परासी, पुस । सैन्य अभ्यास लिएका विद्यार्थीहरुलाई बिदाई गरिएको छ । नेपाली सेनाको मातहतमा रहेको राष्ट्रिय सेवा दलमा आबद्ध भई प्रशिक्षण गरिरहेका लिटिल एञ्जेल्स हाई स्कुल परासीका ३६ विद्यार्थीहरुलाई शुक्रबार एक कार्यक्रमको आयोजना गरी बिदाई गरिएको हो । नेपाली सेनाले देशभर सञ्चालन गरेको ४५ औं ब्याजमध्ये पश्चिम नवलपरासीका तीन वटा विद्यालयमा प्रक्षिक्षण कार्यक्रम सञ्चालन गरिएको हो । बिदाई भएका प्रशिक्षार्थीहरु कोहलपुरमा हुने आधारभूत तालिममा सहभागी हुने स्कुलका प्राचार्य सूमनगोपाल आचार्यले जानकारी दिनुभयो । उनीहरुको पढाइमा बाधा नपुग्ने गरी प्रशिक्षणमा सहभागी गराइएको आचार्यले बताउनुभयो । प्रशिक्षार्थीहरुलाई नेपाली सेनाले प्रशिक्षण दिँदै आएको छ ।
प्रशिक्षार्थीहरुको बिदाई गर्दै कालिध्वज गण परासीका प्रमुख सेनानी सुजनबहादुर मल्लले युवाहरुलाई राष्ट्र सेवामा लाग्नका लागि अभिप्रेरित गर्ने उद्देश्यले प्रत्येक जिल्लामा रहेका विद्यालयहरुको छनौट गरेर विद्यार्थीहरुलाई प्रशिक्षणमा सहभागी गराउने गरेको जानकारी दिनुभयो । २०२९ सालदेखि नेपाली सेनाको निर्देशानलयले यो प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेको छ । प्रशिक्षार्थीहरुलाई आत्मरक्षासहित मानवीय उद्दारका लागि अपनाइनुपर्ने कलाका बारेमा प्रशिक्षण दिइएको थियो । आधारभूत तालिममा उनीहरुलाई हतियारबारे जानकारी र सामाजिक उद्दार कार्यमा खटिनेबखत अपनाइनुपर्ने कलासम्बन्धी थप जानकारी दिइने मल्ले बताउनुभयो । प्रशिक्षित विद्यार्थीहरु दैविक प्रकोप, विपद् व्यवस्थापनलगायत राष्ट्रलाई अकस्मात् आइपर्ने सामाजिक उद्दार र अन्य कामका लागि स्वयंसेवकका रुपमा परिचालन गरिने मल्ले जानकारी दिनुभयो । बिदाई कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष हरि शर्मा, प्याब्सनका पूर्वअध्यक्ष सुवर्ण न्यौपाने, अभिभावक अर्जुन क्षेत्रीलगायतले विद्यार्थीहरुको क्षमताका बारेमा प्रकाश पार्नुभएको थियो । त्यसक्रममा प्रशिक्षार्थी विद्यार्थीहरुले सैन्य अभ्यासका कौशल र सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।