सामूहिक सहकारीको बहुवर्षे रणनीतिबारे सुझाव संकलन

उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन पूर्वमुख्यमन्त्री गिरीको आग्रह

मेचीकाली संवाददाता

२ असार २०८०, शनिबार
157 shares

बुटवल, असार २ । २६ जना शेयर सदस्य र २६ सय शेयर पुँजीबाट २९ वर्षअघि सुरु भएको तिलोत्तमा स्थित सामूहिक विकास बचत तथा ऋण सहकारी संस्थाले दीर्घकालीन रणनीति तयार पारेको छ । सहकारीले उक्त रणनीतिका बारेमा शेयर सदस्यहरुका बीचमा सुझाव संकलनका काम सुरु गरेको छ ।

बित्तीय ऐन तथा सहकारीको ऐन नियममा रहेर सहकारीको कार्यक्षेत्र र लगानीका क्षेत्रका बारेमा आधारित रहेर दीर्घकालीन रणनीति तयार पारेको हो । शनिबार विस्तारित मञ्चको आयोजना गरि सहकारीले संस्थापक सदस्य तथा विभिन्न समिति, उपसमितिका अगुवाहरुका बीच दीर्घकालीन रणनीति प्रस्तुत गर्दै प्रारम्भिक चरणको सुझाव संकलन गरेको छ ।

उक्त कार्यक्रमको उद्घाट्न गर्दै लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका नेता लिला गिरीले प्रस्तवित रणनीतिमा कृषि उपजमा आधारित उद्योगको स्थापना र उत्पादनमूलक क्षेत्रमा लगानी गर्न आग्रह गरे ।

केही सहकारीमा उत्पन्न भएको समस्या र बचतकर्तामा देखिएको निराशाका कारण समग्र सहकारी अभियानमाथि नै प्रश्न उठेको र विश्वसनियता खोजिएको उल्लेख गर्दै पूर्वमुख्यमन्त्री गिरीले सहकारी संस्थाहरूको नियमन र सुपरीवेक्षणका लागि सरकारले यथाशीघ्र प्रभावकारी संरचना बनाउन जरुरी रहेकोमा जोड दिए ।

‘यस्तो संयन्त्र पहिल्यै बनाउनुपर्ने थियो, सरकारले पहिल्यैदेखि अपनत्व लिने र प्रोत्साहनका कार्यक्रम संगसंगै सञ्चालन गर्नुपर्ने थियो तर, त्यसतर्फ राज्यले बेलैमा ध्यान दिएन अब दिनुपर्नेछ’ नेता गिरीको भनाइ थियो ।


सहकारी संस्थाहरुले वित्तीय साक्षरता, वित्तीय पहुँच एवं वित्तीय समावेशीकरण, महिला सशक्तीकरण, लोकतान्त्रिक अभ्यास एवं सामाजिक पूँजी निर्माणमा धेरै ठूलो भूमिका खेलेको उल्लेख गर्दै नेता गिरीले अब आर्थिक सामाजिक विकासका काममा केन्द्रित हुन जरुरी रहेकोमा जोड दिए ।
कार्यक्रममा सहभागी सहकारीका अगुवाहरुले सहकारीले उत्पादनमा आधारित उद्योग, व्यवसायको स्थापना गरि आर्थिक तथा सामािजक विकासमा टेवा पु¥याउनुपर्ने र सोही माध्यमबाट गरिवी निवारण र रोजगारी सिर्जनामा मद्दत मिल्ने विश्वास व्यक्त गरेका थिए ।

सहकारीको अनुगमन, नियमन र सुपरीवेक्षण गर्ने राज्यको जिम्मेवार निकायले अब समाधानको उपाय खोज्ने र सहकारीमा रहेको रकमलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने वातावरण बनाउनुपर्ने सुझाव आएको सहकारीका अध्यक्ष सुरेन्द्र बर्माले जानकारी दिए । सहकारीले आगामी पाँच वर्षमा शेयर सदस्य संख्या २१ हजार र वार्षिक कारोबार ६ अर्ब र कार्यक्षेत्र जिल्लाभर पु¥याउने ५ वर्षे दीर्घकालिन रणनीति तयार पारी पारित गरिसकेको छ ।

अध्यक्ष बर्माले सहकारीको हालसम्मको यथार्थ अवस्थाका बारेमा प्रतिवेदन प्रस्तुत गरेका थिए । जसअनुसार उक्त सहकारी अब्बल रहेको र अबको रणनीति कार्यान्वयनमा भएमा यसक्षेत्रको उदाहरणीय सहकारी बन्ने आधार रहेको बताइएको थियो ।
सामूहिक विकास साकोसको आयोजनामा संस्थाका क्र.सं. १ देखि तीन सय सदस्यहरुको विचमा तथा सामूहिक विकास साकोसकाका पूर्व सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समिति, विभिन्न उपसमितिका पदाधिकारीहरु, एकिकरणमा सहभागी संस्थाहरु मणिप्रभा साकोस, सुर्यकिरण साकोस र द्रव्याञ्जली साकोसका तत्कालिन सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति र विभिन्न उपसमितिको जिम्मेवारीमा रहेकाहरुका बीचमा प्रारम्भिक चरणको सुझाव लिइएको सहकारीका सचिव मिनप्रसाद पोखरेलले जानकारी दिए । सुझाव संकलनका कार्यक्र विभिन्न चरण र विषयमा जारी रहने उनको भनाइ थियो ।

संस्थाको रणनीतिक व्यावासायिक योजना सन्दर्भमा संस्थाका कोषाध्यक्ष पार्थमणि आचार्यले रणनीतिक कार्ययोजना प्रस्तुत गर्दै सहकारीको कार्यक्षेत्र विस्तार, लगानीका क्षेत्र विस्तार र उत्पादनमूलक क्षेत्रमा भएको लगानीको प्रतिफल र सेयर सदस्यहरुको वित्तृविकास, सामाजिक उत्तरदायित्वलगायतका बारेमा विशेष योजना बनाइएको बताए ।

यसैगरी संस्थाका निर्वाचन निर्देशिकाका प्रावधानका विषयमा संचालक समितिका सदस्य तुलसीप्रसाद सापकोटाले र वित्तिय विवरणहरुको वारेमा संस्थाका प्रमूख कार्यकारी अधिकृत देवराज ज्ञवाली र कार्यक्रमको विषयवस्तुसहित स्वागत सहरीका शिक्षा तथा तालिम उपसमितिका संयोजक मिना भण्डारीले गरेका थिए । पहिलो चरणको कार्यक्रममा ३०० जना सदस्यहरुको उपस्थिति रहेको थियो भने करीव १५ जना सदस्यहरुले प्रस्तुत विषयमाथि सुझाव राखेको सहकारीका सूचना अधिकारी ईश्वरी मरासिनीले बताए ।

रुपन्देही जिल्ला कार्यक्षेत्र भई तिलोत्तमा नगरपालिका वार्ड नं. ३, शंकरनगरमा अवस्थित यो सहकारीमा हाल १० हजार शेयर सदस्य र करीव ३ अरव २५ करोडको वासलात रहेको छ । यो यसक्षेत्रको सबैभन्दा अब्बल सहकारीका रुपमा स्थापित भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड(नेफ्स्कून) को हालैको मूल्याङ्कनमा सामूहिक विकास सहकारी लुम्बिनी प्रदेशका चार हजार भन्दा बढी सहकारीमध्ये उत्कृष्ट सहकारी घोषित भई पुरस्कृत समेत भएको थियो ।