गुल्मीको धुर्कोटमा बोकाको तौल बढाउन संगिनी सुई !

मेचीकाली संवाददाता

१३ चैत्र २०७९, सोमबार
308 shares

बुटवल । सुन्दापनि अचम्म लाग्न सक्छ, परिवार नियोजनको अस्थायी साधन संगिनी सुई बोका, पाठालाई पनि लगाइन्छ भन्दा । बच्चाको जन्मान्तर कम गर्नका लागि महिलाले प्रयोग गर्ने तीन महिने यो सुई गुल्मीका किसानहरुले भने बोका, पाठालाई लगाइदिने गरेको पाइएको छ ।

तीन महिने संगिनी सुईले हर्मोनमा वृद्धि भई छिट्टै मोटो हुने भएपछि जिल्लाको धुर्कोट गाउँपालिकाका किसानहरुले बोका, पाठामा यस्तो सुईको प्रयोग गर्न थालेको खुलासा भएको हो । तीन महिने संगिनी सुई हर्मोनल साधन भएकोले मानव शरीरमा दीर्घकालीन असर पर्न जाने भन्दै पशुमा यो सुई प्रयोग नगर्न गाउँपालिकाले सोमबार सूचना नै जारी गरेको छ ।

गाउँपालिकाको वडा नम्बर १ नयाँगाउँ र वडा नम्बर ७ वाग्लाका निजी क्षेत्रमा काम गर्ने पशु प्राविधिक तथा ग्रामीण पशु स्वास्थ्य कार्यकर्ताहरूले बोका पाठालाई संगिनी सुई लगाइदिएको पाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थीले जानकारी दिए ।

‘संगिनी सुई लगाएका महिलाहरु मोटो हुने गर्छन् । खसीलाई पनि सुई लगाएपछि हर्मोनमा वृद्धि भएर छिट्टै मोटो हुने भएकाले सुई लगाएको देखियो ।’ गाउँपालिकाका पशु स्वास्थ्य प्राविधिक श्यामबहादुर कार्कीले भने । गाउँपालिकाले जारी गरेको सूचनामा आगामी दिनमा यस्तो कार्य गर्ने गराउने गरेको पाइएमा कानुनबमोजि सजाय हुने भन्दै संगिनी सुई लगाउन तत्काल रोक्न आग्रह गरिएको छ ।

संगिनी सुई एक हर्मोनल साधन हो । जसले महिलाको शरीरमा हुने हर्मोनलाई व्यवस्थित गरी गर्भ रहन दिँदैन । सुई लगाएपछि खसी मोटाउने बोसो धेरै हुने हुँदा किसानलाई फाइदा हुन्छ भन्ने भ्रम रहेको औषधी व्यवसायी बताउँछन् ।

तरकारीमा विषादी हाल्दा जनस्वास्थ्य प्रतिकुल असर पर्ने गरेको छ । यसरी खसी बोका, कुखुरा, राँगामा पनि तीन महिने गर्भनिरोध सुई लगाएर बिक्री हुन थाल्ने हो भने आम सर्वसाधरणको स्वास्थ्यमा दीर्घकालिन रुपमा कस्तो असर पर्ला ? सम्बन्धित निकायले सोच्न जरुरी छ ।

सूचना हेर्नुहोस्