बुटवल,। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कमर्चारीले संघीयतालाई आत्मसात् नगर्दा मुलुकले गति लिन नसकेको बताउनुभएको छ । परिवर्तनको ठूलो उपलब्धी संघीयता कार्यान्वयनमा आइसकेको एक वर्ष पुग्न लाग्दासमेत सरकारी कर्मचारीहरूले संघीयतालाई आत्मसात् नगरेको भन्दै त्यस्ता कर्मचारीलाई निकालेर फाल्नुपर्ने प्रचण्डले बताउनुभयो ।
नेकपा, रूपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको शुभकामना सन्देश सभालाई संम्बोधन गर्दै अध्यक्ष दाहालले भन्नुभयो,‘प्रदेशमा कर्मचारीको दरबन्दी हुँदा केन्द्रका कर्मचारी आउन नमान्नु त्यसको उदाहरण हो । यस्ता कर्मचारीलाई निकालेर फालौ । नयाँ कर्मचारीहरू ल्यायौं ।’ दाहालले भन्नुभयो,‘संघीयतालाई सही कार्यान्वय गर्न कर्मचारीले सहि भूमिका खेल्नुपर्छ । अनि मात्र संघीयताले सोचेजस्तो गति लिन सक्छ । यो ऐतिहासिक अवसरलाई गुम्न दिनु हुँदैन ।’ उहाँले संघीयताको सफल कार्यान्वयन विना मुलुकको विकास नहुने भन्दै संघीयतालाई पूर्ण आत्ससाथ गरी काम गर्न कर्मचारीहरूलाई आग्रह गर्नुभयो ।
पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले अब सरकारको काम कारवाही अब तीव्र गतिमा जाने बताउनुभयो । केही व्यवधान र प्राविधिक कारणले सरकारले गति लिन ढिलाई भए पनि अब फूल ‘गेयर’ मा सरकारको गाडी गुडने उहाँको भनाइ छ । ‘सरकार गठन भएको बेला हिलो भयो । पिच गर्न पनि नपाइने । गाडी एक नम्बर गियरमा चल्यो । अब २÷३ नम्बर गियरमा चल्छ । फूल फलेज्डमा चल्नेवाला छ । कसैले रोक्न खोजेर रोकिँदैन ।’
सरकारले धेरै काम गरेको अध्यक्ष दाहालको दावी छ । ‘नेपाल रेल, हवाईजहाज, टेलिकम्युनिकेशनलगायतक कनेक्टीभिटीसँग जोडिँदै छ । हामीले हेर्दाहेर्दै देशमा रेल कुद्छ ।’ मुलुक अबको १० वर्षमा दक्षिण एसियाकै सम्पन्न देशको रुपमा अगाडि बढ्ने दाहालको दावी छ ।
अध्यक्ष दाहालले अहिले मुलुकमा आएको उपलब्धी १४ वर्ष कठोर कारावास र झण्डै १४ वर्ष वनबासबाट प्राप्त उपलब्धी रहेको बताउनुभयो । अध्यक्ष ‘प्रचण्ड’ ले भन्नुभयो,‘मुलुक परिवर्तन गर्नका लागि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले १४ वर्ष कठोर काराबास र मैले झण्डै १४ वर्ष जनयुद्ध (वनबास) बाट प्राप्त उपलब्धी हो । यो कुनै प्रतिक्रियावादीहरूले दया मायाले दिएको उपलब्धी होइन । लडेर रगत बगाएर हजारौ सहिदहरूको बलिदानीबाट खोसेर ल्याएको उपलब्धी हो ।’
दाहालले थप्नुभयो,‘तत्कालीन एमाले अध्यक्ष ओली जी र मैले कठोर अवस्थाको सामना गरेर यो अवस्था आएको हो । नेपाली जनताको हितलाई ध्यानमा राखेर हामी एक भएर ल्याएको हौं । यसलाई कसैले भत्काएर अर्को प्रक्रियावादी व्यवस्था ल्याउन चलखेर भए पनि त्यो सम्भव छैन ।’
अध्यक्ष दाहालले नेपाल अब हामीले विगत लामो समयदेखि भन्दै आएको भूपरिवेष्ठित राष्ट्र अब नरहेको बताउनुभयो । दाहालले भन्नुभयो,‘अहिलेको बलियो सरकार आएपछि नेपाल ‘ल्याण्ड लक’ रहेन । ‘ल्याण्ड लिक’ भयो । अब हामी भारतको मात्र भर पर्नु पर्दैन । अब कलकत्ता बन्दरगाहा मात्र होइन । विसखापटना, चीनका विभिन्न समुन्द्रसँग हामी जोडियौँ । हामी विश्वका सबै मुलुकसँग आयात निर्यात गर्ने चापी खुल्यो ।’ ‘अहिलेको बलियो सरकार नभएको भए नेपालको चापी खुल्दैनथ्यो’ दाहालले दावी गर्नुभयो ।
अध्यक्ष दाहालले पार्टी एकता तल्लो तहसम्म छिट्टै हुने शुभकामना सन्देश सभामा व्यक्त गर्नुभयो । एकता प्रक्रिया विवादले ढिलो भएको नभइ प्राविधिक कारणले लम्बिएको अध्यक्ष दाहालको भनाइ थियो । ‘पदीय भागबण्डाका कारणले ढिलो भएको होइन । व्यवस्थित, धैयतापूर्वक गर्नका लागि लम्बिएको हो,’ दाहालले भन्नुभयो ।
नेकपाका महासचिव विष्णु पौडेलले मुलुक अब समृद्धिको दिसामा अगाडि बढेको भन्दै त्यसलाई कसैलाई रोक्न नसक्ने बताउनुभयो । ‘दुई क्याप्टेनले उडाएको जहाजले मुलुकमा समाजवादी व्यवस्था र स्थायित्व ल्याएर छाडछ् ।’ महासचिव पौडेलले सरकारको टिकाटिप्पणी गर्ने समय नभएको बताउनुभयो । सरकार गठन भएको एक वर्ष पुगेको छैन । अहिल्यै सरकारको समिक्षा गर्ने समय भएको छैन । सरकार आम जनताका आधारभूत आवश्यकता पूरा गर्ने गरी अगाडि बढेको छ ।’
नेकपा प्रदेश पाँचका इन्चार्ज तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश नम्बर पाँचलाई मिनि नेपालका रुपमा विकास गरिने बताउनुभएको छ । हामीलाई काम गरेनन भनेर प्रचार गरिँदै छ । हामी सरकार र जनता जोड्न खोज्दै छौं ।’ दुई वर्षमा प्रदेश पाँचलाई जिडिपी दोब्बर बनाउने गरी आफूहरु लागेको पोखरेलको भनाइ छ । कार्यक्रममा स्थायी कमिटी सदस्य चक्रपाणि खनाल, छविलाल विश्वकर्मा, नेकपा प्रदेश पाँचका अध्यक्ष ओनसरी घर्ती, नेकपाका जिल्ला नेता शिवराज सुवेदी, निर्मल जिसीलगायत बोल्नुभएको थियो । कार्यक्रम बुटवल मण्डपमा आयोजना गरिएको थियो ।
संघीयता नमान्ने कर्मचारी हटाऔं ः दाहाल
