बुटवल, । लुम्बिनी अञ्चल अस्पताल, बुटवलका व्यवसायिक सटरहरूको टेण्डर प्रक्रिया स्थगित भएको छ । सटरको टेण्डर प्रक्रियाको टुङ्गो प्रदेश सरकारबाट लगाउनु भनी स्वास्थ्य मन्त्रालयबाट सोमबार पत्राचार गरिएपछि टेण्डर प्रक्रिया भएको अस्पतालका मेडिकल सुपरीटेन्डन कृष्ण खनालले जानकारी दिए । अस्पतालले सार्वजनिक सूचना प्रकाशित गरी टेण्टर प्रक्रिया स्थगित गरेको जानकारी गराएको छ ।
यता अस्पताल विकास समितिले भने सटरहरूको टेण्डर प्रक्रिया स्थगित गरेकोमा विरोध गरेको छ । अस्पतालका अध्यक्ष रमेश खनालले अस्पतालको हितविपरीत मेसुले आफूखुसी सूचना टाँस गरी टेण्डर प्रक्रिया स्थगित गराएको आरोप लगाएका छन् ।
अस्पताल विकास समितिमा राजनीतिक नियुक्ती हुँदै आएको छ । राजनीतिक नियुक्तीमा आएकाहरु र मेसुका बीचमा यहाँ बेलाबेलामा मतभेदसमेत उत्पन्न हुँदै आएको छ । अहिलेको अस्पताल विकास समितिमा नेपाली कांग्रेस निकटका पदाधिकारी छन् ।
अस्पताल विकास समितिले गत जेठ २७ गते अस्पतालका व्यवसायिक सटर भाडामा दिने सम्बन्धी बोलपत्र आह्वान गरेको थियो । टेण्डर हाल्नका लागि असार २५ गते अन्तिम दिन तोकिएको थियो ।
अस्पतालका ६९ वटा व्यवसायिक सटरहरू छन् । सडकको क्षेत्राधिकारमा परेका कतिपय सटरहरुलाई भत्काएर पछाडि सारिएको छ भने कतिपय सटरहरु अस्पतालले भित्रपट्टी बनाएको सहायक सडकका कारण पहिले भन्दा खुम्चिएको अवस्थामा छन् । व्यवसायीहरुले लामो समयसम्म निर्माणका प्रक्रियाहरु चलेकाले आफुहरुको व्यवसायमा नकारात्मक प्रभाव परेको सामूहिक गुनासो गर्दै आएका थिए । राजमार्ग चौराहादेखि गोलपार्क सम्मको सडकलाई ६ लेनमा विस्तार कार्यले अस्पतालका सटरहरू काटिएका हुन् ।
दुई सय ४५ वटा टेण्डरका फारम विक्री भइसकेको र १२ वटा टेण्डर दर्ता भइसकेको विकास समितिका अध्यक्ष खनालले सोमबारै कार्यकक्षमा पत्रकार सम्मेलन गरेर जानकारी दिए । मन्त्रालयबाट आएको पत्रमा टेण्डर स्थिगित गर्ने विषय उल्लेख नगरेको उनको दाबी छ । मेसुले आफूखुसी गरेको उनको आरोप लगाउँदै उनले सार्वजनिक खरिद ऐन–२०६३ विपरीत भएको जिकिर गरेका छन् ।
तर मेसु खनालले सरकारको निर्देशन अनुसार सूचना टाँस गरी केही समयका लागि टेण्डर स्थगित गरेको बताएका छन् । ‘सरकारी अस्तालमा काम गर्ने भएकोले मैले सरकारको निर्देशन अनुसार टेण्डर प्रक्रिया स्थगित गरेको हुँ’ मेसु खनालले भने, ‘अर्को सूचना जारी नहुँदासम्मका लागि सटरहरुको टेण्डर स्थगित भएको छ ।’
अहिले बस्दै आएका व्यवसायीहरूको पुरानो टेण्डर अवधि आउँदो मंसिरमा पूरा हुने अस्पतालले बताएको छ । अस्पतालका व्यवसायिक सटरहरुलाई हरेक चार÷चार वर्षमा टेण्डर गर्ने प्रावधान अस्पतालले तोकेको छ । अवधि पुग्नुभन्दा ६ महिना अगाडि नै टेण्डर गर्नुपर्ने सार्वजनिक खरिद ऐन–२०६३ मा उल्लेख छ ।
स्वास्थ्य मन्त्रालयले देश प्रादेशिक संरचनामा अगाडि बढिरहेको अवस्थामा अञ्चल अस्पताल सञ्चालन गर्ने तथा सेवा थप गर्ने आधिकारिक दायित्व प्रदेश सरकारलाई स्वतः जाने भन्दै प्रदेश सरकार टेण्डर प्रक्रिया टुङ्गो लगाउन निर्देशन दिँदै अस्पतालको नाममा पत्र लेखेका छन ।
मन्त्रीका निजी सचिव भवनाथ खतिवडाले हस्ताक्षर गरेको उक्त पत्रमा प्रदेशको सामाजिक विकास मन्त्रालय र प्रदेश सरकारलाई बोधार्थ गराइएको छ । अञ्चल अपताललाई प्रदेश मातहतमा ल्याएर थप विस्तार गर्ने समेत तयारी भइरहेको बताइएको छ ।
आम्दानीका स्रोतमा मनपरी भएको गुनासो
अस्पतालका नाममा रहेको जग्गा वर्षेनी घट्दै र अतिक्रमण हुँदै आएपनि सम्बन्धित निकायले त्यसको खोजी गर्नेतर्फ चासो दिएको छैन् । सटरहरु पनि टेण्डर भर्ने अर्कै र त्यहाँ पसल व्यवसाय गर्ने अर्कै हुने गरेको र त्यसका लागि मोटो रकमको मोलमोलाई हुने गरेको बताइन्छ । अस्पतालले अहिलेका सटरबाट वार्षिक ६ करोड, ५९ लाख ६० हजार १६७ रूपैयाँ आम्दामी गर्दै आइरहेको विवरण सार्वजनिक गरेको छ ।
अस्पतालकै जग्गामा सडक किनारमा थुप्रै टहरा बनेका छन् भने अस्पतालको पश्चिम गेटै अगाडि पेट्रोल पम्पसमेत सञ्चालित छ । पम्पले भाडामा लिएको जग्गामा अहिले कैयौं पसले सटरहरु बनेका छन् । ति सटरहरुको महँगो भाडा अस्पताललाई नभई सोही पम्पका सञ्चालकलाई बुझाउँदै आएका छन् । कतिपय सटरहरुको यसैगरी किनबेच हुँदै आएपनि त्यतातिर सम्बन्धित निकायको ध्यान गएको पाइँदैन् ।
सहितको जग्गाबाट वार्षिक ८० लाख १ हजार ७१६ रूपैयाँ वार्षिक आम्दामी हुन्छ । टेण्डर स्थगित भएपछि अस्पताल विकास समिति र मेसुबीच द्वन्द्व बढेको छ ।
यस क्षेत्रकै पुरानो एक सय छ वर्ष पुरानो अस्पतालको विकास हुन सकेको छैन । १६ जिल्ला तथा भारतबाट समेत अस्पतालमा विरामीहरू उपचारका लागि आउने गर्छन ।