चितवन–२ मा रवि लामिछाने भारी मतान्तरले विजयी

मेचीकाली संवाददाता

१२ बैशाख २०८०, मंगलवार
187 shares

बुटवल । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् ।

लामिछानेले ५४ हजार २७६ मत प्राप्त गरेर विजयी भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका जीत नारायण श्रेष्ठले ११ हजार २५१ मत पाए । लामिछाने र श्रेष्ठको मतान्तर ४३ हजार २५ रहेको छ ।

एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९३५ मत पाए । यसअघि कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले १४ हजार ९८८ र एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत ल्याएका थिए । उनले यसअघि गत मंसिर ४ गते ४९ हजार ३०० मत पाएका थिए । चितवन क्षेत्र नं. २ मा १० गते भएको निर्वाचनमा ७८ हजार २ सय ७७ मत खसेको थियो ।

सुशासनको एजेन्डामा टेकेर समृद्धि ल्याउँछौँः लामिछाने
चितवन–२ को उपनिर्वाचनमा भारी मतान्तरले विजयी भएका लामिछानेले सुशासनको एजेन्डामा टेकेर समृद्धि ल्याउने बताएका छन् ।

भारी मतान्तरसहित दोस्रोपटक चितवन–२ बाट विजयी भएका लामिछानेले सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिंदै जनताले खोजेको भष्ट्राचार नियन्त्रण र सुशासन भएकोले आफूहरुले मुख्य जोड त्यसैमा रहने बताए ।

उनले भष्ट्राचारसहित सरकारी संयन्त्र र जनताले अनुभूत हुने गरी सुशासन कायम गर्न लागिपर्ने बताए । आमअपेक्षा पनि यहीँ रहेकोले सोही अनुसार मत पाएको उनको दाबी छ । सभापति लामिछानेले अहिलेको सरकारलाई दिएको विश्वासको मतका बारेमा सोचेर सल्लाह गरेर पुनर्विचार गर्ने बताए ।