काठमाडौँ, । हरेक देशको राष्ट्रिय दिवस (नेशनल डे) भएजस्तै नेपालको पनि असोज ३ गते राष्ट्रिय दिवस कायम भएको छ । मन्त्रिपरिषद्को बुधबार साँझ बसेको बैठकले संविधानसभाबाट नेपालका संविधान जारी भएको दिन असोज ३ गतेलाई राष्ट्रिय दिवसका रुपमा मनाउने निर्णय गरेको हो ।
यसअघि पृथ्वीनारायण शाहको जन्मदिन पुस २७ लाई राष्ट्रिय एकताका दिवसका रुपमा मनाउने गरिन्थ्यो । तर, जनआन्दोलन २०६२÷६३ पछि राष्ट्रिय एकता दिवस मनाउन छाडियो ।
शेरबहादुर देउवा नेतृत्वको सरकारले यस वर्ष पुस २७ लाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउँदै सार्वजनिक विदा दिएको थियो । तर, केपी ओली नेतृत्वको वामपन्थी सरकारले अब मुलुकको राष्ट्रिय दिवस असोज ३ लाई मान्ने निर्णय गरेको हो ।
कतिपयले जेठ १५ गते गणतन्त्र स्थापना भएको दिनलाई राष्ट्रिय दिवस मनाउनुपर्ने प्रस्ताव राखेका थिए । तर, गणतन्त्रलगायत सबै परिवर्तनलाई संविधानले संस्थागत गरेकाले असोज ३ राष्ट्रिय दिवस हुने निर्णय भएको सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले बताए ।
असोज ३ नेपालको राष्ट्रिय दिवस भए पनि अन्य दिवसहरु पनि मनाइनेछन् । तर, सार्वजनिक विदा भने असोज ३ मा मात्र दिइनेछ ।
यसबाहेक राष्ट्रिय प्रजातन्त्र दिवस फागुन ७, लोकतन्त्र दिवस वैशाख ११, गणतन्त्र दिवस जेठ १५, शहीद दिवस माघ १६ र राष्ट्रिय एकता दिवस पुस २७ आ–आफ्नो हिसाबले मनाइनेछन् । तर,त्यस दिन सार्वजनिक विदा दिइने छैन ।
मन्त्रिपरिषद्को निर्णयबारे प्रष्ट पार्दै राज्यमन्त्री बास्कोटाले भने, ‘दिवस र पर्वहरु आआफ्नो ढंगले मनाउने तर, सार्वजनिक विदा कटौती गर्ने नीतिअनुसार असोज ३ लाई राष्ट्रिय पर्व बनाइएको हो ।’
दशैं विदा तीन दिन कटौती
दशैं विदा तीन दिन थप कटौती गरिएको छ । अब घटस्थापना, द्वादशी र कोजाग्रत पूर्णिमामा सार्वजनिक विदा हुने छैन । दशैं विदा फूलपातिदेखि एकादशीसम्म पाँच दिनमात्र हुनेछ ।
त्यस्तै हिन्दूहरुका पर्वको विदा पनि कटौती गरिएको छ । जनैपूर्णिमा, ऋषि पञ्चमी, रामनवमी, श्रीकृष्ण जन्माष्टमीका दिन हुने गरेको सार्वजनिक विदा पनि कटौती गरिएको छ । सरकारले सार्वजनिक विदा कटौतीमात्र गरेको छैन, समुदायगत र क्षेत्रगत पर्वमा सम्बन्धित समुदाय वा क्षेत्रमा मात्र विदा दिने निर्णय गरेको छ ।
अब ल्होसार, क्रिसमस, छठ, माघी जस्ता पर्वमा सम्बन्धित समुदाय र भेगमा मात्र विदा दिइनेछ । राज्यमन्त्री बास्कोटाले भने, ‘ऋषि पञ्चमी भनेको महिलाले पतिको गोडाको पानी खाने दिन भनिन्छ, महिलालाई दासत्व स्वीकार गर्न राज्यले किन विदा दिने ? जनैपूर्णिमामा जनै लगाउने हो विदा किन चाहियो ? आआफ्ना परम्परागत कार्य गर्न विदा चाहिँदैन ।’
अब नेपालभर वर्षभरि ५२ वटा शनिबार र अन्य १५ दिन सार्वजनिक विदासहित राष्ट्रव्यापी रुपमा ६७ दिनमात्र विदा हुनेछ । अन्य पर्वहरुमा २२ दिन आंशिक विदा हुनेछ ।
यसैबीच सरकारले सार्वजनिक विदा कटौती गरेकोमा नेपाल चेम्वर अफ कमर्शले खुशी व्यक्त गरेको छ । बढी सार्वजनिक विदाका कारण मुलुकको अर्थतन्त्रमै नकारात्मक असर पारेको भन्दै चेम्बरले विदा कटौती गर्न सरकारसँंग माग गर्दै आएको थियो । उसले सार्वजनिक विदाहरुमा बैङ्क तथा वित्तीय संस्थाहरु सञ्चालनको माग पनि राख्दै आएको थियो ।
सरकारले वि.सं.२०७५ का लागि यसअघि दिइँदै आएका सार्वजनिक विदा कटौती गरेको हो । मन्त्रीपरिषद्को बुधवार साँझ बालुवाटारमा बसेको बैठकले समृद्धिको लक्ष्य पूरा गर्न सार्वजनिक विदा कटौती गर्ने र कार्यदिन बढाउने उद्देश्यले वर्षभरिमा जम्मा विदा ८९ दिन सार्वजनिक विदा कायम गर्ने निर्णय गरेको छ । यसअघि वर्षभरिमा १ सय ४ दिन विदा हुँदै आएको थियो ।
सरकारले सम्बन्धित धर्म, सम्प्रदाय र क्षेत्रका लागि २२ र सबैलाई हुने सार्वजनिक विदा ६७ दिन कायम गरेको छ ।