बिजयनगरमा पहिलो सन्तान छोरी जन्माउने परिवारलाई प्रोत्साहन

मेचीकाली संवाददाता

२३ माघ २०७९, सोमबार
230 shares

पार्वती आचार्य
कपिलवस्तु । कपिलवस्तु जिल्लाको दुर्गम मानिने बिजयनगर गाउँपालिकाले हरेक वर्ष उदाहरणीय कार्य गर्दै आएको छ । भौतिक पूर्वाधारदेखि लिएर लक्षित वर्गका उदाहरणीय कार्यक्रमहरु सौहाद्र पूर्ण रुपमा सम्पन्न गर्नुका साथै समाज परिवर्तन गर्ने कार्यहरुलाई पालिकाले जोड्दै गएको छ । गर्भमा छोरी छ भन्ने पहिचान हुना साथ गर्भमानै छोरीलाई हिंसा गर्ने प्रवृत्तिले पछिल्लो समयमा छोरीको संख्या कम हुँदै आएपछि छोरी बचाऔँ अभियानलाई प्रोत्साहन गर्न थालिएको बिजयनगर गाउँपालिकाका अध्यक्ष गोपालबहादुर थापाले बताए ।

छोरा जन्मिएपछि छोरीको वास्ता नगर्ने प्रवृत्ति समाजमा बढ्दै जाँदा पहिलो सन्तानको रुपमा छोरी जन्माउने परिवारलाई यस पालिकाले प्रोत्साहन गर्दै नगद रु. १५ हजार रुपैंया सिधै खातामा जम्मा गरिदिँदै आएको गाउँपालिकाका अध्यक्ष थापाले बताए ।
अधिकांश परिवारमा अहिले पनि छोरीलाई हेला गर्ने, छोरी हो भन्ने थाहा पाए गर्भमा नै भ्रुणहत्या गर्ने, जन्म दर्ता नबनाइदिने, नपढाउने, सानै उमेरमा विवाह गरिदिने प्रवृत्ति, विवाह दर्ता, नागरिकता नबनाइदिनेलगायतका समस्याहरुले मधेशका छोरीहरुले धेरै यातना भोग्दै आइरहेको गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीकुमारी चौधरीले बताइन् ।

यो गाउँपालिकामा यस्ता समस्या देखिएपछि पालिकाले ‘छोरी बचाऔं, छोरी पढाऔं’ भन्ने नारालाई अगाडि सारेको हो । मधेश–तराईका विभिन्न गाउँहरुमा अहिले पनि छोरी जन्मिए अनुहार अमिलो बनाउने परम्परा छ । समाजको ‘गलत संस्कार हटाउन नीति तथा कार्यक्रममै ‘छोरी बचाऔं, छोरी पढाऔं’ लाई प्राथमिकताकामा राखेर बजेट छुट्याई कार्यान्वयन गरिरहेको छ ।
अध्यक्ष थापाले भने,‘परिवारमा पहिलो छोरी जन्मे छोरीको खाता खोलेर बैंकमा १५ हजार जम्मा गरिदिने गर्छौ ।’ उक्त रकम छोरी बिस वर्ष पुगेपछि मात्र निकाल्न मिल्छ । पालिकाले ल्याएको यो नीतिले छोरी २० वर्ष पुगेपछि उच्च शिक्षालाई टेवापुग्ने पालिकाका अध्यक्ष थापाले बताए ।

अभिभावकलाई छोरीप्रतिको जिम्मेवारी बढाउनका लागि यो अभियान शुरु गरिएको हो । पालिकाबाट यो रकम प्राप्त गर्नका लागि विवाह दर्ता, नियमित खोप तथा स्वास्थ्य संस्थामा कम्तिमा ४ पटक स्वास्थ्य परीक्षण अनिवार्य र बर्थिंग सेन्टरमा बच्चा जन्माउन अनिवार्य गराइएको छ । यी प्रक्रिया पूरा गर्नेलाई मात्र पालिकाबाट सुविधा पाउने प्रबन्ध मिलाइएको उपाध्यक्ष चौधरीले बताइन् ।

‘पालिकाबाट रु. १५ हजार रुपैयाँ छोरीको नाममा राख्दा परिवारको तर्फदेखि रु.५ हजार थप गरेर जम्मा गर्नुपर्छ । त्यो रकम २० वर्ष अगाडि निकाल्न पाइँदैन । २० वर्ष सम्मको बचतले त्यो परिवारबाट छोरीले परिवारको मायाँ पाउने छन्, समाजमा लैंगिक विभेद कम हुने छ, रोक्न नसकिएको बालविवाह पनि कम हुने छ र समयमा जन्म दर्ता र नागरिकता बनाउन सहज हुनेछ । यति भएपछि छोरीहरुको भविष्य उज्वल हुनेछ भन्ने अपेक्षाका साथ गाउँपालिकाले उक्त अभियानको थालनी गरेको हो ।

आर्थिक वर्ष ०७८/०७९ देखि लागू गरिएको छोरी बचाऔँ, आभियानमा हालसम्म ९० जना लाभान्वित भएको बिजयनगर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञप्रसाद अधिकारीले जानकारी दिए । यस कार्यक्रम लागू भैसकेपछि नियमित गर्भजाँच र संस्थागत सुत्केरी हुनेको संख्यामा वृद्धि हुँदैसमेत गएको छ । यस्तै उपाध्यक्षसंग सुत्केरी कार्यक्रममा सुपानेट झुल , क्याल्सियम सिरफ, साबुन, घिउ, महलगायत आमा र बच्चाकालागि पोषण व्याग हस्तान्तरण गरिएको स्वास्थ्य शाखाले जनाएको छ ।

। छोरीलाई ६ कक्षादेखि स्कुल पोसाक, कपी व्यवस्थापन, कक्षा ९ मा अध्ययन गर्ने छोरीलाई साइकल र झोला यस्तै ११ कक्षामा अध्ययन गर्नेलाई साइकल, झोलालगायतको शैक्षिक सामाग्रीहरुको व्यवस्था पालिकाले गर्दै आएको अध्यक्ष थापाले बताए ।
यस्तै पालिकाअन्तर्गतका लौटन राम द्रोपदी मावि गणेशपुर, दुदाधारी मावि गुगौली र भुवनेश्वरी मावि जगदीशपुरमा कक्षा ११ र १२ मा अध्ययन गर्ने दलित छात्र छात्राहरुलाई पालिकाले निःशुल्क पढाउने व्यवस्था गरेको छ । यस विजयनगर गाउँपालिकामा यस्ता कार्यक्रमहरुले आगामी दिनहरुमा समेत निरन्तरता दिने गाउँपालिकाले जनाएको छ ।