रामबहादुर गन्धर्व
कपिलवस्तु, पुस । नेपालमा काम पाउन सकिएन भन्दै नेपाली भूमि छोडेर विदेशिने लाखौँ यु्वाहरुका लागि अर्घाखाँचीका ताराबहादुर विक नेपालमै केही गर्न सकिन्छ भन्ने गतिलो उदाहरण बन्नुभएको छ । अर्घाखाँचीको छत्रदेव नगरपालिका वडा नम्बर ८ का विक गाउँघरमै पाइने सामग्री र आफूमा भएको सिपको सदुपयोग गर्दै डाको बुनेर आत्मनिर्भर बन्नुभएको छ । बाँसका चोया र हँसिया छुरीसित दिन बिताउँदै उहाँले हजारौ किसानहरुको दैनिकीमा समेत टेवा पु¥याउँदै आफू पनि आत्मनिर्भरताको बाटोमा लागिरहेको बताउनुभयो ।
उमेरले ३८ वर्ष पुग्नुभएको ताराबहादुर दिनहुँ डोका बुन्नमा व्यस्त रहनुहुन्छ भने समय मिलाएरै उहाँ डोका बोकेर विभिन्न जिल्लाका गाउँगाउँका किसानका घरदैलोमा पुग्ने गर्नुभएको छ । एउटा डोको चार सयदेखि पाँच सय रुपैंयाँ सम्ममा विक्रि हुने गरेकोसमेत उनले बताउनुभयो । डोको बुनेरै उहाँले २ छोरी , १ छोरासहित श्रीमती,आफू र बृद्ध भएका बुवा गरी ७ जनाको परिवारको जीविका चलाइरहनुभएको छ ।
हरेक दिन हजारौँको संख्यामा विदेशिने युवा शक्तिहरुका बारेमा उनले नेपालमा केही गर्न चाहने र स्वदेशमै आत्मनिर्भर बन्न चाहने जो कोहीलाई पनि काम नपाएर खाली हात बस्न नपर्नेसमेत बताउनुभयो । आफू डोको बुनेर मात्रै सहज जीविका चालाएको भन्दै उहाँले अहिलेका शिक्षित र पढेलेखेका युवाहरु आफ्नै देशमा बसी काम गर्नुपर्ने बताउनुभयो । आफूले अनुमानित ५० देखि ६५ हजार सम्म मासिक आम्दानी गरको बताउँदै आवस्यक ज्ञान सिप र दक्षताका साथ आधुनिक किसिमले लाग्नेहरुले लाखौँ आम्दानी गर्न सक्नेसमेत उहाँको दावी छ ।