बुटवल, । बुटवल–११,देवीनगरस्थित दीपावली बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो दशौं स्थापना दिवस मनाएको छ । संस्थाले सोमबार पहिलोपटक स्थापना दिवस तथा तीज मिलन कार्यक्रम एकसाथ सम्पन्न गरेको हो ।
कार्यक्रमका बोल्दै महिला अधिकारकर्मी तथा साधना महिला विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सावित्रा अर्यालले सहकारीहरूले न्यून व्याजमा ऋण प्रवाह गरी विभिन्न समुदायहरूलाई राहत प्रदान गरेको बताइन् ।
उनले थोरै–थोरै भए पनि बचत गर्ने बानीको विकास गर्न आवश्यक भएको बताइन् । अर्यालले तीजलाई भड्किलो नभइ मौलिकताका रूपमा मनाउन सबै महिलाहरूलाई आग्रह गरिन् । कार्यक्रममा बुटवल–११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले दीपावली सहकारी स्थापनाको छोटो समयमा सफलता प्राप्त गरेको बताए ।
कार्यक्रममा पथ प्रदर्शक सहकारी संस्थाका अध्यक्ष चन्द्रमणि अधिकारी, चम्किलो कृषि सहकारी संस्थाका अध्यक्ष राजेन्द्र पाण्डे, जागृति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बेलप्रसाद पौडेल, सुभागमन बचत तथा ऋण सहकारी संस्थाका सचिव एवं साधना महिला विद्यालयका प्रधानाध्यापक विष्णु गौतम, संस्थाका सल्लाहकार जंगबहादुर शाह, बुटवल–११ का जनप्रतिनिधिहरू रणबहादुर थापा, माया दर्नाल ,सुस्मा अर्याल र साहित्यकार चतुभुज आत्रेयलगायतले बोलेका थिए ।
२०६६ सालमा स्थापना भएको सहकारीमा १ हजार शेयर सदस्य, ८ करोड बचत, डेढ करोड शेयर पूँजी र ८ करोड ५० लाख रूपैंयाँ ऋण लगानी गरेको संस्थाका कोषाध्यक्ष लोकराज शर्माले जानकारी दिए । सहकारीको आफ्नै भवन निर्माणाधीन अवस्थामा छ ।
संस्थाका अध्यक्ष चन्डीप्रसाद न्यौपानेको अध्यक्षता, उपाध्यक्ष पूर्णानन्द गिरीको स्वागत तथा सचिव कमल नेपालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा राष्ट्रिय सहकारी दिवसको अवसर पारेर रक्तदान गरेकाहरूलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो । साथै तीजगीतमा नाचगानसमेत गरिएको थियो ।
दीपावली सहकारीको दशौँ स्थापना दिवस
