गाउँमा बाथमुटुको समस्या धेरै

मेचीकाली संवाददाता

१५ चैत्र २०७९, बुधबार
170 shares

गुल्मी । गाउँमा बाथमुटुको समस्या भएका बिरामी धेरै भेटिन थालेका छन् । गौतम बुद्ध सामुदायिक मुटु अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर विशाल केसीले गाउँका शिविरहरुमा बाथमुटुको समस्या भएका धेरै बिरामीहरु फेला पर्ने भएकाले सचेतना आवश्यक रहेको बताए । गाउँमा परीक्षण नहुने भएकाले मुटु रोग लागेको जानकारी नहुने, उपचार राम्रो नहुने, उपचार गरेर निको हुने मुटु रोगको बारेमा पनि राम्रो सल्लाह नहुने समस्याका कारण बिरामीहरु धेरै देखिएको केसीले बताए ।

थमुटुको समस्या पहिचान भए उपचार निशुल्क हुने भएकाले स्थानीय सरकारहरुले विद्यालय तथा समुदायिक स्वास्थ्य सचेतना गराउने, स्वास्थ्य संस्थाहरुलाई अब्बल बनाउने, बिपन्नलाई निशुल्क परीक्षण र औषधीको व्यवस्था गर्न सुझाब दिए । उनले पालिकास्तरमा कम्तिमा मेडिकल अधिकृत मात्रै भएपनि धेरै रोगको प्रारम्भिक अवस्था पत्ता लाग्ने, समयमै रेफर हुने र उचित सल्लाह पाउन सकिने बताए । नसर्ने रोगमध्ये समुदायमा ठुलो समस्या बन्दै गएको मुटु र मृगौलाको समस्यालाई लाग्नै नदिन रोग च्याँपेर नबस्ने, खानपानमा र व्यायम ध्यान दिने र टन्सिलको समयमै उपचार गर्नुपर्नेमा जोड दिए ।

मालिका गाउँपालिकाले गौतम बुद्ध सामुदायिक मुटु अस्पताल, नेपाल नेत्रज्योति संघ, नेपाल हृदय रोग प्रतिष्ठानलगायतका संस्थाहरुसंग सहकार्य गरेर मुटु जाँच शिविरको आयोजना गरेको थियो । शिविरमा मुटु, मृगौला र नसर्ने रोगको निशुल्क परिक्षण गर्ने व्यावस्था रहेको थियो । मुटुको जाँचमा इको र इसिजी, पिसाब, रगतको जाँचहरु, छातीको जाँजसहित औषधी वितरण भएको गौतम बुद्ध सामुदायिक मुटु अस्पतालका प्रशासन प्रमुख कमल भण्डारीले जानकारी दिए । शिविरमा मालिकाका विभिन्न वडासँगै मदाने र धुर्कोटका नागरिकले पनि सेवा लिएका थिए । शिविरमा कुल एक हजार तीन सय ३४ जनाले सेवा लिएका छन् । शिविरमा तीन सय १७ जनाले इको, पाँच सय ९२ जनाले इसिजी, एक सय ६७ जनाले ल्याबको सेवा लिएका छन् । त्यस्तै ५९ जनाले पिएटी र अन्य रोगका सय जनाले सेवा लिएको मालिका गाउँपालिकाका स्वास्थ्य संयोजक बसन्त भुसालले जानकारी दिए ।

गाउँमै सेवा पाएपछि स्थानीय निकै खुसी थिए । धुर्कोट गाउँपालिका ७ का ८४ वर्ष ऋषिराम खनाल उच्च रक्तचाप र नशाको समस्या भएकाले फलोअपको लागि बेलाबेलामा काठमाण्डौ पुग्थे । उनले उमेर अनुसार धेरै टाढा यात्रा गर्न सकस हुने भएकाले समयमै जाँच गर्न पाएका थिएनन् । संयोगले मालिका गाउँपालिकाले मालिका गाउँपालिका–८ को सिमलटारीमा मुटु जाँच सम्बन्धी शिविर आयोजना ग¥यो ।

खनाल शिविरमा पुगेर स्वास्थ्य परीक्षण गराउन पाएपछि खुसी थिए । खर्च गरेर दुखका साथ काठमाण्डौ पनि पुग्नै परेन । मालिका गाउँपालिका–७ का ७७ वर्षीय भेषबहादुर लम्साल पनि शिविरमा पुगेर स्वास्थ्य परीक्षण गरे । टाउको र मुटु दुख्ने समस्याले लामो समयदेखि पीडित थिए । जिल्लामा विशेषज्ञ डाक्टर पाउन मुस्किल पर्छ । उनले गाउँमै आएको विशेषज्ञ डाक्टरसहितको शिविरमा इसिजी, इको र रगत परीक्षण गरे ।