माथागढी गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

मेचीकाली संवाददाता

२० फाल्गुन २०७९, शनिबार
358 shares


नेत्र गैरे

पाल्पा । माथागढी गाउँपालिकाले गत आ.ब.२०७८÷०७९ र चालु आ.ब. २०७९÷८० को अर्धबार्षिक समयमा गाउँपालिकाले सम्पादन गरेका कामहरुको प्रभावकारीताका बारेमा सार्वजनिक सुनुवाइ गरेको छ ।


कार्यक्रममा गाउँपालिका अध्यक्ष यम बहादुर चिदीले गाउँपालिको सेवा प्रवाहलाई नागरिकमैत्री बनाउन सार्वजनिक सुनुवाइ गरेको बताए । उनले गाउँपालिकाको उपलब्ध स्रोत, साधनबाट कार्य सम्पादन गर्दा केही समस्या हुनसक्ने र त्यसको समाधानका लागि प्राप्त सुझावहरुलाई आगामी दिनमा लागु गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।


कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बिष्णुमाया लुङ्चे, प्रमुख प्रशासकीय अधिकृत दिनेश ज्ञवाली,विभिन्न विषयगत शाखाका प्रमुख तथा कर्मचारीहरुले सहभागीले उठाएका प्रश्न, सुझाव र जिज्ञासाको सम्बोधन गरेका थिए । उनीहरुले सेवा प्रभावकारी बनाउन र कमिकमजोरी हटाउन सार्वजनिक सुनुवाइ भएको बताए ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश ज्ञवालीद्धारा प्रस्तुत प्रतिवेदन उपर छलफल कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाले सार्वजनीक सुनुवाइ कार्यक्रमलाई पालिकामा मात्र सिमित नगरी आयोजना केन्द्रित पनि हुनुपर्ने बताउँदै वडास्तरबाट गरेपछी मात्र गाउँपालिकामा गर्नुपर्ने, नागरिक सहभागिता बढाउनुपर्ने सुझाव व्यक्त गरे ।


सार्वजनिक सुनुवाइमा बुद्धिजीवी परिषद्का नारायण प्रसाद अधिकारीले घर नक्साको अभिलेखीकरण गर्ने कार्यक्रम र जग्गाको वर्गीकरण तथा कित्ताकाँट गर्ने काम तथा बिद्यालयमा स्थानीय पाठ्यक्रमको पुस्तक विद्यार्थीले नपाएको बारे गुनासो गरे । त्यस्तै माथागढी २ का दामोदर घर्तीले कोल्डस्टोर कहिले सम्म सञ्चालन हुने ?े प्रश्न राख्दै स्थानिय तहले कृषिको क्षेत्रमा बिउ बिजन मात्र नभै कृषि यन्त्रको पनि व्यवस्था मिलाउनुपर्ने बताए ।


कृषि काममा बाँदर र दुम्सीले निकै सताएको भन्दै यसलाई गाउँपालिकाले कसरी समाधान गर्ने योजना बनाएको छ भन्ने प्रश्न वडा नम्बर १ का कृष्ण प्रसाद बस्यालले राखे । दिव्यज्योती माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक लोकेन्द्र थापाले देउगीर देखि माथागढी सम्म आउने बाटो स्तरोन्नति गर्नुपर्ने, अभिभावक विहिन बालबालिकाको जिम्मेवारी गाउँपालिकाले लिने कुराको कार्यान्वयन गर्नुपर्ने, गाउँपालिका भित्रका खेलाडीहरुलाई प्रशिक्षणको व्यवस्था गर्नुपर्ने, सुर्तीजन्य पदार्थलाई प्रतिवन्ध गर्नुपर्ने, विद्यार्थी खाजाको रकममा गाउँपालिकाले थप गर्नुपर्नेलगायतका सुझाव राखेका थिए । त्यस्तै वडा नं. १ का प्रेम बहादुर गाहा थापाले सडक देखी घरको दुरी कति राख्ने भन्ने बारेमा गाउँपालिकाले नीति बनाउनुपर्ने सुझाव व्यक्त गरे ।


सार्वजनीक सुनुवाइमा किसान माध्यमिक विद्यालयका प्रधानाध्यापक देवी प्रसाद बस्याल, पत्रकार माधव अर्याल, नेकपा एमालेका सन्तोष भट्टराई, नेपाली कांग्रेसका मधु पराजुलीले सार्वजनिक सुनुवाइ कर्मकाण्डी भएको, सर्वसाधारणको उपस्थिति कमजोर भएको, गाउँपालिका भित्रका खास समस्या उठ्न नसकेको, गाउँपालिकामा सञ्चालित योजना फर्छ्यौट गर्न गाह्रो अवस्था रहेको, मुल्यांकनको समस्या भएको, नागरिक उपभोक्ता समितिमा बस्नै नमान्ने अवस्था भएको बारे प्रश्न राखेका थिए ।

सार्वजनिक सुनुवाइको सहजीकरण नेतृत्व मिडिया प्रा.लि.का निर्देशक गोविन्द भट्टराई, पत्रकार विजयकुमार बौडेल र नेत्रप्रसाद गैरेले गरेका थिए ।