कपिलवस्तुबाट १० कैदीबन्दी रिहा

मेचीकाली संवाददाता

८ फाल्गुन २०७९, सोमबार
206 shares

सुनिल आचार्य
कपिलवस्तु। ७३ औँ प्रतातन्त्र दिवसको अवसरमा कारागार कार्यालय कपिलवस्तुबाट १० कैदीबन्दीहरु रिहा भएका छन् । कारागारबाट विभिन्न मुद्दामा कैदी जीवन बिताउँदै आएका १० जना राम्रो चालचलन भएका कैदीबन्दीहरुलाई रिहा गरिएको हो । कारागारले कारागार बिभागमा र विभागले मन्त्री परिषद्मा लगेर राष्ट्रपति विद्यादेवी भण्डारीले कपिलवस्तुका १० सहित देशभरका कारागारबाट ३ सय ८१ जनालाई रिहा गरेकी हुन् ।

रिहा गर्न कारागार व्यवस्था विभागले देशभरका कारागारबाट नामावली माग गरेको थियो । कारागार कार्यालयले पठाएको नामावली मध्येबाट रिहा सूची बनाइएको थियो । उनीहरुले भु्क्तान गर्न बाँकी रहेको कैद सजाय मिनाहा पाएका हुन् ।
बिभिन्न मुद्दामा अदालतद्वारा तोकिएको ५० प्रतिशत सजाय भुक्तान गरेका कैदीहरुलाई कारागार व्यस्थापन बिभागको आदेशमा उनीहरुलाई छाडिएको कारागार कार्यालय कपिलवस्तुका जेलर मनोज सैनीले बताए । कारागारले ५० प्रतिशत सजाय भुक्तान गरेका १२ जनाको सिफारिस गरेर पठाइएकोमा १० जना रिहा भएको जेलर सैनीले बताए ।

रिहाइका लागि कैदीको चालचलन कैद भुक्तान अवधिलाई आधार बनाइएको थियो । रिहा भएकाहरुमध्ये कपिलवस्तुका ५ जना, रुपन्देहीका ३ जना र चितवन र कैलालीका एक एक जना रहेको कारागार कार्यालयले जनाएको छ । रिहा हुनेमा कत्तब्र्य ज्यानका ५, सवारी ज्यानका ४ जना र हातहतियार तथा खरखजाना मुद्दाका एक जना रिहा भएका हुन् ।
रिहा भएका कैदी बन्दीलाई कारागार भित्र रहेका अन्य कैदीबन्दीहरुले रिहा हुनेहरुलाई फूलमाला र अबिर लगाएर बिदाई गरेका थिए । रिहाइ हुने कैदीहरुलाई स्वागत गरी घरमा लैजान कारागार परिसरमा आफन्तहरुको भीड लागेको थियो । कैदीको अवधि बाँकी छँदै रिहा भएका कैदीहरु निकै खुशी भएका छन् ।

जेलर सैनीले रिहा हुने कैदीहरुलाई टिका लगाएर बिदा गरेका थिए । उनले आउने दिनहरुमा असल नागरिक भई काम गर्न आग्रह गरेका छन् । अनुशासित कैदी रिहा भएकोमा आफूलाई पनि सन्तुष्टी मिलेको बताउँदै जेलर सैनीले अनुसासनमा रही असल काम गर्न आग्रह गरेका थिए । कारागारको २ ब्लकमा अहिले ४ सय ६८ जना कैदी बन्दी छन् । राष्ट्रपति भण्डारीले विभिन्न अदालतबाट भएका कैद सजाय संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५९ बमोजिम प्रजातन्त्र दिवस २०७९ को उपलक्ष्यमा आम माफी गरिदिएकी हुन् ।