भैरहवा, पुस । मृत्युपछि गरिने आँखा दानका लागि ५० जनाले आसयपत्र फारम भरेका छन् । मारवाडी युवा दिवसको अवसर पारेर मारवाडी युवा मञ्च भैरहवाको आयोजना, मारवाडी सेवा संघ र मारवाडी महिला मञ्चको सहआयोजना तथा नेपाल नेत्र ज्योति संघ लुम्बिनी, नेत्र विज्ञान अध्ययन संस्थान, रण अम्बिका शाह आँखा अस्पतालको प्राविधिक सहयोजमा भैरहवामा आयोजित आँखा दान तथा सचेतनामूलक कार्यक्रममा ५० जनाले आसयपत्रको फारम भरेका हुन् । पछिल्लो समय सिद्धार्थनगर क्षेत्रमा आँखाका बिरामीहरु बढ्दै गएको र मृत्युपश्चात् आँखा दान गर्नुपर्छ भन्ने धेरैलाई थाहा नभएकाले पनि मञ्चले त्यस सम्बन्धी जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरेको अध्यक्ष मनोज अग्रवालले जानकारी दिनुभयो । सहभागीहरुलाई आँखा बैंकका परामर्शदाता विजय कार्कीले आँखा दान, बचाउने उपाय बारे जानकारी गराउनुभएको थियो । उहाँले नानी स्वस्थ रहेको खण्डमा वृद्धवृद्धादेखि मधुमेह, जलविन्दु र अन्य विभिन्न अप्रेसन गरेकाहरुले पनि आँखा दान गर्न सक्ने जनाउनुभयो । रेविज, टिटनास, एचआइभी एड्स, हेपटाइटिस, विष सेवन, क्यान्सर लगायतका कारणले मृत्यु भएकाले भने आँखा दान गर्न नमिल्ने बताउनुभयो । उहाँले आँखालाई धुलोधुँवाबाट जोगाउनु पर्नेमा जोडसमेत दिनुभयो । कार्यक्रममा मारवाडी सेवा संघका पूर्वअध्यक्षहरु नरायणप्रसाद अग्रवाल र नन्दलाल गोयनकाले आँखा गुमाएकाहरुलाई मृत्युपछि दान गरेर भविष्य उज्यालो गराउन सकिने भएकाले सबैले त्यसतर्फ ध्यान सहयोग गर्नुपर्ने बताउनुभयो । युवाहरुले गरेको कार्य सहरानीय रहेको जनाउँदै उहाँहरुले आसयपत्रको फराम भर्नेहरुलाई धन्यवाद दिनुभयो । कार्यक्रममा सेवा संघका अध्यक्ष हेमन्त अग्रवाल, युवा मंचका पूर्वअध्यक्ष संदीप अग्रवाल, महिला मञ्चकी अध्यक्ष सरोज अग्रवाल र आँखा प्राविधिक मुकेश सिंहलगायतको आतिथ्यता रहेको थियो । कार्यक्रम संयोजक सुमित सात्स्वतको स्वागत तथा मञ्चका कार्यकारिणी सदस्य मोहित सेठियाको सञ्चालनमा सम्पन्न भएको थियो । युवा दिवसको अवसर पारेर मञ्चले साताव्यापी कार्यक्रमको आयोजना गरेको छ
मृत्युपछिको आँखा दानमा ५० जनाको आसयपत्र
