बुटवलमा खल्ती डिजिटल वालेटको ‘खल्ती हव’ शुभारम्भ

मेचीकाली संवाददाता

४ बैशाख २०८०, सोमबार
216 shares

बुटवल । खल्ती डिजिटल वालेटले बुटवलमा आफ्नो हबको औपचारिक उद्घाटन गरेको छ । ललितपुरको बखुन्डोलमा रहेको कर्पोरेट कार्यालय र काठमाडौंको कलङ्कीमा रहेको खल्ती हब बाहेक, खल्तीले पोखराको राष्ट्र बैंक रोडमा हब सञ्चालन पछि लुम्बिनी प्रदेश (सुवर्ण पथ, बुटवल) मा पहिलो पटक हव उद्घाटन गरेको हो ।

खल्तीले आफ्नो एप्लिकेसन, वेब च्यानल र हबको साथमा खल्तीले लुम्बिनी प्रदेशमा ८ हजार खल्ती पसल र नेपालभर ७० हजारभन्दा बढी खल्ती पसल मार्फत विभिन्न भुक्तानी सेवाहरू उपलब्ध गर्दै आएको छ ।

खल्ती प्रयोग गर्न जनतालाई सहयोग उपलब्ध गराउन खल्ती हब विस्तार गरिएको खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले बताए । खल्ती हबले सबै उपभोक्ता, एजेन्ट, व्यपारीहरूलाई खल्तीका कुनै पनि सेवाहरू जस्तै साइन अप र केवाईसी अपडेट, उपयोगिता बिल भुक्तानी, बैंक ट्रान्सफर, फ्लाइट, चलचित्र र इभेन्ट टिकट बुकिङ, र अन्य धेरै सेवाहरू प्रदान गर्ने उनको भनाई छ ।

‘क्षेत्रीय स्तरमा खल्ती हब स्थापना गर्नुको पछाडिको हाम्रो उद्देश्य भनेको हाम्रा प्रयोगकर्ता, एजेन्ट र व्यापारी साझेदारहरूलाई अझ राम्रो सेवा प्रदान गर्नु हो । खल्ती हबले सहज भुक्तानी र अन्य डिजिटल सेवाहरू कार्यान्वयन गर्न स्थानीय जनताको हितमा सेवा गर्नेछ ।’ उनले भने ।