बुटवल–नारायणगढ सडकः धमाधम कालोपत्र हुँदै

मेचीकाली संवाददाता

२३ चैत्र २०७९, बिहीबार
137 shares

नवलपुर । विस्तारका क्रममा रहेको पूर्वपश्चिम राजमार्गको बुटवल–नारायणगढ खण्डमा धमाधम कालोपत्र भइरहेको छ । गैँडाकोटको भेडाबारी क्षेत्रमा गरिएको परीक्षण सफल भएपछि कावासोती क्षेत्रमा हाल कालोपत्रको काम भइरहेको छ ।

सडक निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेशन लिमिटेडका ठेक्का व्यवस्थापक राजेश झाले हालसम्म तीन किलोमिटरभन्दा बढी सडक कालोपत्र गरिएको जानकारी दिए । ‘हामीले यस वर्ष २० किलोमिटरभन्दा बढी कालोपत्र गर्ने योजनाका साथ काम गरिरहेका छौँ,’उनले भने,‘गैँडाकोटको भेडाबारीबाट झराही खोला, रजहरमा दुई किलोमिटर क्षेत्र तथा देवचुलीको लोकाहाबाट कावासोतीको डण्डासम्म कालोपत्र गर्ने गरी काम अगाडि बढाएका छौँ ।’ अहिले कालोपत्र भइरहेको क्षेत्रबाहेक थप पाँच किलोमिटर सडक कालोपत्रको तयारी छ ।

सडक विस्तारका लागि निर्माण कम्पनीले एक हजारभन्दा बढी जनशक्ति तथा दुई सय बढी उपकरणको प्रयोग गरिरहेको झाले बताए । सडक विस्तारका लागि ८० टिपर, ३० एक्साभेटर, १३ सेट रोलर र १३ सेट ग्रेडर तथा डोजरसहितका उपकरणको प्रयोग गरिएको छ । डण्डास्थित अक्सपाल्ट प्लान्टबाट उत्पादित सामग्री लगेर कालोपत्रको काम भइरहेको छ । चालू आर्थिक वर्षभित्र ५० प्रतिशत काम सक्ने लक्ष्य रहेको भए पनि वर्षातलगायत कारण काममा ढिला हुनसक्ने ठेक्का व्यवस्थापक झाले बताए ।
बुटवल–नारायणगढ सडक विस्तार योजना पूर्वी खण्डका सूचना अधिकारी इञ्जिनियर धीरज ढकालले हालसम्मको प्रगति ३० दशमलव पाँच प्रतिशत रहेको बताए । हाल सो सडकमा कल्भर्ट निर्माणलगायत काम भइरहेको छ । उनले भने,‘मासिक तीन प्रतिशतभन्दा बढी प्रगति हुने गरी काम भइरहेको छ ।’

सडक विस्तारका लागि माटो फिलिङ गर्ने, बिजुलीको पोल सार्ने काम सँगसँगै भइरहेको छ । सडक विस्तारका लागि आवश्यक पर्ने माटो, ढुङ्गा, गिट्टीलगायत कच्चा पदार्थको समस्या छैन । माटो तथा ढुङ्गा, गिट्टीका लागि स्थानीय तहले सहयोग गरेका छन् । चार वर्षअघि विस्तारको काम सुरु भएको नारायणगढ–बुटवल खण्डको सहरी क्षेत्रमा चार लेनका अतिरिक्त दुई लेन तथा ग्रामीण क्षेत्रमा चार लेनमा राजमार्ग फराकिलो गरिँदै छ । दाउन्ने पहाडको पाँच किलोमिटर क्षेत्रमा भौगोलिक अवस्थाका कारण सडक तीन लेन विस्तार गर्ने गरी ठेक्का सम्झौता गरिएको छ ।

१५ पुल अन्तिम चरणमा
पूर्व–पश्चिम राजमार्गको बुटवल–नारायणगढ सडक खण्डमा छ ठूला र नौ साना पुलको निर्माण अन्तिम चरणमा पुगेको छ । पछिल्लो समयमा आयोजनामा सडकसँगै पुल निर्माणले पनि गति लिन थालेको हो । पश्चिम खण्डमा नौ ठूलो र २१ सानो पुल रहेका छन् । तीमध्ये तीन ठूला र १४ सानो सकिएको तथा दुई ठूलो र चार सानो सकाउने गरी काम भइरहेको आयोजनाका प्रमुख प्रदीपराज शाक्यले बताए । उनका अनुसार पूर्वी खण्डमा अहिले ठूला चार र साना पाँच पुल सम्पन्न हुने चरणमा रहेका छन् ।

आयोजनाले दाउन्ने खण्डमा भने पुल सुरु नगरेको र त्यहाँ वर्षा पहिले सुरु गर्न नहुने अवस्था रहेको प्रमुख शाक्यले बताए । वर्षा सकिएपछि त्यहाँका पुलको निर्माण सुरु गरिने योजना रहेको उनले जानकारी दिए । दुवै खण्डमा निर्माणाधीन पुलमा विभिन्न चरणमा काम भइरहेको छ । आगामी आवसम्म सडक र पुल दुवै सम्पन्न गर्ने लक्ष्य लिइएको छ । निर्माण गर्न बाँकी रहेकामा साना पुल बढी रहेका छन् । अहिलेसम्म ठूलाठूला पुलमा जगको काम भइसकेको छ । उनले भने, ‘पुलमा मुख्य गरी जगको काम भएपछि माथिल्लो भागमा समय धेरै लाग्दैन ।’ रासस