प्रकाश आचार्य
बुटवल, । राष्ट्रिय महत्वको निर्माणाधिन बुटवल–बेलहिया ‘सिक्स’ लेन सडक विस्तारका क्रममा प्रभावितहरुलाई सडक आयोजनाले करिब चार करोड रूपैयाँ मुआब्जा वितरण गरेको छ । व्यापारिक मार्ग विस्तार आयोजनाले हालसम्म ८२ फूटभित्र परेका २ सय २६ घरधूरीलाई ३ करोड ७६ लाख ५३ हजार ५ सय ८८ रूपैयाँ मुआब्जा वितरण गरेको हो ।
सडक संरचनाभित्र परेका परिवारलाई मुआब्जा वितरण सिफारिस समितिको निर्णयका आधारमा उक्त रकम उपलब्ध गराइएको आयोजनाले जनाएको छ । जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा मुआब्जा वितरण सिफारिस समिति रहने व्यवस्था छ ।
आयोजनाका प्रमुख जिबेन्द्र मिश्रले सो सडक यसअघि नै ७५ फुट कायम रहेकाले विस्तारका क्रममा ७ फूटको मात्र मुआब्जा दिइएको बताए । परियोजनाले सिक्सलेन निर्माणका क्रममा ७ फूट जग्गा मात्र अधिग्रहण गरेको छ । ‘हामीले २०३२ साल असार २० गतेभन्दा अगाडि बनेका घरधुरीको मुआब्जा दिने हो’ उनले भने, ‘२०३२ भन्दा अगाडि सिद्धार्थ राजमार्ग ७५ फूट कायम गरिएको थियो । अहिले नयाँ मापदण्ड अनुसार ८२ फूट निर्धारण गरिएको छ । हामीलाई आवश्यक ७ फूटमात्र अधिकरण गरिएको छ । सोही जग्गाको मात्र मुआब्जा वितरण गरिएको हो ।’
आयोजना प्रमुख मिश्रले थपे, ‘प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा मुआब्जा वितरणको सिफारिस गर्ने समिति छ । उसले सिफारिस गरेपछि हामीले जिल्ला प्रशासनमा रकम उपलब्ध गराउँछौं । जिल्ला प्रशासनले उक्त मुआब्जाको रकम प्रभावित परिवारलाई वितरण गर्छ ।’ भवन डिभिजन, कार्यालयले चलन÷चल्तीको दररेट र प्रभावितको मागलाई ध्यानमा राखेर मुआब्जा रकम सिफारिस समितिमा पठाउँछ ।
धेरै मुआब्जा पाउनेमा बुटवल कालिकानगरका दीप आचार्यले ७ लाख रूपैयाँ पाएका छन् । बुटवल चौराहादेखि गोलपार्कसम्म २०३२ भन्दा अगाडि बनेका १६ घरधुरीले निवेदन दिएका छन् । तिनीहरूलाई छिट्टै मुआब्जा वितरण गरिने आयोजनाका इन्जिनियर गोविन्द श्रेष्ठले जानकारी दिए । उनले भने, ‘बुटवलमा हामीले ८२ फूटभित्रका संरचना अदालतको फैसलाको पखाइले ढिलाइ भइरहेको छ । जहाँ २०३२ भन्दा अगाडि बनेका १६ वटा घरहरु रहेछन् । तिनीहरूलाई छिट्टै मुअब्जा रकम वितरण गछौं ।’ बुटवल–बेलहिया सडक २५ दशमलब ५ किलोमिटरको छ । आउदो भदौंसम्म सडक निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ आयोजनाले धमाधम काम अगाडि बढाएको छ ।
असारभित्र ७ वटा आकाशेपुल बन्ने
आउँदो असार मसान्तसम्म परियोजना अन्तर्गत् निर्माणाधीन १० आकाशेपुलमध्ये ७ वटा सम्पन्न हुने बताइएको छ । योगिकुटी, चौराहा, मिलनचोक, हस्पिटललाइन, ड्राइभरटोल, भैरहवा (आँखा हस्पिटल अगाडि) र देवकोटाचोकका आकाशे पुल निर्माण सम्पन्न हुने आयोजनाको भनाइ छ । इन्जिनियर श्रेष्ठले ३ वटाबाहेक अन्य आकाशले पुल तोकिएको समयमै निर्माण सम्पन्न हुने बताए । उनले भने, ‘ट्राफिकचोक, राजमार्ग चौराहा र भैरहवाको बर्मेलीटोलको पुल निर्माणमा केही समस्या देखिएको छ । अन्य समयमै सम्पन्न हुन्छन् ।’ पुल निर्माणको ठेक्का महादेव खिम्ती एसेएटिक र महेश जेभी, बर्दघाटले लिएका छन् । ११ करोड रूपैयाँमा अपाङ्गमैत्रीसमेत रहेका पुल १५ महिनाभित्र सम्पन्न गर्ने गरी ठेक्का दिइएको हो ।
बुटवलमा सडक विस्तारको काम अगाडि बढाउने
परियोजनाले सर्वोच्च अदातले सडक विस्तार रोक्न माग गर्दै घरधनीले दिएको मुद्दाको अन्तरिम आदेश दिनु नपर्ने फैसला गरेपछि सडक विस्तारको काम अगाडि बढाउने भएको छ । सुरूमा माइकिङ गर्ने र तत्काल काम अगाडि बनाउने परियोजनाको भनाइ छ । बुटवलदेखि गोलपार्कसम्म ३११ घर भत्काउनुपर्ने अवस्थामा छन् । केही घरधनीले भने आफै भत्काउन सुरू गरेको छन् । निर्वाचनको समयमा केही राजनीतिक दलहरूले भत्काउन नपर्ने भन्दै निराधार हल्ला फैलाएपछि केही घरधनीहरू दोधारमा समेत परेका थिए ।