भैरहवा, पुस । पर्यटकहरुलाई बुद्ध जन्मस्थल लुम्बिनी, मावली देवदह कपिलवस्तुको तिलौराकोट, जगदिशपुर ताल र नवलपरासीको रामग्रामको अवलोकन गराउने गरी हट एअर बेलुन उडाउने तयारी भएको छ ।
बिहीबारदेखि उडान सुरु गर्नेगरी नेपाल ट्राभल्स एण्ड टुर्स एशोसिएसन (नाट्टा) ले त्यसको व्यवस्थापन गरिरहेको उक्त संस्थाका प्रदेश ५ का प्रथम उपाध्यक्ष सञ्जय बजिमयले बताउनुभयो ।
अन्तर्राष्ट्रिय बुद्धिस्ट ट्राभल मार्टको अवसर पारेर लुम्बिनीमा हट एअर बेलुन उडाइने भएको हो । बिहीबारदेखी शुरु हुने अन्तर्राष्ट्रिय बुद्धिस्ट ट्राभल मार्टको अवसर पारेर ती ब्यालुन उडाउन थालिएको हो । एक पटकको उडानमा सात जनासम्म चढ्न मिल्ने उक्त बेलुन उडानको लागि बुकिंगसमेत सुरु भइसकेको छ । लुम्बिनीमा रहेको हेलिप्याडदेखि सुरु हुने हट एअर बेलुनको दुई किसिमका प्याकेज रहेका छन् । एउटा छोटो दूरीको १० मिनेटको र अर्को लामो दूरीको ३० मिनेटको प्याकेज रहेका छन् ।
आयोजकका अनुसार छोटो दूरीको उडान दिनमा कम्तिमा १२ पटक र लामो दुरीको कम्तिमा तीन पटकसम्म गराइनेछ । तातो हावाले उड्ने उक्त हट बेलुन सडकमा गुड्ने चारपांग्रे गाडीभन्दा पनि सुरक्षित हुने बताइन्छ । कुनै पनि किसीमको प्रदूषण नहुने हट एअर बेलुनको लुम्बिनी, जगदीशपुर, तिलौराकोट, देवदह, रामग्रामको उडान गर्दा आकाशबाट त्यस क्षेत्रको भ्यू हेर्न उपयुक्त हुने नाट्टाका उपाध्यक्ष सागर अधिकारीले बताउनुभयो ।
हेलिकप्टरमा उडेर अवलोकन गर्दा धेरै खर्च पर्नेमा हट एअर बेलुनबाट दृश्य अवलोकन गर्न पनि पाइने, आवश्यक तस्वीर खिच्न तथा छायांकन पनि गर्न पाइने हुँदा यो प्रभावकारी हुने अन्तर्राष्ट्रिय बुद्धिस्ट ट्राभल मार्ट स्थानीय सचिवालय संयोजक नाट्टा प्रदेश ५ का महासचिव चन्द्रबहादुर थापाले बताउनुभयो ।
अब लुम्बिनी सर्किटमा पनि हट एअर बेलुन !
