मनसुनजन्य विपदबाट हुने जोखिम न्यूनिकरण गर्न छलफल

मेचीकाली संवाददाता

३० जेष्ठ २०८०, मंगलवार
229 shares

कपिलवस्तु : जिल्ला विपद् व्यवस्थापन समिति कपिलवस्तुको बैठक प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यको अध्यक्षतामा जिल्लाका सरकारी कार्यालय , सुरक्षा निकाय , स्थानियतह , राजनैतिक दल , संघ संस्थाहरु संगको समन्वय तथा सहकार्यमा सम्पन्न भएको छ । बैठकमा यस भन्दा अघिका बैठकका निर्णयहरुको समीक्षा गरेको छ ।

साथै प्रत्येक वर्ष जस्तै यस वर्ष पनि मनसुन तथा यसको संवेदनशीलतालाई मध्यनजर गर्दै यसको प्रकोपबाट हुन सक्ने सम्भावित क्षतिलाई न्यूनिकरण गर्ने प्रयास स्वरुप जिल्ला प्रशासन कार्यालय , जिल्ला स्थित सरकारी निकाय तथा विभिन्न संघ ÷संस्था संगको समन्वयमा तयार पारिएको “मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना २०८०“ को प्रस्तावित ढाँचालाई छलफलका क्रममा उठेका विषयहरु समेत समावेश गरी परिमार्जन सहित पारित गर्ने निर्णय भएको छ ।

“मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना २०८०“ को प्रभावकारी कार्यान्वयन गर्न सम्वद्ध सबै निकायहरु बीच आवश्यक समन्वय गरी तयारी अवस्थामा रहने तथा विपद् आइलागेको अवस्थामा तत्काल परिचालित हुने निर्णय भएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनु भयो ।

यस्तै मनसुनजन्य विपदबाट हुन सक्ने सम्भावित जोखिम न्यूनिकरण गर्न सबै स्थानीय तहहरुले स्थानीय स्तरमा योजनावद्ध ढंगले कार्य गर्ने तथा जिल्ला विपद व्यवस्थापन समितिसँग नियमित सम्पर्कमा रहने , अत्याधिक गर्मीका कारण जनजीवन तथा मानव स्वास्थ्यमा प्रत्यक्ष रुपमा असर पारिरहेको हुँदा अति आवश्यक काम बाहेक घर बाहिर ननिस्कने, प्रशस्त पानी पिउने लगायत गर्मीको मौसमबाट बच्ने उपायका बारेमा सबै पालिका, कार्यालय एवं संस्थाले जिल्ला वासीलाई सूसूचित गर्ने गरी आवश्यक व्यवस्था मिलाउने र यस सम्बन्धी समन्वय जिल्ला स्वास्थ्य कार्यालयले मिलाउने बैठकमा निर्णय भएको छ ।

विपदजन्य घटना घट्न नदिन तथा न्यूनीकरण गर्न संचार माध्यमहरुले आवश्यक प्रचार प्रसार गर्ने एवं जानकारी मूलक सूचनाहरु प्रचार प्रसार तथा प्रसारण गर्ने । विपदजन्य घटना घटेको खण्डमा तत्काल जानकारी गराउने । यस सम्बन्धी कार्यको संयोजन नेपाल पत्रकार महासंघले गर्ने , आ–आफ्नो पालिकाहरुमा विपद् जन्य सम्भावित घटना घट्न सक्ने अवस्थालाई मध्यनजर गरी विपद्का घटना भएमा तत्काल नजिकको प्रहरीलाई जानकारी गराउने ।

यसैगरी सुरक्षा निकायहरुलाइ अति आवश्यक भएको खोज तथा उद्दार सामाग्रीहरु उपलब्ध गराउन सबै स्थानीय तहहरुलाइ अनुरोध गर्ने र बैठक व्यवस्थापनमा सहयोग गर्नुहुने युएनएफपीए र नेपाल रेडक्रस सोसाईटी कपिलवस्तुलाई धन्यवाद दिने निर्णय लगाएत १५ वटा निर्णयहरु गरिएको छ ।

बैठकमा जिल्ला समन्वय समितीका प्रमुख बाबुराम आचार्य , कपिलवस्तु नगरपालिकाका मेयर सुदिप पौडेल , महाराजगंज नगरपालिकाका मेयर अब्दुल कलाम , बिजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापा , शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरी , यशोधरा गाउँपालिकाका अध्यक्ष शिवदयाल तिवारी , बिभिन्न राजनितीक दलका प्रतिनिधिहरु , जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रेम बहादुर बस्नेत , शसस्त्र प्रहरी प्रमुख जिवन केसी , गैर सरकारी महासंघका अध्यक्ष प्रविण कुमार श्रीवास्तव , युएनएफपीए , नेपाल रेडक्रससोसाईटी , इन्सेक लगाएतका बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।