तिलोत्तमा, । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. २ स्थित शंकरनगर वनविहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) मा निर्माण हुने तिलोत्तमा भ्यू टावरको बिहीबार शिलन्यास गरिएको छ । १३ करोड ५८ लाख रुपैंयाँको लागतमा निर्माण सम्पन्न हुने भ्यू टावरको नेपाली कांग्रेस प्रदेश नम्बर ५ संसदीय दलका नेता बलदेव शर्मा पोखरेलले शिलन्यास गरे ।
तिलोत्तमा नगरपालिकाको ७० प्रतिशत र अनुसन्धान केन्द्रको ३० प्रतिशत लागतमा बन्ने भ्यू टावरको निर्माण चार वर्षमा पूरा गर्ने सम्झौता भए पनि ठेकेदार कम्पनी प्राकृतिक निर्माण प्रा.लि.ले बजेट व्यवस्थापन भएमा दुई वर्षमै निर्माण पूरा गर्न सकिने जनाएको छ ।
नगरपालिकाले चालू आर्थिक वर्षमा भ्यू टावर निर्माणका लागि एक करोड रुपैंयाँ विनियोजन गरेको छ । दुई कठ्ठा क्षेत्रफलमा भ्यू टावर र आसपासको दुई बिगाहा क्षेत्रफलमा पार्क, बगैंचा र पार्किङस्थललगायतका पूर्वाधार निर्माण गर्ने योजना छ । दश तलाको बन्ने भ्यू टावर १३३ फिट उचाइको हुनेछ । भ्यू टावरमा सुविधा सम्पन्न होटल, डिमार्टमेन्टल स्टोर, अनुसन्धान केन्द्रको कार्यालय र पुस्तकालयलगायतका संरचना बनाउने योजना छ । लिफ्ट स्टिमको भ्यू टावरबाट टेलिस्कोपको सहायताले लुम्बिनी, बर्दघाट, कपिलवस्तु र चुरे शृखंलाका साथै भारतको नौतनहवा, गोरखपुरसम्मको अवलोकन गर्न सकिने अपेक्षा गरिएको छ ।
भ्यू टावरको निर्माणले वनवाटिकामा आउने पर्यटकको संख्या ह्वात्तै बढ्ने र यसले समग्र तिलोत्तमाको समृद्धिमा महत्वपूर्ण टेवा पु¥याउने तिलोत्तमा नगरप्रमुख बासुदेव घिमिरेले बताए ।
तिलोत्तमा भ्यू टावरलाई काठमाडौंमा पुनःनिर्माण गर्न थालिएको धरहरापछिको मुलुककै व्यवस्थित र आकर्षक बनाउने नगरपालिकाको लक्ष्य छ । आन्तरिक स्रोतले मात्र निर्माण कार्य नसकिने जनाउँदै नगरपालिकाले यसमा सघाउन प्रदेश र केन्द्र सरकारलाई आग्रह गरेको छ । ‘भ्यू टावर तिलोत्तमाको मात्र नभई प्रदेश नं. ५ कै गहना हुने भएकाले निर्माणको लगानी नगरपालिका एक्लैले मात्र गर्न नसक्ने भएकाले यसमा सघाउन हामीहरु प्रदेश र केन्द्र सरकारलाई आग्रह गर्दछौँ ।’ नगर प्रमुख घिमिरेले भने ।
भ्यू टावरको शिलान्यास गर्दै प्रदेश सांसद पोखरेलले तिलोत्तमाको विकासका लागि भ्यु टावर महत्वपूर्ण हुने बताउँदै यस्ता विकासका काममा अठोटका साथ अघि बढ्न नगरपालिकाका जनप्रतिनिधिहरुलाई आग्रह गरे । उनले नगरपालिकालाई स्वच्छ र हराभरा बनाउन घर–घरको फोहोर व्यवस्थापनदेखि एउटा घरले कम्तीमा चार वटा बिरुवा लगाएर हुर्काउने नीति ल्याउन नगरपालिकालाई सुझाव दिए ।
उद्घाटन कार्यक्रममा तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वरी चौधरीले भ्यू टावरको निर्माणले समग्र तिलोत्तमाको पर्यटन प्रवद्र्धनमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरिन् । यस्तै शंकरनगर वनविहार तथा अनुसन्धान केन्द्रका अध्यक्ष बाबुराम अर्यालले केन्द्रमा रहेको चिडियाखानालाई क्षेत्रीय स्तरमा स्तरोन्नति गर्न, बाल रेल सञ्चालन र बोटानिकल गार्डेनका लागि सहयोग गर्न प्रदेश सरकारसँग माग गरे ।
केन्द्रका सचिव खिमलाल पाण्डेले सञ्चालन गरेको शिलन्यास कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशसाकीय अधिकृत कृष्णप्रसाद सापकोटा, वडा नंं २ का अध्यक्ष दधिराम गौतम र नेकपा माओवादी केन्द्रका बेलप्रसाद शर्मालगायतले भ्यू टावरको बहुआयामिक फाईदाका बारेमा चर्चा गरेका थिए ।
वनवाटिकामा कति आउँछन् पर्यटक ?
वनवाटिकामा गत वर्ष १ लाख २६ हजार ७ सय ५ आन्तरिक तथा बाह्य पर्यटक अवलोलन तथा भ्रमणका लागि आएका थिए । पूर्व–पश्चिम राजमार्गदेखि करिब १ किमिभित्र घना बस्तीछेउ शंकरनगर सामुदायिक वन छ । यहीँ वनको ५ सय ७६ हेक्टर वनमध्ये ५१ हेक्टर वृक्षरोपण क्षेत्रलाई २०६२ वर्षअघिदेखि व्यवस्थित गरी वनविहार तथा अनुसन्धान केन्द्र बनाइएको हो ।
केन्द्रमा चिडियाखाना, जडीबुटी अनुसन्धान केन्द्र, योग केन्द्र, बोटानिकल गार्डेन, जैविक विविधता अनुसन्धान केन्द्र, बाल उद्यान, पार्क, पिकनिक स्थल र सभास्थललगायत बनाइएको छ । पर्यटकले प्रत्यक्ष अवलोकन गर्न सक्ने गरी चिडियाखाना व्यवस्थित गरिएको छ । चितुवा, मृग, नीलगाई, अजिंगर, भालु, खरायो, चाइनिज मुसा, मयूँर र सारसलगायत दुई दर्जन प्रजातिका पशुपंक्षी संरक्षित छन् । रमणीय पार्क र चिडियाखाना रहेको वाटिकामा वनभोज खान र घुम्न आन्तरिक तथा बाह्य पर्यटक पुग्छन् ।
विवाह, वनभोज, शुभकार्य र सांगीतिक कार्यक्रमका लागि आउनेको संख्या धेरै छ । साँझ–बिहान योग तथा ध्यान गर्न जानेको दिनहँु लर्को लाग्छ । यहाँ रहेका विभिन्न जनावर तथा जैविक विविधताको अध्ययन र अनुसन्धान गर्न आउने पर्यटक संख्या पनि बढेको छ ।