प्रकाश आचार्य
बुटवल, । रूपन्देहीमा बैंकहरुले शाखा विस्तार आक्रामक रूपमा अगाडि बढाएका छन् । विकासका पूर्वाधार निर्माणसँगै आर्थिक गतिवधि तीव्र हुँदै जाँदा रुपन्देहीमा बैंकहरुको शाखा विस्तार तीव्र भएको हो । त्यसो त मुलुक संघीय संरचनामा गएसँगै स्थानीय तहले गाउँमै पहलपहल बढाएपछि त्यसको असर बैंकहरुमा पनि परेको कतिपय जानकार बताउँछन् ।
यहाँ बैंकहरुले शाखा विस्तार गर्न होडबाजी जस्तै गरेका छन् । जनतालाई घर आँगनमा सेवा प्रदान गर्ने भन्दै वाणिज्य बैंकदेखि लघुवित्त बैंकहरू शाखा विस्तारमा जुटेका हुन् । रूपन्देहीमा १६ स्थानीय तह छन् ।
नेपाल राष्ट्र बैंक, भैरहवाका अनुसार आर्थिक वर्ष २०७३÷०७४ सम्म जिल्लामा २६७ वटा बैंकका शाखा सञ्जाल रहेकोमा हाल यो संख्यामा भारी वृद्धि भएको छ । राष्ट्र बैंक, भैरहवाका निर्देशक अशोककुमार पौडेलका अनुसार प्रदेशको राजधानी तोकिएसँगै रुपन्देहीमा लगानीका सम्भावना देखेर बैंकहरूले आफूलाई यहाँ केन्द्रित गर्न थालेको छन् । पौडेलले भन्छन् , ‘पछिल्लो आठ महिनामा ४० देखि ५० वटासम्म नयाँ शाखा थपिएका छन् ।’ उनी बैंकहरुको तीव्र शाखा सञ्जाल विस्तारले रूपन्देही लगानीको ‘हब’ बन्दै गएको बताउँछन् । रुपन्देहीमा तीव्र सहरीकरण, निर्माणाधीन राष्ट्रिय गौरवका आयोजना, प्रदेशको राजधानी, पर्यटन, उद्योग र कृषिलगायतका सम्भावना देखेर बैंकहरु रूपन्देही केन्द्रित भएको देखिन्छ ।
जिल्लाका बैंकहरुमा हालसम्म ११३ अर्ब लगानी र ८९ अर्ब निपेक्ष संकलन भएको राष्ट्र बैंकले जनाएको छ । रुपन्देहीमैं प्रधान कार्यालय रहेका बैंकहरुले ग्रामीण क्षेत्रसम्म आफ्ना शाखाहरु खोलेर बैंकिङ सेवा प्रदान गरिरहेका छन् । राष्ट्रिय स्तरका वाणिज्य बैंकका शाखाहरू मुख्य सडक आसपासमा बढी केन्द्रित देखिन्छन् । बैंकको शाखा सञ्जाल बढ्दै जाँदा जिल्लाका बासिन्दालाई बैंकिङ कारोबारका लागि सहरमा पुग्नुपर्ने बाध्यताको लगभग अन्त्य भएको छ ।
नेपाल डेभलपमेन्ट बैंकर्स एशोसिएसनका उपाध्यक्षसमेत रहेका शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले रूपन्देहीमा लगानीका अवसरहरू धेरै देखेर बैंकहरूले शाखा विस्तारलाई प्राथामिकता दिएको बताए ।
‘दुई÷चार वर्ष अगाडि बैंकिङ सेवा लिन एक दिन हिँडेर जानुपर्ने अवस्था थियो’ उनले भने, ‘जनताले अब शिक्षा, स्वास्थ्यसँगै बैंकिङ सेवा पनि घरदैलोमा चाहेका छन । सेवाग्राहीको सोही चाहानालाई मध्येनगर गर्दै बैंकरू पनि जनताको घरदैलोमा पुगेका हुन् ।’ उनले थपे, ‘हामीहरू शहरलाई केन्द्रित होइन । गाउँ–गाउँ बैकिङ सेवाको पहुँच नभएका जनताहरूलाई लक्षित गरेर शाखा विस्तार गरेका छौं ।’ नेपाल राष्ट्र बैंकका अनुसार राजधानी काठमाडौंपछि सबैभन्दा धेरै बैंकका शाखा सञ्जाल रूपन्देहीमा छन् ।
जिल्लामा निर्माण हुन थालेका विकासका पूर्वाधारहरुले बैंकर्सहरु उत्साहित बनेका छन् । भैरहवामा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुटवल–बेलहिया सिक्सलेन सडक, बुटवलमा निर्माण भैरहेको अन्तर्राष्ट्रिय सभागृह, पर्यटनको प्रमुख गन्तव्य लुम्बिनी, बुद्ध सर्किट, प्रस्तावित मोतिपुर औद्योगिक करिडोर र भैरहवाको विशेष आर्थिक क्षेत्र सेज देखेर बैंकर्सहरू आकर्षित छन् । पूर्णिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश गुरूङ नयाँ क्षेत्रहरूमा केन्द्रित हुन आवश्यक देखेर आफूहरूले सेवा ग्रामीण क्षेत्रमा केन्द्रित गर्न थालेको बताए । राष्ट्र बैंकले बैंकिङ पहुँच नपुगेका स्थानीय तहमा बैंक तथा वित्तीय संस्थालाई शाखा खोल्न निर्देशनसमेत दिएको छ ।
मणिग्राम चोकमा १५ वटा बैंकका शाखा
तिलोत्तमा–५ मणिग्राममा बैंकहरू थुप्रिएका छन् । अचेल मणिग्राम चोकलाई ‘बैंक चोक’ भन्न थालिएको छ । चोकका अधिकांश घरमा बैंकका शाखा खुलेका छन् । तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरे तिलोत्तमा नगरमा रहेका बैंकहरूसँग सहकार्य गरेर नगरको विकास गर्न आफूहरू तयार रहेको बताउँछन् । ‘तिलोत्तमा नगरपालिकामा एकपछि अर्को बैंकका शाखाहरु थपिँदै गएका छन् । ती सबै बैंकहरूसँग सहकार्य गरेर नगरको विकासमा अगाडि बढ्ने उनले बताए ।
रूपन्देहीमा बैंक शाखा विस्तार आक्रामक
