लुम्बिनीमा सरकार गठनका लागि दाबी पेस गर्न आहृवान

मेचीकाली संवाददाता

२१ पुष २०७९, बिहीबार
254 shares

बुटवल । लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनीमा एक हप्ताभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका छन् । लुम्बिनी प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुख अमिक शेरचनले पुस २७ गते बुधवार दिउसो ४ बजेसम्मको समय दिएका छन् ।

प्रदेश प्रमुख शेरचनले प्रदेश सभामा कुनै दलको बहुमत नआएकाले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा सो समयभित्र बहुमत सदस्यको हस्ताक्षरसहित दाबी पेश गर्न आह्वान गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले जनाएका छन् ।

लुम्बिनी प्रदेशसभामा प्रत्यक्ष ५२ र समानुपातिक ३५ गरी ८७ सांसद छन् । प्रदेशसभामा बहुमतका लागि ४४ सांसद चाहिन्छन् । प्रदेशसभामा नेकपा एमालेका २९, नेपाली कांग्रेसका २७, नेकपा माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ४, नागरिक उनमुक्ति पार्टीका ४, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का ३, जनमत पार्टीका ३, जनता समाजवादी पार्टी (जसपा)का ३, राष्ट्रिय जनमोर्चा १, नेकपा एकीकृत समाजवादीका १ र स्वतन्त्र २ सांसद छन् ।

यसअघिनै पुस १७ गते सांसदहरूको शपथग्रहण तथा १८ गते प्रदेशसभा अधिवेशन सुरु भइसकेको छ ।