बुटवलमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, तीनजना घाइते

मेचीकाली संवाददाता

१० चैत्र २०७९, शुक्रबार
92 shares

बुटवल । बुटवलमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । मृत्यु हुनेमा तिलोत्तमा नगरपालिका ४ बस्ने अन्दाजी २० वर्षीय आविस्कार टण्डन रहेको वडा प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिए ।

शुक्रबार बुटवल उपमहानगरपालिका–१० होराईजन चोकस्थित बुटवल–भैरहवा सडकखण्डमा बुटवलबाट भैरहवातर्फ जादै गरेको लु १ क ५३५ नम्बरको तिलोत्तमा क्याम्पसको बसले सोही दिशातर्फ गइरहेको टण्डन सवार लु ७२ प ७३९२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

बसको ठक्करपछि अनियन्त्रीत भएको उक्त मोटरसाइकल भैरहवाबाट बुटवलतर्फ आउँदै गरेका लु १७ प ३७६२ र लु १० प ६०२ नम्बरको मोटरसाइकलसँग ठोक्किन पुगेको प्रहरी निरीक्षक पौडेलले बताए । बसको ठक्करबाट गम्भीर घाइते भएका टण्डनलाई उपचारका लागी नजिकै रहेको चौराह अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

दुर्घटनामा लु १७ प ३७६२ नम्बरको मोटरसाइकल चालक तिलोत्तमा ७ बस्ने ३५ वर्षीय हुम बहादुर थापा, सोही मोटरसाइकलको पछाडि सवार सोही ठाउँकी ७० वर्षीया कैसरादेबि थापा र लु १० प ६०२ नम्बरको मोटरसाइकल चालक बुटवल १४ बस्ने ३५ वर्षीय नारायण पन्थ घाईते भएका छन् ।

घाईतेहरुको चौराहा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पौडेलले बताए ।