बीपी गौतम
बुटवल, पुस । रुपन्देहीको तिलोत्तमा–४, विष्णुपुरका प्रकाश ढकालले पाँच वर्षअघि ‘रोजीरोटी’ का लागि विदेश जाने सोंच नबनाउनुभएको होइन तर छिमेकी एक जना बुबाको सल्लाहमा उहाँ कृषि कर्ममा जुटेनुभयो । विभिन्न तालीम लिनुभयो । उहाँसँगैका साथी निरञ्जन रिमाल वैदेशिक रोजगारीका लागि साउदी अरब हान्निए । सात वर्ष उतै बिताए । तर अहिले उनी पनि कृषि कर्ममै जुटेका छन् । ‘सुरुमा मैले एक्लै गरेँ । अहिले साथीले पनि साथ दिएका छन् । दुई जना मिलेर काम गरिरहेका छौं ।’ बुधबार आफ्नै कृषि फर्म भेटिनुभएको प्रकाशले प्रष्टाउनुभयो,‘कृषिलाई पनि एउटा गतिलो पेशा बनाउन सकिन्छ भन्ने कुरा साथीलाई अहिले बुझाउन सफल भएको छु ।’
अहिले यी दुई युवा मिलेर विष्णुपुरमा व्यवसायिक च्याउ खेती गर्नुभएको छ । उहाँहरुकहाँ अहिले चार वटा ठूला च्याउका टनेल छन् । प्रकाशले च्याउ खेती गर्न थालेको चार वर्षजति भयो । अहिले साथीको साथ पाएपछि लगानी बढाएर नयाँ ठाउँमा सुरु गर्नुभएको हो प्रकाशले । चार वटा टनेलमा बाह्र सय च्याउका डल्ला बनाउनुभएको छ । एउटा डल्लाको लागत झण्डै चार सय पर्ने उहाँहरुले बताउनुभयो । एउटा टनेलबाट दुई क्विन्टलभन्दा बढी उत्पादन हुनसक्छ । प्रकाशले भन्नुभयो,‘यस पटक अपेक्षा गरिएभन्दा राम्रो भएको छ ।’ कृषि कार्यमा ‘करिअर’ बनाउँदै गर्नुभएको प्रकाशमा यसप्रति कुनै गुनासो छैन ।
उत्पादन बिउमा निर्भर
च्याउको उत्पादन बिउमा निर्भर रहने उहाँको भनाइ छ । उहाँले अहिले कन्ये जातको च्याउ लगाउनुभएको छ । बिउ काठमाडौंबाट मगाउँछन् । भन्न्नुहुन्छ,‘ बिउ राम्रो पर्दा राम्रो उत्पादन हुन्छ । नपरे हुँदैन ।’ बिउको गुणस्तर मापन गर्ने ल्याव हुनुपर्ने वा स्थानीय सरकारले गुणस्तर प्रमाणित गरेको च्याउको बिउ मात्र विक्री वितरण गर्न दिइनुपर्ने उहाँको भनाइ छ ।
छैन बजारको समस्या
उहाँहरुले च्याउको बजारको समस्या भोग्नुपरेको छैन । व्यापारीहरु च्याउ खरिदका लागि उहाँहरुको फर्ममैं पुग्ने गरेका छन् । व्यापारीले भनेअनुसारको मूल्य नदिँदा उहाँहरु आफैंले विक्री वितरण गर्नुहुन्छ । अहिले दुई सय रुपैंयाँ प्रतिकिलोमा बिक्री भैरहेको उहाँले बताउनुभयो । भन्नुहुन्छ,हाम्रो मुख्य बजार हाटबजार नै हो । व्यापारीले भाउ नदिँदा हामीहरु आफैं साइकलरमा राखेर डुलाउँछौं ।’
फर्म विस्तारको तयारी
उहाँहरुले फर्म विस्तार गर्ने तयारी गर्नुभएको छ । अहिले भाडामा लिएको दश कठ्ठा साँघुरो भएको उहाँहरुको अनुभव छ । उहाँहरुले च्याउसँगै तरकारी खेती पनि गर्नुभएको छ । तरकारीका बेर्नासमेत उहाँहरु बेच्नुहुन्छ । अहिले उहाँहरुको बुद्ध च्याउ तथा तरकारी उत्पादन केन्द्रमा पाँच रुपैंयाँ लगानी भैसकेको छ । लगानी विस्तार गरेर डेढ बिगाहामा बेमौसमी तरकारी तथा च्याउ उत्पादन गर्ने योजना रहेको उहाँहरुले सुनाउनुभयो ।
मिल्की च्याउप्रति आकर्षण
उहाँहरुका अनुसार बेमौसमी रुपमा मिल्की नामक च्याउको खेती गर्न सकिन्छ । यो च्याउ कार्तिक–चैत्रबाहेक अन्य समयमा पनि गर्न सकिने उहाँहरुको भनाइ छ । ‘बेमौसमी च्याउ र तरकारी खेती गर्ने सोंच छ ।’ निरञ्जन सुनाउनुभयो,‘अब यसैमा भिडेपछि किन खुम्चिने भन्ने योजना बनाएका छौं ।’ उहाँहरुले मुख्य काम हुने समयमा तीन जनासम्मलाई काम दिने गर्नुभएको छ ।
सहुलियतमा ऋण कहाँ पाइन्छ ?
सरकारले कृषि काम गर्नेहरुलाई सहुलियतमा ऋण दिन्छ भन्ने सुने पनि त्यो पाउन नसकेको उहाँहरुको गुनासो छ । बैंक तथा सहकारीहरुमा धाउँदासमेत सहुलियतमा ऋण पाउन नसकेको उहाँहरुले बताउनुभयो । ‘सरकारले तीन÷चार प्रतिशतमा कृषि ऋण दिन्छ भन्ने सुनिएको छ । तर त्यो कहाँ पाइन्छ ?’ प्रकाशले यो संवाददातालाई अनुरोध गर्नुभयो,‘कहीँ सहुलियतको ऋण र कृषि तालिमको अवसर पाइन्छ भने खबर गरिदिनुहोला । हामीहरु ऋण लिएर फर्म विस्तार गर्न र तालिम लिएर अझै परिष्कृत हुन अत्यन्त इच्छुक छौं ।’
कृषिमा ‘करिअर’ बनाउँदै युवा
on:
