टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि राजमार्ग अबरुद्ध

मेचीकाली संवाददाता

२६ बैशाख २०८०, मंगलवार
115 shares

बुटवल । पाल्पामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि आक्रोशित आफन्तले सिद्धार्थ राजमार्ग अवरुद्ध पारेका छन् । मृतकका परिवारलाई क्षतिपूर्ति तथा दोषीलाई कारवाहीको माग गर्दै मंगलबार दिउसोदेखि तिनाउ गाउँपालिका–३, झुम्सामा राजमार्ग अवरुद्ध गरिएको हो ।

सोमबार तिनाउ गाउँपालिका–३, झुम्सामा टिपरले ठक्कर दिँदा मोटरसाइकल चालक गुल्मीको छत्रकोट गाउँपालिका–३, हर्दिनेटाका ३२ वर्षीय जीवन पन्तको मृत्यु भएको थियो । बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु १ क २६१४ नम्बरको टिपरले विपरित दिशाबाट आउँदै गरेको लु ४४ प ५८०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा पन्त घाइते भएका थिए ।

घाइते भएका उनको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक बीरन्द्र थापाले बताए । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ । राजमार्ग अवरुद्ध हुँदा गन्तव्यमा हिँडेका सयौँ यात्रु अलपत्र परेका छन् ।