बीपी गौतम
बुटवल, पुस । पानीसँगै आउने फोहोरको व्यवस्थापनका लागि सोह्र–छत्तीस नहरमा जाली राखिएको छ । फोहोरका कारण किसानहरु पीडित भएपछि तिलोत्तमा नगरपालिकाले समाधानको प्रयासस्वरुप नहरमा जाली राखेको हो । केही दिनअघि छत्तीस नहरको योगिकुटीमा राखिएको जालीमा फोहोर रोकिन थालेको छ ।
सोह्र नहरमा पनि यस्तै प्रकारको जाली राखिने नगरपालिकाले जनाएको छ । जालीमा रोकिने फोहोरको नहरबाटै व्यवस्थापन गरिने छ । प्रभावकारिताको मूल्यांकनसँगै अन्य स्थानमा पनि जाली राखेर किसानको खेतसम्म पुग्ने गरेको फोहोरलाई नहरबाटै व्यवस्थापन गरिने नगर प्रमुख बासुदेव घिमिरेले बताउनुभयो ।
रुपन्देहीकै ठूलो सोह्र–छत्तीस नहरबाट तिलोत्तमा नगरपालिकामा सिंचाइ सुविधा पुगेको छ । किसानहरुको आफ्नै व्यवस्थापन र बाहुबलबाट सञ्चालन हुँदै आएको यो दक्षिण एशियाकै नमूना सिँचाइ प्रणाली हो । बढ्दो सहरीकरणसँगै नहर प्रदूषित हुँदै जाँदा नगरपालिकाले जालीको उपाय निकालेको हो । खासगरी बुटवलबाट आउने फोहोरबाट तिलोत्तमाका किसानहरु लामो समयदेखि निकै पीडित छन् । नहर अतिक्रमण पनि उत्तिकै छ ।
नहरबाट पानीसँगै किसानको खेतमा विभिन्न प्रकारका फोहोर पुग्ने गरेका छन् । ‘फोहोर यस्तोसम्म आउँछ कि ढुक्कले खेतमा पस्न पनि सकिँदैन ।’ तिलोत्तमा वडा नं. १ का किसान श्रीधर पौडेलले भन्नुभयो,‘खेतमा सुँई, सिरिन्जसमेत भेट्टिन्छन् । प्लाष्टिकजन्य फोहोर त यतिधेरै आउँछ कि त्यसको कुनै लेखाजोखा नै छैन ।’ प्लाष्टिकजन्य फोहोर, कपडाले शाखा कुलाहरु ढाकिएका छन् ।
नगरपालिकाले फोहोर रोक्न नहरमा फलामे जाली राखेको हो । जाली नहरको झण्डै आधा उचाइम्म राखिएको छ । जालीले रोकेको फोहोरलाई समय–समयमा व्यवस्थापन गरिने नगरपालिकाले जनाएको छ । जाली राखेर फोहोर रोक्ने नगरपालिकाको प्रयासलाई किसान तथा जानकारहरुले सकारात्मक रुपमा लिएका छन् । तिलोत्तमा–८, ज्योतिनगर निवासी वातावरणविद् युवराज कँडेलले सामाजिक सञ्जालमा जालीमा जम्मा हुने फोहर निकालेर, वर्गीकरण गरेर बिक्री गर्नुपर्ने तथा कुहिने फोहरलाई कम्पोस्ट मल बनाउनुपर्ने उल्लेख गर्नुभएको छ ।
यस्तै तिलोत्तमा–७, सेमरा निवासी किशोर पन्थीले फोहोर रोक्ने नगरपालिकाको उपाय सकारात्मक रहेको बताउनुभएको छ । नहरमा फोहोर बढ्दै गएपछि यहाँ सरसफाइ अभियानसमेत सञ्चालन गरिएको छ । ‘ग्रीन तिलोत्तमा ः क्लिन तिलोत्तमा’ भन्ने नाराका साथ तिलोत्तमा नगरपालिकाले नियमित नगर सरसफाइ अभियान सञ्चालन गर्दै आएको छ । सिंचाइ सम्बद्ध संघसंस्थाले पटक–पटक बुटवल उप–महानगरपालिकासँग प्रदुषण नियन्त्रणका विषयमा समन्वय गर्ने प्रयत्न गर्दै आए पनि त्यो सार्थक नभइरहँदा किसानहरुकैं आग्रहमा नगरपालिकाले जाली राखेको हो । फोहरका कारण खेतीयोग्य जमिन प्रदूषित हुँदा उत्पादनमा ह्रास आएको किसानको गुनासो छ ।
तिनाउ नदीको पानी आउने यो नहरमा कन्नेढुंगा र इँटियाभोटमा मुख्य बाँध रहेका छन् । पाल्पाको बायाँक्षेत्रबाट बहँदै आएको माडी खोला र दायाँक्षेत्रको बल्डेङगढीबाट बहँदै आएको कचल खोला मिसिएर पाल्पाको दोभान भएपछि तिनाउ नदी बन्दछ । बुटवलसम्म आइपुग्दा तिनाउ नदीमा करिब दुई सय खोला, नाला, खोल्सा, खहरे र मूल मिसिने बताइन्छ । यो नदी हिउँ पग्लेर हिमनदीको रूपमा आइपुगेको नभई मूल फुटेर बहेका ससाना मुहान, खोल्साखोल्सी र खोलाहरूको समुच्च रूप हो । आजभन्दा करिब डेढ सय वर्षभन्दा अगि खनिएको यो कुलो कालान्तरमा स्रोह–छत्तीस मौजामा वितरित भएकाले हालसम्म पनि यस प्रणालीको नाम ‘सोह्र–छत्तीस मौजा सिंचाइ प्रणाली’ भनेर चिनिन्छ ।
फोहोर रोक्न तिलोत्तमाले लगायो नहरमा जाली
on:
