हरि शर्मा
परासी, पुस । परपुरुषसँग लागेको आशंकामा श्रीमती हत्या गर्ने एक व्यक्तिलाई पश्चिम नवलपरासी जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दघाट नगरपालिका–४, लक्ष्मीनगरका सुनिल चौधरी छन् । चौधरीले आफ्नी श्रीमती २२ वर्षीया कमला चौधरीलाई पुस ४ गते जंगलमा हत्या गरेर फालेका थिए । कमलाको माइती सोही नगरपालिका–११, गैडहवा हो । हत्या गरेकै दिनदेखि चौधरीले श्रीमती हराएको भन्दै स्थानीय सञ्चारमाध्यम र प्रहरी कहाँ निवदेन दिएका थिए । हत्या गरेर फालेको १४ दिनपछि बर्दघाट नगरपालिकाको चिसापानी जंगलबाट शव फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी (प्रहरी नायब उपरीक्षक) विरेन्द्र थापाले बताउनुभयो । उनको शव पुस १८ गते राती नग्न अवस्थामा प्रहरीले फेला पारेको होे । घाँस दाउरा खोज्न जाने क्रममा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । पात र झारले छोपेको अवस्थमा झाडीबाट शव बरामद भएको हो ।
दाउरा खोज्न जाने बहाना बनाएर चौधरीले श्रीमतीलाई जंगल लगेका थिए । कहिल्यै पनि जंगल नजाने चौधरीले हत्याको पूर्वयोजना नै बनाएर श्रीमतीलाई जंगल लगेको प्रहरी अनुसन्धानमा खुलेको छ । उनले श्रीमतीको घाँटी थिचेर हत्या गरेको प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो । प्रहरी अनुन्धानलाई प्रभावित बनाउन चौधरीले श्रीमतीका शरीरमा चिथोरेर लगाएका सबै कपडा च्यातेर फालेका थिए । शवलाई बलात्कार प्रकृतिको बनाएपछि प्रहरीले त्यसतर्फ केन्द्रीत हुने र आफू उम्किने योजना बनाएर श्रीमतीले लगाएका सबै कपडा च्यातेर फालेको चौधरीलाई उद्दृतगर्दै प्रहरीले जनाएको छ । शव शंकास्पद देखेपछि चौधरी माथि नै बढी सोधपुछ हुन थालेपछि उनले हत्या स्वीकार गरेका हुन् । हत्या गर्नुको मुख्य कारणमा श्रीमती अन्य व्यक्तिहरुसँग बढी बोलचाल गर्नेे गरेको आंशका प्रमुख रहेको प्रहरीले जनाएको छ । त्यस दिनपनि जंगलमा पुगेपछि श्रीमतीको मोबाइलमा अन्य पुरुषले फोन गरेको र कुरा गर्न खोज्दा नदिएपछि दुईबीच भनाभन भएको थियो । प्रहरीका अनुसार अनुसन्धानका क्रममा बरामद गरिएको मृतक चौधरीको मोबाइल कल डिटेलमा पनि विभिन्न समयमा अन्य व्यक्तिहरुसँग कुराकानी भएको देखिएको छ । सोही कारणले पटक पटक श्रीमान्÷श्रीमतीबीच झगडा हुने गरेको थियो । त्यसदिन पनि सोही व्यवहार देखेपछि चौधरीले श्रीमती हत्या गरेको बयान दिएको प्रहरीले जनाएको छ ।
परपुरुषसँग लागेको आशंकामा श्रीमतीको हत्या
on:
