दश दिनसम्म ६ विधामा विभिन्न प्रतियोगिता गरेर सकियो होराइजन एसईई

मेचीकाली संवाददाता

२ असार २०८०, शनिबार
856 shares

बुटवल । न्यू होराइजन इङलिस बोर्डिङ स्कुल बुटवल–११ द्वारा आयोजित न्यू होराइजन उत्सव शुक्रबार सम्पन्न भएको छ । जेठ २३ गतेदेखि सुरु भएको उत्सवमा विभिन्न विधाका ६ वटा विधामा विभिन्न प्रतियोगिता भएका थिए ।

शुक्रबार प्रदेश खेलकुद विकास परिषद लुम्विनीका सदस्य सचिव जय प्रकाश भट्टराईको प्रमुख आतिथ्यता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र कसजूको अध्यक्षता र संस्थाका प्राचार्य लोकनाथ उपाध्यायको उपस्थितिमा सम्पूर्ण प्रतिस्पर्धाका विजेताहरूलाई पुरस्कृत गर्दै समापन गरिएको हो ।

उक्त कार्यक्रममा टि–१० क्रिकेटमा विजेता लुम्विनी वारियर्स र उपविजेता रेति इन्स्टिच्यूट टिमलाई क्रमशः २० हजार, १० हजार नगद, मेडल र प्रमाणपत्र सहित पुरस्कृत गरियो । त्यस्तै फूटसल प्रतियोगिताका विजेता सिद्धार्थ एफसी र उप विजेता भि–५ लाई पनि २० हजार, १० हजार प्रमाणपत्र, मेडल र ट्रफी सहित सम्मान गरिएको विद्यालयका प्लस टु संयोजक प्रकाश खनालले जानकारी दिए ।

यसैगरी हाजिरीजवाफ प्रतियोगिताका विजेता टिम बी स्क्वायर एस, टिम स्कर्लस कम्प्यूटर र टिम चुजनलाई क्रमशः प्रथम पुरस्कार १५ हजार, द्धितीय पुरस्कार १० हजार र तृतीय ५ हजार नगद तथा प्रमाणपत्र, कपद्वारा सम्मान गरियो । भिडियो मेकिङ प्रतिस्पर्धाका विजेतालाई नगर १० हजार र अन्य उत्कृष्ट पाँचलाई प्रोत्साहन पुरस्कार १ हजार का दरले पुरस्कृत गरियो ।
रोवोटिक्स वर्कसप अन्तर्गत प्रदर्शनीमा राखिएका उत्कृष्ट प्रोजेक्टहरूलाई विशेष सम्मान गरियो साथै समापन प्रतिस्पर्धा गायन तथा नृत्य प्रतियोगितामा प्रथम, द्वितीय र तृतिय हुने समूहलाई नगद १२ हजार, ८ हजार र ४ हजारका दरले प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो ।

१० दिनसम्म सञ्चालन भएका कार्यक्रमहरूको संयोजन प्रकाश खनाल, मनोज सिलवाल, प्रकाश पन्थ, लेखनाथ पन्त तथा रमेश रेग्मीले गरेका थिए । पूर्व अन्तर्राष्ट्रिय खेलाडी शक्ति गौचन उपस्थित रहेको संगीत उत्सव कार्यक्रममा निर्णायकको भूमिकामा लोकेन्द्र शाह, कल्पना कुसुम तथा विसाल श्रेष्ठ रहेका थिए । संस्थाका उपप्राचार्य बालकृष्ण भण्डारीको स्वागत मन्तव्य, प्रकाश गौतम र प्रकाश खनालको सञ्चालन रहेको कार्यक्रममा वक्ताहरूले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गर्ने अवसरहरू विद्यालयले निरन्तर रुपमा गरिरहेकोले उत्कृष्ट शैक्षिक नतिजासँगै अतिरिक्त क्रियाकलापमा पनि राष्ट्रमै अब्बल नतिजा हासिल गरिरहेको कुरा सम्बोधनमा बताएका थिए ।