अमृत गिरी
बुटवल । नेपाल विद्युत् प्राधिकरण बुटवल वितरण केन्द्रले सञ्चालन गरेको चुहावट नियन्त्रण अभियान प्रभावकारी भएको छ । गएका आवमा झण्डै १३ प्रतिशतमा रहेको चुहावटलाई चालू आवमा झण्डै चार प्रतिशतमा झारिएको केन्द्रले जनाएको छ ।
चुहावट नियन्त्रणअन्तर्गत यस क्षेत्रका तीन हजार ३८ जना ग्राहकहरु कारवाहीमा पनि परेका छन् । चालू आवमा भएको यो कारवाहीबाट झण्डै डेढ करोड रुपंैयाँ जरिमानामेत संकलन भएको छ । वितरण केन्द्रका प्रमुख सञ्जयकुमार मिश्रका अनुसार हुकिङ, डिमाण्ड चुहावट र मिटर चुहावट नियन्त्रणबाट यो संख्यामा ग्राहकहरु कारवाहीका परेका हुन् ।
सबैभन्दा धेरै डिमाण्ड चुहावट गर्नेहरु भेटिएको केन्द्रले जनाएको छ । डिमाण्ड चुहावट गर्नेको संख्या तीन हजार ३५ जना रहेको र तिनीहरुबाट मात्रै एक करोड ३९ लाख ७० हजार राजश्व संकलन भएको केन्द्रका आय शाखा प्रमुख खिमराज आचार्यले बताउनुभयो ।
अहिले केन्द्रले चुहावट नियन्त्रणसँगै ग्राहक वर्गीकरण सुधार अभियानलाई पनि प्रभावकारी बनाएको उहाँको भनाइ छ । जुन प्रयोजनका लागि भनेर विद्युत् मिटर जडान गरिएको हो, त्यही प्रयोजनमा प्रयोग नगर्ने उपभोक्तालाई ग्राहक वर्गीकरण सुधार अभियानअन्तर्गत कारवाहीको दायरामा ल्याइएको केन्द्र प्रमुख मिश्रको भनाइ छ ।
चालू आवमा यस्तो गर्ने ५० जना उपभोक्ता कारवाहीमा परेका छन् । उनीहरुले मासिक १० लाख रुपैंयाँसम्म राजश्व छली गरिरहेको प्राधिकरणले जनाएको छ । सुधार अभियानअन्तर्गत कारवाही गर्दा ती ५० जनाबाट २३ लाख दुई हजार सात सय ३६ रुपैंयाँ राजश्वसमेत संकलन भएको छ ।
प्राधिकरणले व्यापारिक, गैरव्यापारिक, ग्राहस्थ, गैरग्राहस्थ, औद्योगिक, खानेपानी, सिँचाइ, मनोरञ्जन, मठमन्दिर (धार्मिक स्थल) गरी १३ वटा वर्गमा ग्राहकलाई निर्धारण गरेर विद्युत् उपलब्ध गराएको छ । हालसम्म यी सबै वर्गमा गरी ५९ हजार पाँच सय ९१ ग्राहक रहेको प्राधिकरणको बुटवल वितरण केन्द्रका प्रमुख मिश्रले जानकारी दिनुभयो । उहाँले विद्युत् महशुल संकलन विनियामली–२०७३, अनुरुप बुटवल केन्द्रले अहिले ग्राहक वर्गीकरण सुधार अभियानलाई प्रभावकारी बनाइएको बताउनुभयो । वक्यौतामा ताकेता गर्नेदेखि महशुल नतिर्नेको लाइन काट्नेसम्मको अभियानलाई प्रभावकारी बनाइएको र महसुल संकलन पनि वृद्धि हुँदै गइरहेको उहाँको भनाइ छ ।
चालू आवमा यस्ता पाँच सय १७ जनाको लाइन काटिएको छ । त्यस्ता ग्राहकहरुबाट एक करोड १४ लाख ५७ हजार आठ सय ६१ रुपैंयाँ असुल भएको विगतका वर्षहरुमा एक वर्षमा संकलन हुने रकम भन्दा धेरै चालू आवको यो अवधिमा संकलन भइसकेको छ । यो अवधिमा ६३ करोड ९२ लाख १६ हजार तीन सय २० रुपैंयाँ संकलन भइसकेको लेखा प्रमुख मदन पौडेलले बताउनुभयो ।
सबैको सहकार्य चाहिन्छ ः प्रमुख मिश्र
सम्बन्धित निकाय र समुदायका अगुवाहरुले साथ दिने हो भने विद्युत् चुहावट न्यूनीकरण सम्भव छ । बुटवल वितरण केन्द्रको हकमा सबैको सहकार्यमा यस्तो अभियानलाई प्रभावकारी बनाउन सकिएको छ । यहाँ ट्रान्सफरमरहरूमा उपयुक्त क्षमताको क्यापासीटर बैंक जडान गर्नेदेखि नियमित निगरानी गर्नेसम्मका कामहरुलाई अगाडि बढाइएको छ । विद्युत् माग बढिरहेसँगै व्यवस्थापनका कामहरुमा पनि उत्तिकै ध्यान दिएका छौं । कतिपय स्थानमा अहिले पनि समस्या छन् तर समाधानको उपयुक्त विकल्प खोज्ने काम भइरहेको छ । विद्युत् र ट्रान्सफरमर स्वयंको कार्य क्षमतामा अभिवृद्धि हुने गरि अभियान चलाउने हाम्रो पनि तयारी छ । वितरण ट्रान्सफरमरहरूमा इलेक्ट्रिोनिक मिटर जडान गर्नेदेखि विपन्न वर्गका उपभोक्ताहरूलाई निःशुल्क मिटर जडान गर्नसम्मका कामहरु पनि यहाँ भएका छन् ।
बुटवलमा विद्युत् चुहावट नियन्त्रण प्रभावकारी बन्दै
on:
