गंगौलियामा निःशुल्क आँखा शिविरः हजार बढीले लिए सेवा

मेचीकाली संवाददाता

२० फाल्गुन २०७९, शनिबार
479 shares

सुनिल आचार्य

कपिलवस्तु । बाणगंगा नगरपालिकाको वडा नं. ३ गंगौलियामा दुई दिने निशुल्क आँखा शिविर सम्पन्न भएको छ । मानव अधिकारकालागि युवा मञ्च कपिलवस्तुको आयोजना, बाणगंगा नगरपालिका वडा नं. ३ को आर्थिक सहयोगमा इन्सेक कपिलवस्तुको समन्वय र नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जद्वारा सञ्चालित छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगञ्जको प्राविधिक सहयोगमा निशुल्क शिविर सम्पन्न गरिएको हो ।

शिविरमा चिफ मेडिक डाइरेक्टर डा.सुलक्ष्मी कटुवालको संयोजकत्वमा वडा नं. ३ गंगौलियाका १ हजार २ सय ३५ जनालाई आँखा जाँच गराई निशुल्क औषधी वितरण तथा परामर्श गरिएको छ । यस्तै १ सय ६५ जना नागरिकहरुले मोतिया विन्दुको निशुल्क अप्रेसन सेवा लिएका छन् भने न्यून दृष्टिका लागि ४ सय ५ जनालाई निशुल्क चश्माको सेवा दिइएको अस्पत्तालका दृष्टि विशेषज्ञ शुसिल कार्कीले जानकारी दिए ।

यस्तै चिफ मेडिक डाइरेक्टर डा. कटुवालले फागुन १९ गते ७१ र २० गते ९४ जना गरी १ सय ६५ जना बिरामीहरुको अप्रेसन गरेका हुन् । १ हजार २ सय ३५ जनामा ७ सय ७३ जना महिला र ४ सय ६२ जना पुरुषले निशुल्क सेवा लिएका छन् । २ सय ५५ जना महिला र पुरुष १ सय ५० जनाले निशुल्क चस्मा प्राप्त गरेका छन् ।

सेवाग्राहीहरुले घर आँगनमै आएर सेवा दिएको भन्दै आयोजक तथा अस्पतालको प्राविधिक टोलीलाई धन्यवाद दिएका छन् । नगरपालिका वडा नं. ३ गंगौलिया स्थित लुम्बिनी भिजन कलेजमा सञ्चालन गरिएको शिविरमा नगरपालिकाका मेयर चक्रपाणी अर्याललले अप्रेसन गरेका बिरामीहरुलाई कालोचस्मा लगाइदिंदै नगर तथा वडाका आम नागरिकहरुको स्वास्थ्य जाँचका लागि पहिलो प्राथमिकता राखी बजेट बिनियोजन गर्ने बताए । मानव जातीको संसार देखाउने संवेनशील अंग आँखा भएको हुँदा यस बिषयमा आगामी दिनमा नगर प्रतिबद्ध रहेको बताए ।

वडा नं. ३ का वडा वडा अध्यक्ष टेकबहादुर झेंडी मगरले वडावासीहरुका लागि निशुल्क आँखा शिविर प्रभावकारी भएको बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रम तथा शिविरहरु आवश्यकताअनुसार सञ्चालन गर्ने प्रतिवद्धता जनाए । साथै आयोजक संस्था मानव अधिकारका लागि युवा मञ्च कपिलवस्तु, इन्सेक कपिलवस्तु तथा नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगञ्जको डाक्टरसहितको प्राविधिक टोलिप्रति हार्दिक धन्यवाद तथा हार्दिक आभार व्यक्त गरे ।

शिविरमा उपमेयर रिताकुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुषाल, स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेल, प्रशासन शाखा प्रमुख केशवराज भट्टराईलगायतले अनुगमन गरेका थिए । कार्यक्रम इन्सेकसँग आबद्ध मानव अधिकार समूह बाणगंगाका अध्यक्ष तथा मानव अधिकारका लागि युवा मञ्च कपिलवस्तुकी अध्यक्ष इन्दिरा पन्तले सेवा नै धर्म हो । वृद्ध र विपन्न परिवारका लागि टाढा जान नपरोस भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताइन् ।

कार्यक्रममा कार्यपालिकाका सदस्य कृष्णकुमार सुनार, वडा सदस्यहरु चन्द्रावती थारु, गंगादेवी सुनार, सोमनाथ राना, चिफ मेडिक डाइरेक्टर डा.सुलक्ष्मी कटुवालको प्राविधिक टाली, मानव अधिकारका लागि युवा मञ्चका सदस्य देवकला सुदेवी कमाललगायतको सहभागिता रहेको थियो ।