गुल्मीको रेसुंगा विमानस्थलमा व्यावसायिक उडान सुरु

मेचीकाली संवाददाता

२९ बैशाख २०८०, शुक्रबार
291 shares

बुटवल । गुल्मीको रेसुंगा विमानस्थलमा शुक्रबारदेखि व्यावसायिक उडान सुरु भएको छ । रेसुंगा नगरपालिका–१० सिमिचौरमा निर्माण भएको विमानस्थलमा लामो समयपछि नेपाल एयरलाइन्सको नाइन एन एबिटी कल साइन जहाजले व्यावसायिक उडान सुरु गरेको हो ।

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार बिहान साढे ६ बजे उडेको निगमको जहाज बिहान साढे ७ बजे रेसुंगा विमानस्थलमा अवतरण भएको थियो । चालक दलका सदस्य बाहेक १४ यात्रु बोकेर रेसुंगा विमानस्थलमा अवतरण भएको जहाज काठमाडौं फर्किँदा पनि १४ यात्रु बोकेर फर्किएको विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर आयुशा कार्कीले जानकारी दिइन् ।
नियमित उडान भरेर पहिलो पटक रेसुंगा विमानस्थल आइपुगेका यात्रुहरुलाई रेसुंगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थी लगायतले स्वागत गरेका थिए । नगर प्रमुख पन्थीले आजदेखि सुरु भएको नियमित उडानपछि जहाज चढ्ने वर्षौँदेखिको गुल्मेलीको सपना पूरा भएको बताए । हाललाई सातामा एउटा उडान गर्ने गरी नेपाल एयरलाइन्ससँग सम्झौता गरिएको नगरप्रमुख पन्थीले जानकारी दिए । उनले यात्रुहरुको संख्याको आधारमा सातामा दुई उडान सञ्चालन गर्ने तयारी गरिएको बताए ।

अहिले रेसुंगा विमानस्थलबाट काठमाडौंसम्मको भाडा प्रतिव्यक्ति ६ हजार ३ सय रुपैयाँ तोकिएको छ । यसैगरी काठमाडौंबाट रेसुंगा विमानस्थलसम्म ६ हजार ५ सय रुपैयाँ भाडा तोकिएको छ ।
रेसुंगा विमानस्थलमा यसअघि तीन पटकसम्म परीक्षण उडान गरिएको थियो । २०७५ जेठ २५ मा तारा एयरले कच्ची धावनमार्गमा सफलतापूर्वक परीक्षण उडान गरेको थियो । त्यसको चारबर्षपछि गत २४ पुसमा पक्की धावनमार्गमा तारा एयरलेनै ‘डेमो फ्लाइट’ गरेको थियो । नियमित उडानको लागि सबै अवस्थाको जाँच गर्न नेपाल एरलायन्सले यहि बैशाख १५ मा सफल रुपमा परीक्षण उडान गरेको थियो ।

२०६३ सालदेखि निर्माण सुरु गरिएको विमानस्थल १६ वर्षपछि सम्पन्न भएको हो । बिमानस्थल निर्माणको लागि अहिलेसम्म करिव ३५ करोड खर्च भएको छ । ०६३ सालमा तत्कालिन संस्कृति तथा पर्यटन मन्त्री प्रदिप ज्ञवालीले शिलन्यास गरेको विमानस्थलमा ०७१ सालपछि मात्र निर्माणको कामले निरन्तरता पाएको थियो । स्थानीय १७ परिवारको बसाईं अन्यत्र सारेर विमानस्थल निर्माण गररिएको हो ।

१५६ रोपनी क्षेत्रफलमा फैलिएको विमानस्थलमा ५२० मिटर लम्बाई र २० मिटर चौडाइको धावनमार्ग रहेको छ । जहाँ १८ सिट क्षमताका साना जहाज मात्र उड्न र अवतरण गर्न सक्छन् । रेसुंगा विमानस्थल समुन्द्री सतहदेखि १ हजार ५२६ मिटरको उचाइमा पर्छ ।

अब जिल्लाबाटै जहाज चल्ने भएपछि गुल्मेलीले राहत महसुस गरेका छन् । विमानस्थल नियमित सञ्चालन भएमा जिल्लाको समग्र आर्थिक विकासले फड्को मार्ने तथा गुल्मीसहित छिमेकी जिल्ला अर्घाखाँची, प्यूठान, बागलुङ र पाल्पाका सर्वसाधरणले प्रत्यक्ष लाभ लिन सक्ने अपेक्षा गरिएको छ । यात्रु नहुने, भौतिक संरचनाको अभाव लगायतका कारणले नियमित उडानमा भने चुनौतिनै छ ।