लुम्बिनीमा महिला तथा पुरुष हाफ म्याराथन, ओलीले गरे शुभारम्भ

मेचीकाली संवाददाता

२३ चैत्र २०७९, बिहीबार
163 shares

बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीमा ‘शान्ति र समृद्धिका लागि खेलकुद’ नाराका साथ ‘लुम्बिनी पीस हाफ् म्याराथन प्रतियोगिता’ सुरु भएको छ । नेकपा एमालेका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनीस्थित शान्तिदीपमा बालेको दीप प्रशिक्षक तथा ओलम्पियन चन्द्रबहादुर गुरुङ, विमला राना र मोहन घलेलाई हस्तान्तरण गरेर प्रतियोगिताको शुभारम्भ गरे ।

अन्तराष्ट्रिय खेलकुद दिवसको अवसरमा मदन भण्डारी स्पोर्टस एकेडेमीले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा देशभरका दुई हजार पाँच सय ५० महिला तथा पुरुष खेलाडी सहभागी रहेको आयोजक संस्था मदन भण्डारी स्पोर्टस एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिए ।

मायादेवी मन्दिर प्रवेशद्वारबाट सुरु भएको म्याराथनका सहभागीले लुम्बिनी वरपर दुई फन्को मारेर २१ किलोमिटरको दूरी पूरा गर्नेछन् । प्रतियोगितामा प्रथम हुने पुरुष खेलाडीलाई एक लाख ५० हजार, दोस्रोलाई ७५ र तेस्रोलाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।

यस्तै महिलातर्फ प्रथम हुनेलाई एक लाख ५१ हजार रुपैयाँ प्रदान गरिने आयोजक संस्थाले जनाएको छ । दुवै विधामा दशौँसम्म स्थान प्राप्त गर्ने खेलाडीलाई पुरस्कार, प्रमाणपत्र तथा मेडल प्रदान गरिने बताइएको छ ।