लुम्बिनीका मुख्यमन्त्री लिला गिरीले पाए विश्वासको मत

मेचीकाली संवाददाता

५ माघ २०७९, बिहीबार
191 shares

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले विश्वासको मत पाएका छन् । बिहीबार बसेको प्रदेश सभा बैठकमा विश्वासको मतको पक्षमा ५७ सांसदले मतदान गरेका छन् । मुख्यमन्त्री गिरी पुस २८ गते नियुक्त भएका थिए । मुख्यमन्त्री नियुक्त भएको आठौं दिनमा उनले विश्वासको मत पाएका हुन् ।

प्रदेश सभाका सभामुख तुलाराम घर्तीले पक्षमा ५७ र विपक्षमा २८ मत खसेको सदनलाई जानकारी दिए । ८७ सदस्यीय प्रदेशसभामा १ जना सांसद अनुपस्थित रहे ।

८ राजनीतिक दल र दुई स्वतन्त्र सांसदगरी ५७ जनाले पक्षमा मतदान गर्दै गिरीलाई विश्वासको मत दिएका हुन् । मुख्यमन्त्री गिरीलाई एमाले २९, माओवादी केन्द्रका ८, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका ४–४, जसपा,लोसपा र जनमतका ३–३, नेकपा एकीकृत समाववादी १ र २ स्वतन्त्र सांसदहरुको सहित ५८ जनाले पक्षमा मतदान गरेका छन् । नेकपा माओवादी संसदिय दलका नेता जोखबहादुर महराको आमाको निधन भएपछी उनि उपस्थित भएनन् । सरकार गठनमा पक्षमा नरहेको नेकपा एकीकृत समाजवादी पार्टीका प्रदेश सभा सदस्य भगवती घिमिरेले विश्वासको मत भने मुख्यमन्त्री गिरीलाई दिइन् ।

संविधानको धारा १६८ को उपधारा ४ अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । प्रदेशसभाका १० मध्ये ७ दलका ५६ जना र २ स्वतन्त्र गरी ५८ सांसदको समर्थनमा गिरी मुख्यमन्त्री नियुक्त भएका थिए ।

८७ सांसद रहेको लुम्बिनी प्रदेशसभामा सरकारलाई नेकपा एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपाका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जसपाका ३, जनमत पार्टीका ३, लोसपाका ३ र स्वतन्त्र २ गरी ५८ जना सांसदले समर्थन गरेका छन् । लुम्बिनीमा नेपाली कांग्रेसका २७, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एकएक सांसद रहेका छन् ।