दाङमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, ३ घाइते

मेचीकाली संवाददाता

२ बैशाख २०८०, शनिबार
150 shares

बुटवल । दाङमा मिनिबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । मृत्यु हुनेमा बंगलाचुली गाउँपालिका ६ की ३० वर्षीया यमी घर्ती मगर रहेकी छन् ।

दुर्घटनामा गम्भीर घाइते भएकी मगरको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राजन कुमार गौतमले जानकारी दिए । घोराहीबाट बुटवलतर्फ आउँदै गरेको ना ४ ख ६९५० नम्बरको मिनिबस घोराही–लमही सडकखण्ड अन्तर्गत मसौटको घुम्तीमा शनिबार दिउँसो ब्रेकफेल भइ दुर्घटना भएको हो ।

त्यस्तै घाइते हुनेमा बसमा सवार मृतककी ५ वर्षीया छोरी आहाना घर्ती मगर, ऐरावती गाउँपालिका २ की सरस्वती आचार्य र लमही नगरपालिका ५ का सुरज बस्नेत रहेका छन् । घाइतेहरुकोको लमही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।