बुटवल । बुटवल–११ देवीनगरस्थित गार्गी एकेडेमीले विद्यालयबाट यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई)मा उत्तीर्ण विद्यार्थीहरूलाई शनिबार बधाई तथा सम्मान गरेको छ । परीक्षामा विद्यालयबाट ३८ जना विद्यार्थी सहभागी थिए ।
जसमध्ये ७ जनाले ए प्लस, १७ जनाले ए र १४ जनाले बी प्लस जीपीएसहित शत प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । विद्यालयका छात्र सुदीप पौडेलले ३.९ जीपीए ल्याएका छन् ।
कार्यक्रममा बोल्दै बुटवल उप–महानगरपालिकाका शिक्षा शाखा प्रमुख लोकराज पन्थीले रूपन्देही शैक्षिक केन्द्रको रूपमा विकास भएको बताए । उनले शैक्षिक विकासमा संस्थागत विद्यालयहरूको महत्वपूर्ण भूमिका रहेको बताए ।
कार्यक्रममा बुटवल–११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले विद्यालयले छोटो समयमा राम्रो नतिजा ल्याएको भन्दै आगामी दिनमा अझै राम्रो गर्दै जान शुभकामना दिए । विद्यालय सञ्चालक समिति अध्यक्ष रणबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्राचार्य मोहन खनाल, साधना महिला विद्यालयका प्रअ विष्णु गौतम, विद्यार्थीहरू सुदीप पौडेल, आस्मा खनाललगायतले बोलेका थिए ।
शिक्षा उपसमिति सदस्य जीवन अधिकारीको स्वागत तथा सहप्राचार्य भुवन अधिकारीको सञ्चालनमा कार्यक्रम भएको थियो । सो अवसरमा विद्यालयका शिक्षकहरूलाई पनि सम्मान गरिएको थियो । २०६८ सालमा स्थापना भएको विद्यालयले छोटो अवधिमा पनि उत्कृष्ट नतिजा ल्याउँदै आएको छ भने विद्यार्थीहरूको रोजाइमा पनि पर्दै गएको छ । विद्यालयका सञ्चालक लोकराज शर्माले गार्गी एकेडेमीलाई रुपन्देही नमूना विद्यालयका रुपमा स्थापित गर्ने गरी आफूहरू अभियानमा जुटेको बताए ।
गार्गी एकेडेमीमा विद्यार्थीलाई सम्मान
