हरि शर्मा
परासी, पुस । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाकामा कर बुझाउने सेवाग्रहीको घुँइचो बढेको छ । नगरपालिकाको चौंथो नगरसभाबाट सम्पत्ति करसहित अन्य सेवा कर घटाएपछि नगरपालिकामा कर बुझाउनेको घुँइचो बढेको हो । नगरपालिकाले खेतियोग्य जमिनमा लगाउँदै आएको करबाट ८० प्रतिशत घटाएको छ । खेतीयोग्य जमिनमा कर घटाइए पनि अन्य घडेरी तथा भौतिक संरचनाको कर भने मूल्यांकनका आधारमा यथावत रहेको छ । तेस्रो नगरपरिषद्ले सम्पत्ति करसहित अन्य व्यवसायिक कर बढाएपछि स्थानीयले कर परिमार्जन गर्न आग्रह गरेका थिए । जसअनुसार नगरपालिकाले कर घटाएको हो । सम्पत्ति कर घटे पनि मूल्यांकन भने यथावत रहेको छ । खेतीयोग्य जमिनमा अहिले लगाएको करलाई आगामी वर्षदेखि शून्यमा झारिने योजना रहेको नगरप्रमुख नरेन्द्रकुमार गुप्ताले बताउनुभयो । नगरपालिकाले शहरी र अन्य क्षेत्र गरी मूल्यांकनको आधारमा सम्पत्ति कर लगाएको छ । जसअनुसार प्रतिकट्ठा एक लाख ३२ हजारसम्म मूल्यांकन गरिएको छ । अहिले १० लाखसम्मको दुई सय र २५ लाखसम्मको एक हजार सम्पत्ति कर लिइँदै आइएको छ । नगरपालिकाका जग्गामध्ये ७० प्रतिशत बढी जग्गा कृषि योग्य रहेकाले कर घटाइएकोे नगरपालिकाले जनाएको छ ।
त्यसैगरी विभिन्न सेवा तथा सिफारिसमा लिइँदै आएको दस्तुरमध्ये विभिन्न १० वटा शीर्षकमा निःशुल्क गरिएको छ । उक्त सेवा तथा सिफारिस लिँदा एक सय ५० देखि पाँच सयसम्म दस्तुर लिने गरिएको थियो ।
कर कटौतीपछि नगरपालिकाको आन्तरिक आय भने स्वतः घट्ने छ । आ.व. २०७५÷०७६ मा पाँच करोड आन्तरिक आयबाट रकम संकलन हुने नगरपालिकाले अपेक्षा लिएको थियो । कर घटेपछि करिब डेढ करोड रकम आन्तरिक आयमा कमी आउने नगरपालिकाकाका लेखापाल सञ्जय शर्माले बताउनुभयो । गतवर्ष आन्तरिक आयबाट दुई करोड ७४ लाख रुपैंयाँ राजश्व संकलन भएको थियो ।
रामग्राममा कर बुझाउन घुँइचो
on:
