बुटवल, । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश ५ र रोजगार सूचना केन्द्र श्रम कार्यालय बुटवलको आयोजना तथा बुटवल उद्योग वाणिज्य संघको आतिथ्यमा आइतबारदेखि बुटवलमा रोजगार मेला सुरु भएको छ ।
रोजगारदाता र कामको खोजिमा रहेका युवाहरुबीच सम्पर्क विकास गरी रोजगारी प्रर्वद्धन गर्ने उद्धेश्यले आयोजना गरीएको मेलामा यस क्षेत्रका उद्योगी र रोजगारका लागि इच्छुक युवाहरुले फारम भरी आफनो उद्योग व्यवसायका लागि आवश्यक जनशक्ति उपलब्ध हुने र सीप भएका युवाले रोजगारको अवसर पाउने बिश्वास गरीएको छ ।
बुटवल उद्योग वाणिज्य संघको सचिवालयमा दुई दिनसम्म चल्ने मेलाको आइतबार एक कार्यक्रमका बीच प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्रि लिला गिरीले उद्घाटन गरे ।
त्यसअवसरमा बोल्दै मन्त्रि गिरीले परम्परागत शैलीको उद्योग व्यापार र सीपले अहिलेको बजारलाई थेग्न नसक्ने भएकाले उद्योगलाई प्रविधि र जनशक्तिलाई सीपयुक्त बनाई बैदेशिक रोजगारमा जाने युवालाई स्वदेशमा नै कामको वातावरण बनाउनु पहिलो आवश्यकता भएको बताए ।
उनले प्रदेश नम्वर ५मा रहेका राजापुरको चामल उद्योग, बुटवलको धागो कारखाना र नवलपरासीको चिनी उद्योगलाई राम्रोसंग चलाएर सरकार आफैंले पनि रोजगारीका अवसरको निरन्तरता र नयाँको खोजी गर्नुपर्ने बताए । मन्त्री गिरीले यस क्षेत्रमा पर्यटनमा लगानी बढाउन उद्योगी व्यवसायीलाई र त्यसका क्षेत्रमा आवश्यक सीप लिएर दक्ष बन्न श्रमिक मजदुरहरुलाई आग्रह गरे । प्रदेश महासंघका अध्यक्ष गुणनिधि तिवारीले साना तिना सीपमूलक तालिम मात्र नभएर उद्योगका लागि चाहिने जनशक्ति तयार गर्न प्राविधिक विश्वविद्यालय खोल्न ढिलाई गर्न नहुने बताए ।
महासंघका केन्द्रिय सदस्य सुरेन्द्रप्रसाद श्रेष्ठले प्रदेश नम्बर ५ पर्यटन, उद्योग र कृषिका क्षेत्रमा धेरै सम्भावना बोकेको क्षेत्र भएकाले समृद्ध प्रदेश बनाउन आवश्यक नीति नियम बनाई लगानीको वातावरण बनाउन प्रदेश सरकारलाई आग्रह गरे ।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले उद्योगी र श्रमिकबीचको सम्बन्ध जति सुदृढ हुन सक्यो त्यत्ति नै उद्योगी र मजदुरले लाभ लिन सक्ने बताउँदै परम्परागत शैलीमा दुवैले परिवर्तन गर्नुपर्ने बताए । कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपाने, नवलपरासीका अध्यक्ष केशव भण्डारी, तिलोत्तमाका वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र कार्की, प्रदेशका उपाध्यक्ष दिपक पौडेल, बुटवलका कार्यकारी सचिव सञ्जय ज्ञवाली, उद्योगी विदुर ढुगांना, जिफण्टका प्रदेश उपाध्यक्ष डोलराज पौडेल, श्रम कार्यालयका प्रतिनिधि प्रकाश घिमिरेलगायतले बोलेका थिए ।
बुटवलमा रोजगार मेला सुरू
