गर्ने बताए ।
नेता भट्टराईले सही विचार लिनेहरु कहिलेकाहीं एक्लै पर्ने गरेको गुनासो गरे । ‘गौतम बुद्ध पनि ६ जनाको टोली बनाएर ध्यानमा बसेका थिए, ५ जनाले छाडेपछि उनी एक्लै भए । आफ्ना पिता राजाले नौ पटक बोलाउँदा पनि उनी गएनन् बरु दूतलाई नै आपनो विचारमा सहमत गराए,’ भट्टराइले भने, ‘पुराना शक्तिबाट हामीलाई पनि नबोलाइएको होइन, तर हामी लोभमा फस्दैनौँ ।’
उनले छिटो सत्तामा पुगिन्छ भन्ने सोचले पार्टीका केही नेता पलायन भएको टिप्पणी गरे । ‘आफूलाई क्रान्तिकारी भन्नेहरु कमिसनखोरसंग भोजभतेर गरेका छन्,’भट्टराइले भने । फागुन १२ गते सम्म संचालन हुने परिषद् बैठकले पार्टीको रणनिीतिक योजना तयार गर्ने जनाइएको छ ।
कम्युनिष्ट धारबाट देश विकास हुँदैनः भट्टराई
