बुटवल, । इजरायली प्रविधिको प्रयोग गरेर रुपन्देहीको सियारीमा तरकारी खेती सुरु गरिएको छ । सियारी गाउँपालिका वडा नम्बर–६ बर्दवामा सियारी कृषि फर्म स्थापना गरी व्यवसायिक रुपमा अर्गानिक तरकारी खेतीको शुरुवात गरिएको हो । रुपन्देहीका चार युवा व्यवसायी मित्रबन्दु न्यौपाने, कलाधर पाण्डे, दुर्गा पन्थ र क्षितिज भुसालले २० लाख लगानीमा व्यवसायिक तरकारी खेती गर्नुभएको छ । व्यवसायिक कृषि उत्पादनबाट पनि आम्दानी गर्न सकिन्छ भन्ने उद्धेश्यले ३ विघा जमिनमा व्यवासयिक तरकारी उत्पादनमा लागिएको उहाँहरुले बताउनुभयो ।
यातायात र बैंकर्स क्षेत्रका चारजनाले कृषिमा भविष्य देखेर लगानी गरेको बताउनुभयो । एक वर्ष अघिदेखि सुरु गरिएको उक्त ३ विघा जमिनमा अहिले करेला, बोडी र टमाटर उत्पादन भैरहेको छ । पाँच विघा जमिनमा तरकारी खेती र २ विघा जमिनमा बट्टाई चरा पाल्ने योजना रहेको सियारी कृषि फर्म सञ्चालक मित्रबन्दु न्यौपानेले बताउनुभयो । पहिलो सिजनमा नै ८० टन टामाटर, १० टन करेला र ११ टन बोडी उत्पादन गरी विक्री गरेको बताउनुभयो ।
सरकारले कृषिलाई प्रोत्सान स्वरुप सहुलियतमा ऋण र अनुदान दिने भनेपनि कुनैपनि सरकारी सहुलियत र ऋण नलिएको कृषि फर्म सञ्चालक न्यौपानले बताउनुभयो । स्वचालित थोपा सिंचाइको माध्याम र इजरायली प्रविधिबाट तरकारी उत्पादन गरिएको हो । सोंचे जस्तो तरकारी उत्पादन गरिए पनि तरकारीले बजार र मूल्य नपाएको उनीहरुको गुनासो छ । कृषि उत्पादनको राज्यले मुल्य निर्धारण गरी वजारीकरणको व्यवस्था गर्दिनुपर्ने कृषकहरुको माग छ । कृषि फर्म सञ्चालकहरुका अनुसार अर्गानिक तरकारी उत्पादन गरिए पनि भारतीय उत्पादनसँग अस्वस्थ्य प्रतिष्पर्दा गर्दा उत्पादन मुल्य भन्दा कममा विक्री गरिएको छ ।
टमाटर प्रति किलो १२, करेला प्रतिकिलो २७ र वोडी प्रतिकिलो ४० रुपैंयाँका दरले विक्री गरिएको छ । कृषी फर्महरुले सस्तो मूल्यमा तरकारी बजारमा पठाएपनि उपभोक्ताले महंगो मूल्यमा किन्नु पर्ने बाध्यकारी अवस्था छ । कृषि उत्पादक किसानहरुले मूल्य नपाउने, महंगो मूल्यमा उपभोक्ताले किन्नुपर्ने बाध्यता र विचौलीयाको हालीमुहालीलाई राज्यले रोक्नुपर्ने किसानहरुले माग गर्दै आएका छन् ।
रुपन्देहीमा कृषि उत्पादन फस्टाउने भएपनि लगानीको अभाव र राज्यबाट किसानहरुले सुहुलियत पाउन नसकेकाले समस्या झेल्नु परेको कृषक न्यौपानेले बताउनुभयो । यायातायात व्यवसाय छाडेर कृषि पेशामा लाग्नुभएका मित्रबन्दु न्यौपानेले ग्रिन प्लान्टअनुसार हाइटेक प्रविधिबाट विषादी प्रयोग नगरी उत्पादन गरिएको तरकारीले पनि बजार नपाएको गुनासो गर्नुभयो । उहाँले कृषिलाई राज्यले विद्युत्, पानी, सडकको समेत सहुलियत दिनुपर्ने बताउनुभयो ।
चारजना युवाको पहलमा व्यवसायिक तरकारी खेती
