अन्तराष्ट्रिय जातिय तथा रंगभेद उन्मुलन दिवसको अवसरमा अन्तरक्रिया

मेचीकाली संवाददाता

७ चैत्र २०७९, मंगलवार
274 shares

सुनिल आचार्य

कपिलवस्तु । ५८ औं अन्तराष्ट्रिय जातिय तथा रंगभेद उन्मुलन दिवसको अवसरमा कपिलवस्तुको तौलिहवामा अन्तरक्रिया गरिएको छ । बिभेद विरुद्धको साझा अभियान कपिलवस्तुको आयोजना , कपिलवस्तु नगरपालिकाको समन्वय तथा माहुरी होम कपिलवस्तु, ओरेक नेपाल, इन्सेक कपिलवस्तु, दलित सामाजिक बिकास केन्द्र, दलित महिला अधिकार निगरानी समूह, आईएनएफ, किर्डाक, फेडो लगायतको सहआयोजनामा कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथी संविधान सभा सदस्य विनोद पहाडीले अहिले पनि हाम्रो समाजमा जातिय विभेदको जरा गहिरो रुपमा रहेको बताए । पहाडमा जातिय विभेद मात्र छ भने मधेशमा जातिय विभेद , रंगभेद , लिंगभेद र आर्थिक विभेद चरम रुपमा रहेको बताउनु भयो । मुश्लिम , दलित र विपन्न परिवारका छोराछोरीहरुले अझै पनि अधिकार प्राप्त गर्न कठिनाई भएको उहाँले बताए । संविधान सभा सदस्य पहाडीले कानुन बनाएर मात्र यस्को अन्त्य गर्न नसकिने बताउँदै जातिय विभेदको अन्त्य गर्न व्यवहारिक रुपमा अभियान संचालन गर्न आवश्यक भएको भनाई छ ।

प्रदेश सांसद मधुशुधन शरण चौधरीले जातिय बिभेद तथा बिभिन्न हिंसाहरुलाई न्यूनिकरण गर्न शैक्षिक क्षेत्रलाई पहिलो प्राथमिकता दिनुपर्ने बताए । नेपालमा दुई जाती छन् ति हुन महिला र पुरुष भन्ने सोंच जब सम्म आम नागरिकमा आउँदैन तव सम्म बिभेद न्यूनिकरण गर्न कठिनाई भएको बताए । जातिय विभेद अन्त्य गर्न सबैको एक्ववद्धता हुन जरुरी भएको बताउँदै जातिय विभेद न्यूनिकरणका लागि आफ्नो तर्फबाट पूर्ण साथ सहयोग रहने प्रतिवद्धता जनाए ।

यसैगरी संबिधान सभा सदस्य शान्तिदेवी हरिजनले जातिय विभेदका कारण समाजमा धेरै हिंसाहरु भोग्नु परेको बताए । संबिधानमा दलितको अधिकारको व्यवस्था गरे पनि समाजमा भने समस्या जस्ताको त्यस्तै भएको बताउँदै जातिय विभेदको अन्त्य गर्न समुदायबाट आवाज उठान गर्नुपर्नेमा जोड दिए ।

यस्तै बाणगंगा नगरपालिकाका उपमेयर रिता कुमारी चौधरीले जातिय विभेद हाम्रो समाजले नै बनाएको हुँदा यसलाई न्यूनिकरण गर्न शिक्षामा जोड दिन आवश्यक भएको बताईन् । उनले बिभिन्न कामहरुको आधारमा समाजले विभेद गर्दै आएको बताउँदै संविधानमा उल्लेख गरे अनुसार आफ्नो हक अधिकार प्राप्ती गर्न धेरै संघर्ष गर्नुपर्ने बताईन् ।

कार्यक्रममा शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरीले पालिकाामा जातिय विभेद न्यूनिकरणका लागि लैंगिक समानता तथा सामाजिक समावेशीकरण निती निर्माण गरिएको बताए । आफ्नो पालिकामा जातिय विभेदको अभियान संचालन गर्ने र जातिय विभेदका कारण हिंसा हुन दिने छैन भन्दै प्रतिवद्धता जनाए ।

फातिमा फाउण्डेसनका अध्यक्ष रुकैया खातुनले राज्यले नै जातको आधारमा बिभिन्न विभेद गरेको बताईन् । संबिधानमा अधिकार उल्लेख गरिएको भए पनि दलित , मुश्लिम , विपन्न समुदाय शिक्षाबाट बञ्चित भएको दावि गरिन् ।

इन्सेक जिल्ला प्रतिनिधी पार्वती आचार्यले सरकारले बनाएका नितीलाई व्यवहारमा ल्याउन सके जातिय विभेदका कारण कुनै पनि नागरिकले विभेदपूर्ण हिंसा भोग्नु नपर्ने बताईन् । शिक्षा , स्वास्थ्य , लैंगिक विभेद , जातिय विभेदलाई न्यूनिकरण गर्न स्थानिय सरकार , विभिन्न संघ संस्थाहरुले अभियान संचालन गर्नुपर्नेमा जोडदिईन् ।

कार्यक्रममा गैरसरकारी महासंघ कपिलवस्तुका अध्यक्ष प्रविण कुमार श्रीवास्तले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै जातिय विभेद अभियान संचालन गर्ने प्रतिवद्धता जनाए । यसैगरी दलित सामाजिक बिकास केन्द्रका कार्यकारी निर्देशक रामशरण रैदासले ५८ औं अन्तराष्ट्रिय जातिय तथा रंगभेद उन्मुलन दिवस २०२३ को अन्तराष्ट्रिय नारा मानव अधिकारको विश्वव्यापी घोषणा पत्रको ग्रहण पछिका वर्षहरु जातिवाद तथा रंगभेद बिरुद्ध तत्काल संघर्षबारे अवधारणा पत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रम दलित महिला अधिकार निगरानी समूहका अध्यक्ष मिना परियारको अध्यक्षतामा , इन्सेक संग आवद्ध मानव अधिकार समूहका अध्यक्ष पुष्पा रेग्मीको स्वागत तथा अल्पशंख्यक अधिकार संरक्षणमञ्चका केन्द्रिय अध्यक्ष रविन्द्र नाथ ठाकुरको संचालनमा सम्पन्न कार्यक्रममा बिभिन्न संघ संस्थाका प्रतिनिधीहरु , समाजसेवी , बुद्धिजिवीहरु , संचारकर्मी र मानव अधिकारकर्मीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा लामो समय देखि लैंगिक समानता तथा समावेशीकरण, जातिय विभेद विरुद्धको अभियानमा योगदान पुराउँदै आउनु भएका इन्सेक संग आवद्ध मानव अधिकार समूह कपिलवस्तुका अध्यक्ष पुष्पा रेग्मी र अल्पशंख्यक अधिकार संरक्षण मञ्चका केन्द्रिय अध्यक्ष रविन्द्रनाथ ठाकुरलाई उच्च मूल्यांकन गर्दै सम्मान पत्रले सम्मान गरिएको थियो ।