बालअधिकार चेतना समूह रत्न राज्य लक्ष्मी माबिले बुझायो ध्यानाकर्षण पत्र

मेचीकाली संवाददाता

१२ जेष्ठ २०८०, शुक्रबार
145 shares

सुनिल आचार्य

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–१ स्थित रत्न राज्य लक्ष्मी माविमा इन्सेकद्वारा गठन भएको बाल अधिकार चेतना समूहका पदाधिकारीहरूले बिहीबार विद्यालयको समस्याहरूको पहिचान गरी नगरपालिका र वडा नं १ को वडा कार्यालयमा ध्यानाकर्षणपत्र बुझाएका छन् ।

बाल अधिकार चेतना समूहका पदाधिकारीहरुले जेठ ९ गते बैठक बसी बिद्यालयमा भएका समस्याहरुको पहिचान गरी नगरपालिका र वडा कार्यालयमा ध्यानाकर्षण पत्र बुभाउने निर्णय गरेको थियो ।

बाल अधिकार चेतना समूहका सदस्यहरुले ११ गते पेश गरेको ध्यानाकर्षण पत्रमा कक्षा ६ , ७ र ८ को स्थानिय पाठ्यपुस्तकको व्यवस्था गराउनु पर्ने , कक्षा ९ र १० मा गणित बिषयको शिक्षक नहुँदा पठनपाठनमा समस्या , सौचालयमा पानी र साबुनको व्यवस्था नभएको , कक्षा ९ मा क्षमता भन्दा बढी ११७ जना बिद्याथीहरु हुँदा गुणस्तरिय शिक्षा प्राप्त गर्न नपाउनुका साथै डेस्कबेञ्चको समस्या भएको उल्लेख गरिएको छ ।

यस्तै सरकारले निशुल्क वितरण गर्ने सेनेटरी प्याड गुणस्तरिय नहुनु , बिद्यालयमा खेलकुद सामाग्रीहरुको अभाव लगाएतका बिषयहरुमा छलफल तथा पहिचान गरिएको थियो । बिभिन्न अतिरिक्त क्रियाकलाप संचालन गर्नका लागि नगरपालिका समक्ष भलिबल सेट , व्याडमिन्टन , क्रिकेट व्याट , बास्केट बल , स्ट्याम्प लगायतका खेलकुद सामाग्री उपलब्ध गराई दिनुहुन बाल अधिकार चेतना समूह जोडदार माग गर्दछौ ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

ध्यानाकर्षण पत्र बुझाउँदै बाल अधिकार चेतना समूहका उपाध्यक्ष रिमा बेल्दारले आजका बालबालिका भबिष्यका कर्णधार भएको हुँदा बालबालिकाहरुको अधिकार सुनिश्चित गरिदिन नगरपालिका र वडा कार्यालय समक्ष आग्रह गर्नुभयो ।

यस्तै समूहका सदस्य सुन्दरी कुर्मीले बिद्याथीहरु प्रति शिक्षकहरुको पनि उत्तर दायित्व भएको हुँदा बिद्यार्थीहरुको भबिष्य प्रति संवेदनसिल हुन आवश्यक भएको बताउनु भयो । बिद्यार्थीहरुको गुणस्तरिय शिक्षाको लागि शिक्षकले आफ्नो कर्तव्य के हो भन्ने बिषयमा बुझ्न जरुरी भएको बताउँदै शिक्षकहरुमा पनि अनुसाशन हुनुपर्ने बताउनु भयो । बालबालिकाहरुले यस आर्थिक बर्षमा छात्रबृद्धि समेत नपाएको गुनासो गरेका छन् ।

मानव अधिकार समूहका सल्लाहकार पशुपत्तिमणि त्रिपाठीले जिल्लाको नाम चलेको बिद्यालयमा पछिल्लो समयमा शिक्षाको गुण स्तर खस्किदै आएको हुँदा यस बिषयमा नगरपालिका र अभिभावकहरुले सुधार गर्नुपर्ने बताउनु भयो । बिद्यालय भनेको बिद्याको मन्दिर हो यस क्षेत्रमा कसैले राजनिती गर्न नहुने बताउनु भयो ।

ध्यानाकर्ष पत्र बुझ्दै नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद अर्यालले बिद्यालय व्यवस्थापन समिती र प्रधानाध्यापकसंग समन्वय गरी बाल बालिकाहरुले दिएको ध्यानाकर्षण पत्रमाथि छलफल गरी समस्याको समाधान तर्फ लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

यसैगरी शिक्षा शाखा अधिकृत युवराज भुसालले शिक्षा शाखाले बिद्यालयलाई सरसफाईका सामाग्रीहरु , खेलकुदका सामाग्रीहरु नगरका सम्पूर्ण सामुदायिक बिद्यालयहरुमा पठाइएको बताउनु भयो । स्थानिय पाठ्यपुस्तकको केही दिन भित्र व्यवस्थापन गर्ने तयारी भएको र छात्रबृत्ति सम्पूर्ण बिद्यालयमा पठाई सकिएको बताउनु भयो । साथै गुणस्तरिय शिक्षालाई अगाडी बढाउन अनुगमन गरिरहेको र बिद्यालयलाई सुझाव दिंदै आएको अधिकृत भुषालले बताउनु भयो ।

यसैबिच बाल अधिकार चेतना समूहका पदाधिकारीहरुले वडा नं. १ को वडा कार्यालयमा मागदावी सहितको ध्यानाकर्षण पत्रपेश गरेका छन् । बाल अधिकार चेतना समूहका पदाधिकारीहरूको मागदावी सहितको ध्यानाकर्षण पत्रलाई सम्बोधन गर्दै बालबालिकाहरूको शिक्षामा परेको असरलाई समाधानका लागि बिद्यालय व्यवस्थापन समिती र प्रधानाध्यापक संग छलफल गरी समाधान तर्फ लाग्ने कपिलवस्तु नगरपालिका वडा नं. १ का कार्यवाहक वडा अध्यक्ष बिष्णु प्रसाद बारीले बालबालिकाहरु समक्ष प्रतिवद्धता जनाउनु भयो ।

श्री रत्न राज्य लक्ष्मी माबि १ नम्बर वडामा भएको हुँदा बिद्यालयको समस्या समाधानमा वडा कार्यालयले सरसफाई र खेलकुद र पाठ्यक्रमको लागि भोलि नै अनुगमन समेत गर्ने र बुँदा अनुसार समस्याको समाधान गर्ने बताउनु भयो । यसैगरी वडा सचिव सुवास गौतमले बिद्याथीहरुले माग गरेको बिषयमा वडा कार्यालयबाट यथोचित संबोधन हुने बताउनु भयो ।

बाल अधिकार चेतना समूहका उपाध्यक्ष रिमा बेल्दारकोे संयोजकत्वमा समूहका पदाधिकारीहरू, मानव अधिकार समूहका सल्लाहकार पशुपत्तिमणि त्रिपाठी , इन्सेक जिल्ला प्रतिनिधि पार्वती आचार्य , सञ्चारकर्मी सुनिल आचार्य लगायतको उपस्थिति रहेको थियो ।