रूपन्देहीबाट ठूलो परिमाणमा सुन बरामद

मेचीकाली संवाददाता

११ असार २०८०, सोमबार
114 shares

बुटवल । रूपन्देहीबाट शसस्त्र प्रहरीले ठूलो परिमाणमा सुन बरामद गरेको छ । आइतबार शसस्त्र प्रहरीले सुन जस्तै धातु भनेर भैरहवा भन्सार, कार्यालयमा बुझाएको २ थान धातु सुन ठहरिएको हो । भन्सार कार्यालयलाई बुझाइएको धातु जाँचगर्दा सुन ठहर भएको शसस्त्र प्रहरी सीमा सुरक्षा गुल्म, डण्डाका शसस्त्र प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए ।

रुपन्देहीको नेपाल–भारत सीमा नाकामा शसस्त्र प्रहरीको चेकजाँचका क्रममा सुन जस्तै धातु वस्तु बरामद गरी भन्सारमा पठाइएको थियो । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१३ कालिदह नाका हुँदै भारततर्फ लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले सुन जस्तो देखिने धातु फेला पारेको थियो ।

अन्दाजी २ किलो तौल भनिएकोमा भन्सार कार्यालयले नापतौल गर्दा एक थान इटा १ किलो र अर्को ९६५.३ ग्राम तौल कायम भएको उनले बताए । भैरहवा भन्सार कार्यालयका प्रमुख मनिराम पौडेलले कार्यालयका आएको धातु परीक्षण गर्दा सबै सुन पुष्टि भएको बताए । ‘हामीले सुनचाँदी व्यवसायीकहाँ परीक्षण गर्न भैरहवा पठायौँ,’ पौडेलले भने, ‘जाँच गर्दा सबै सुन भएको पाइयो । आइतबारको बजार मूल्यअनुसार उक्त सुन १ करोड ८२ लाख रुपैयाँको देखियो ।’

सुनसँगै पक्राउ परेका कार चालक दाङको घोराही उपमहानगरपालिका–१० का २१ वर्षीय हुमानन्द गिरी पक्राउ परेका छन् । गिरीलाई भन्सार ऐन २०३४ बमोजिम कारवाही हुनेछ । शसस्त्र प्रहरी बल नेपाल बिओपी शनिबार राति ९ बजेको सुनसहित बा १२ च ३८२० नम्बरको को मारुती सुजुकी कारसहित गरीलाई पक्राउ गरेको थियो ।