बुटवल, । स्थानीय तहहरुले गाउँ नगरलाई स्मार्ट सिटी बनाउने अभियान अघि सारेमा क्यान महासंघ सहकार्य गर्न तयार रहेको एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । स्थानीय तहहरुले गाउन् नगरलाई स्मार्ट सिटी बनाउने बताइरहँदा क्यान महासंघले आईटिको माध्यमबाट स्मार्ट सिटी बनाउन क्यानले सहकार्य गर्ने उनीहरुको भनाइ छ । कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान) रुपन्देहीको १७ औं वार्षिक साधारणसभामा बोल्दै क्यान महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष नवराज कुँवरले स्थानीय तहले स्मार्ट सिटी बनाउने योजना अघि सारेमा क्यानको विज्ञता र क्षमताका आधारमा महासंघ सहयकार्य गर्न तयार रहेको बताए ।
स्मार्ट सिटी बनाउनुभन्दा पहिले व्यक्ति र समाज नै स्माट हुनुपर्ने भन्दै उनले आइटीको प्रयोगबाट नै स्थानीय सरकारहरु सफल हुने बताए । सरकारले समेत आईटी क्षेत्रलाई तेस्रो प्राथमिकतामा राखेको भन्दै देशको समृद्धिको यात्राका लागि प्रविधिको अत्याधिक प्रयोग आवश्यक रहेको उनले बताए ।
क्यान महासंघका पूर्व अध्यक्ष विप्लवमान सिंहले सूचना प्रविधिलाई ग्रामीण क्षेत्रमा लैजान सरकार उदासिन रहेको भन्दै सरकारलाई दवाव र पहलका लागि दवाव दिन जरुरी रहेको बताए । सूचना प्रविधिलाई ग्रामीण क्षेत्रमा लैजान क्यानले बारम्बार सहकार्य गर्ने बताउँदै आएपनि सरकारकै कारण ग्रामिण क्षेत्रमा सूचनाको पहुँच नभएको उनको भनाइ छ ।
तिलोत्तमा नगरपालिकाका कार्यकारी प्रमुख कृष्णप्रसाद सापकोटाले सरकारले आइटीको विकासका लागि सुरुवात गरेको भएपनि त्यो प्रयाप्त नभएको बताए । स्थानीय सरकार गठन भएपछि प्रत्येक स्थानीय तहमा एउटा आइटी दरबन्दी दिएपनि त्यो प्रयाप्त नभएको उनको भनाइ छ । कार्यक्रममा क्यान महासंघ प्रदेश नं. ५ का अध्यक्ष ध्रुव शर्मा, क्यान महासंघ गुल्मीका अध्यक्ष कृष्ण खनाल, कपिलवस्तुका अध्यक्ष माधव घिमिरेलगायतले बोल्दै प्रविधिलाई अत्याधिक प्रयोग गरेर व्यवसायिक सफलता पाउन सकिने भन्दै सबै प्रणाली अब आइटी प्रणालीबाट सञ्चालन हुनुपर्नेमा जोड दिए ।
क्यानको वार्षिक साधारणसभाको उद्घाटन बुटवल योगिकुटीका जुम्ल्याहा दाजुभाइ लबकुस पन्थीले बनाएको रोवर्टबाट गरिएको थियो । सो अवसरमा उनीहरुलाई सम्मान पनि गरिएको थियो । क्यान रूपन्देहीका अध्यक्ष नारायणप्रसाद श्रेष्ठको अध्यक्षता, सहसचिव सुरेश भट्टराईको स्वागत, उपाध्यक्ष रामुदेव गौतमको धन्यवाद ज्ञापन तथा सचिव वीरबहादुर क्षेत्रीको सञ्चालनमा कार्यक्रम भएको हो ।
स्थानीय तहलाई स्मार्ट बनाउन सहकार्य गर्न तयार
