बुटवल, वैशाख १५ । बुद्ध जन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सुरु भएको छ । ‘लुम्बिनी, नेपालः भगवान् बुद्धको जन्मस्थल, बौद्ध धर्मको उद्गम भूमि तथा विश्व शान्तिको मुहान’ को मूल नाराका साथ यस वर्षको बुद्ध जयन्ती मनाइँदैछ । यहीँ २५६२ औँ बौद्ध जयन्तीको पूर्व सन्ध्यामा लुम्बिनीमै पहिलोपटक अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सुरु भएको हो ।
लुम्बिनीमा आयोजित एक विशेष समारोहमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको उद्घाटन गरेका छन् । त्यस अवसरमा मन्त्री अधिकारीले संसारका बुद्धिष्टको तीर्थस्थल लुम्बिनी भएको उल्लेख गर्दै बुद्धको विषयमा अन्तर्राष्ट्रिय क्षेत्रले अध्ययन र अनुसन्धान गर्ने थलो नै लुिम्बनी रहेको बताए ।
गुरुयोजना सुरु भएको झण्डै आधा सताब्दी पुग्नै लाग्दा पनि पूरा हुन नसकेको लुम्बिनीको बृहत्तर गुरुयोजना अबको ढाई वर्षमा पूरा हुने मन्त्री अधिकारीको भनाइ छ । अब कुनै पनि वहानामा यो गुरुयोजनामा ढिलाई स्वीकार्य नहुने मन्त्री अधिकारीले बताए । उनले बजेटको अभाव वा यस्तै कुनै वहानाले लुम्बिनीको गुरुयोजना प्रभावित हुन नहुने दोहो¥याएका थिए ।
केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री बनेका बेलामा दुई वर्ष अघि लुम्बिनी आएर लुम्बिनीलाई सरकारले पहिलो प्राथमिकतामा राखेको भन्दै गुरुयोजना छिटो सक्न निर्देशन दिएका थिए । उनै ओली अहिले दोस्रो पटक प्रधानमन्त्री बनेका छन् भने आज लुम्बिनीमा आउँदैछन् ।
अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमै प्रधानमन्त्री आउने कुरा भएपनि पछि संस्कृति तथा पर्यटनमन्त्री अधिकारीले आएका हुन् । मन्त्री अधिकारीले आफुहरुले तिलौराकोट, देवदह, रामग्राम र लुम्बिनी जस्ता बुद्धसँग सम्बन्धित क्षेत्रहरुलाई जोडेर ग्रेटर लुम्बिनीको अवधारणा अघि ल्याइएको बताए ।
अबको ढाई वर्षमा गुरुयोजना पूरा हुन्छ ः मन्त्री अधिकारी
