मनाइयो जितगढी उत्सव (फोटो फिचर)

मेचीकाली संवाददाता

७ बैशाख २०८०, बिहीबार
289 shares

बुटवल । बुटवलको जितगढीमा बिहीबार जितगढी उत्सव मनाइएको छ । २०८ वर्षअघि नेपाल–अंग्रेजका बीचमा भएको युद्धमा नेपाली सेनाले वीरता र निडरताका साथ लडाइँ लडेर विजयको झण्डा फहराएको खुशीयालीमा जितगढी उत्सव मनाइएको हो ।
१८७२ वैशाख ७ गते जितगढी किल्लामा कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले अंग्रेज फौजलाई पराजित गरी नेपाली वीरताको इतिहास रचेको थियो । सोही सम्झनामा बुटवल उपमहानगरपालिकाले एक कार्यक्रमको आयोजना गरी जितगढी उत्सव मनाएको हो ।

उत्सवका अवसरमा जितगढी उत्सव मूल समारोह, गोरखादेखि पैदलयात्रामा आएको नेपाली सेनाको टोलीलाई स्वागत तथा पैदल यात्रा समापन कार्यक्रम भएको छ । बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, वडाध्यक्षहरु, पूर्वजनप्रतिनिधि, संघसंस्था तथा स्थानीयले गोरखाबाट पैदलयात्रामा सहभागी टोली र नेपाली सेनाका मध्यपश्चिम पृतनापतिसहितको टोलीलाई स्वागत र सम्मान गरेका थिए ।

बुटवल १ गणेशमन्दिरनजिकैबाट बाजागाजासहित शुरु भएको पैदलयात्रीसहितको विजय¥याली जितगढी किल्लामा पुगेको थियो । जितगढी किल्लामा आयोजित कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा प्रदेश सांसद भोजप्रसाद श्रेष्ठले जितगढी किल्ला अन्तरराष्ट्रिय स्तरमा प्रवद्र्धन गर्न जरुरी रहेको बताए । उनले जितगढी किल्लाले बुटवलको पहिचानलाई उच्च बनाउँदै लगेकोले किल्लाको संरक्षण र पर्यटन प्रवद्र्धनलाई उत्तिकै महत्व दिनुपर्ने बताए ।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलको जितगढी किल्लाको ऐतिहासिक र पुरातात्विक महत्वलाई स्थापित गर्दै पर्यटकीय स्थलको रुपमा विकास गर्ने बताए । उनले किल्लाक्षेत्र र आसपासको पर्यटनका साथसाथै पुरानो बुटवललाई समेत जोडेर पर्यटकीय स्थलको रुपमा विकास र प्रवद्र्धन गर्ने बताए ।
नेपाली सेनाका मध्यपश्चिम पृतिनापति यामप्रसाद ढकालले नेपाली सेना र नागरिकबीचको सम्बन्धलाई बलियो बनाउँदै युद्ध पर्यटनको रुपमा जितगढी किल्लाको प्रवद्र्धन गर्नुपर्ने बताए । एकीकरण मार्गसहित ऐतिहासिक धरोहरको जगेर्ना गर्ने, ऐतिहासिक एकीकरणको अभियानको सन्देशलाई भावी पुस्तामा हस्तान्तरण गर्ने र राष्ट्रिय एकताको भावना थप प्रगाढ बनाउने उद्देश्यले पदयात्रा गरिएको पृतनापति ढकालले बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले जितगढी किल्लाले बुटवलको गरिमा बढाएको बताउँदै पर्यटन प्रवद्र्धनमा समेत जितगढी किल्लाले महत्वपूर्ण भूमिका खेल्ने बताइन ।

कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, बुटवल उपमहानगरपालिकाका पूर्वप्रमुख शिवराज सुवेदी, अध्येता निर्मल श्रेष्ठ, उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उज्ज्वल कसजु, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेललगायतले बोल्दै जितगढी किल्लाको संरक्षण र पर्यटन प्रवद्र्धनमा भएको प्रयासले बुटवलले लाभ लिनसक्ने बताए ।

गोरखाबाट सुरु भएको नेपाली सेनाको गोरखा–जितगढी पदयात्रा बुटवलको जितगढीमा समापन गरिएको छ । गत चैत्र २८ गते गोरखादेखि राज्य एकीकरण मार्ग हुँदै विजय उत्सव मनाउन बैशाख ७ गते बिहीबार बुटवलको जितगढी आइपुगेको हो । गोरखादेखि जितगढीसम्म ५५ जनाको टोली रहेको र जिल्ला–जिल्लाका ३५ जना सेनाको सहभागितामा पदयात्रा गरिएको थियो । यात्रामा गोरखाको रिपुमर्दन गण, तनहुँको रुरु भैरव दल गण, काली भञ्जन गण, राजदल गण, स्याङ्जाको समरजित गुल्म, पाल्पाको दि फेमस महिन्द्र दल गण र रुपन्देहीको गरुड दल गण सहभागी थिए ।